शुक्रबार, कात्तिक १३, २०८३

मतदान गरेपछि कुन नेताले के भने?

आम मतदातादेखि राजनीतिक दलका शीर्ष नेतासम्मले उत्साहपूर्वक मतदान गरेका छन्। विभिन्न दलका शीर्ष नेताहरुले आफ्नो गृहपालिकामा मतदान गरेका छन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– देशभरका ७५३ वटै स्थानीय तहका लागि जनप्रतिनिधि छान्न आज मतदान भइरहेको छ। बिहान सात बजे सुरु भएको मतदान साँझ ५ बजे सकिनेछ।

आम मतदातादेखि राजनीतिक दलका शीर्ष नेतासम्मले उत्साहपूर्वक मतदान गरेका छन्। विभिन्न दलका शीर्ष नेताहरुले आफ्नो गृहपालिकामा मतदान गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरामा मतदान गरे भने माओवादी अध्यक्ष प्रचण्डले चितवनमा। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मतदान गर्न रौतहट पुगे। जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गोरखामा मतदान गरे। नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू बसोबास गर्ने स्थान भक्तपुरमा भोट हाले।

स्वभावतः शीर्ष नेताहरुको मतदान समाचारको विषय बन्यो। त्यसक्रममा उनीहरुले दिएको प्रतिक्रिया सञ्चारमाध्यमको खुराक बन्यो। मतदान गरेपछि देउवा र ओलीले एकअर्काप्रति खरो टिप्पणी गरे। दुई नेताबीच वादप्रतिवाद नै भएको देखियो। देउवा र ओलीबीच वादप्रतिवाद विरलै हुन्छ। तर, शुक्रबार भने दुई नेताबीच फरक–फरक स्थानबाट वादप्रतिवाद भएको छ। मतदान गरेपछि प्रधानमन्त्री देउवाले निर्वाचन विरोधी शक्तिलाई समेत सहभागी गराएर तोकिएकै मितिमा निर्वाचन गराउनु सरकारको सफलता भएको बताए।

‘निर्वाचनविरोधी शक्तिहरू पनि सहभागी भएका छन्। स्थानीय तहको समृद्धि र विकासका निम्ति यो निर्वाचन महत्त्वपूर्ण छ,’ उनले भनेका थिए, ‘अवाञ्छित क्रियाकलाप र तौरतरिका अपनाएर रोक्न खोजियो, हामीले चुनाव गरायौं। आज सबैले भोट हालिरहेको देखिरहनुभएको छ।’ बारम्बार चुनाव हुँदैन भन्ने ओलीले पनि भोट हालेको टिप्पणी देउवाले गरे।

निर्वाचनविरोधी शक्तिहरूलाई समेत सहभागी गराएर ३० वैशाखमै निर्वाचन गराउनु सरकारको सफलता भएको देउवाले बताए। निर्वाचनविरोधी भनेर उनले एमालेलाई संकेत गरेका थिए।

देउवाभन्दा पछि भोट खसालेका ओलीले भने गठबन्धनको प्रयास असफल बनेको बताएका छन्। देउवाले वैशाख ९ गते पनि चुनाव सारौं भनेर आफूसँग प्रस्ताव गरेको खुलासा गर्दै ओलीले त्यो प्रस्ताव आफूले नमानेको बताए। आगामी चैतमा चुनाव गर्ने गरी अहिलेको गठबन्धन नै लागिपरेको भन्दै एमालेका कारण चुनाव सार्न नसकेको उनले दाबी गरे।

‘वैशाख ९ गते उहाँले चुनाव सार्न प्रस्ताव गर्नुभएको थियो। मैले अलोकतान्त्रिक बाटो नहिँड्नुहोस् भनेर खबर पठाएको थिएँ। निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि, कानुनले बाध्यता भएपछि उहाँहरू तयार भएको हो,’ ओलीले भनेका थिए। अध्यक्ष ओलीले चुनाव लोकतन्त्रका निम्ति भएकाले कुनै पार्टीले हार्दैमा लोकतन्त्र नहार्ने बताए। ‘चुनाव लोकतन्त्रको पाटो हो। कुनै दलले जिते लोकतन्त्रले जित्ने वा कसैले हारे लोकतन्त्रले हार्ने भन्ने हुँदैन,’ उनले भने।

चितवनको भरतपुर महानगरपालिका–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन परिणामलाई स्वाभाविक रूपमा लिइने बताए। बिहान मतदानपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘निर्वाचन परिणामलाई स्वाभाविक रूपमा लिनुपर्छ। जितमा हौसिने र पराजयमा निराश हुनु हुँदैन।’

काठमाडौं महानगरमा सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंलाई भ्रष्टाचारमुक्त बनाउने बताइन्। उनले आफू घर चलाएर आएकोले अब महानगर चलाउन सहज हुने तर्क गरिन्।

मतदान गरिसकेपछि उनले भनिन्, ‘म राजनीतिक पृष्ठभूमिबाट आएको महिला पनि हुँ। सामाजिक अभियन्ता पनि हुँ। शिक्षा र स्वास्थ मेरो प्राथमिकता हुन्। म घर पनि चलाएर आएको हुँ। भ्रष्टाचार मुक्त गरेर सेवासुविधा घरघरबाटै दिने गरी प्रविधिमैत्री काठमाडौं बनाउँछु।’ 

माओवादी केन्द्रकी नेतृ तथा ऊर्जामन्त्री पम्फा भुसालले निर्वाचन गराउँदैन भनेर सरकारविरुद्ध फैलाएको भ्रम चिरिएको बताइन्। मतदानपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भनिन्, ‘सरकारले चुनाव नगराउने भ्रम थियो, तर सरकारको प्राथमिक कार्यभार थियो चुनाव। संविधान कार्यान्वयन र संस्थागत गर्ने कुरामा सरकार जिम्मेवार छ।’ 

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले निर्वाचनलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ र राज्यको पुनः संरचनापछि केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रीकृत गरेर गाउँगाउँमा सिंहदरबार स्थापना गर्ने अभियान भएको बताए। निवर्तमान हुन लागेका जनप्रतिनिधिहरूले सञ्चालन गरेका अधुरा योजनालाई सम्पन्न गर्न र आम नागरिकको चाहनाअनुसार विकास निर्माण कार्य अगाडि बढाउन उनले आग्रह गरे। 

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले स्थानीय तहको चुनावमा देशभर गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गरे। शुक्रबार मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘हामी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छौँ  त्यसैले चुनावमा देशभर गठबन्धनका उम्मेदवार विजयी हुन्छन्।’ उनले काठमाडौं महानगरमा आउने नयाँ टिमले पाँच वर्ष नगरबासीको अपेक्षा अनुसार काम गर्ने बताए। काठमाडौंको मेयरकी उम्मेदवार सिर्जना सिंह प्रकाशमानकी पत्नी हुन्। आफ्नो श्रीमतीभन्दा पनि पार्टीको नेताको हैसियतले सिर्जनाले महानगरमा टिकट पाएको उनले बताए।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता गठबन्धनको विषयमा चुनावपछि समीक्षा हुने बताए। विराटनगरमा मतदानका लागि पुगेका उनले भने,  ‘कोही हार्दैमा गठबन्धन टुट्ने हो भने कस्तो गठबन्धन गरियो भनेर अब सोच्नुपर्छ। स्थानीय चुनावपछि त्यसको छलफल हुनेछ।’ शीर्ष नेताहरूले स्थानीय मुद्दामा बहस नगरेकोमा आफूलाई दुःख लागेको उनले बताए। ’शीर्ष नेताहरूले चुनावी दौडाहामा उम्मेदवारको विषयमा मात्रै कुरा राख्नुभयो। स्थानीय आवश्यकताबारे छलफल नगरेकोमा दुःख लागेको छ,’ उनले भने।

कोइरालाले विराटनगर महानगरपालिका वडा नम्बर ७ को आदर्श माविस्थित मतदान केन्द्र क मा  मतदान गरेका हुन्।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्ज महानगरपालिकामा मतदान गरेपछि लोकतन्त्रको मेरुदण्ड नै मतदान भएकाले यसलाई अवसरका रूपमा लिन आग्रह गरे। वीरगञ्ज महानरपालिका–वडा १३ मा रहेको खाद्य संस्थान लिमिटेडस्थित मतदानस्थलबाट मुख्यमन्त्री राउतले मतदान गरेका हुन्।

यस्तै भरतपुर महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भतरपुर–७ स्थित राष्ट्रिय मावि कृष्णपुरबाट मतदान गरेपछि भने, ‘मलाई धेरै नगरवासीको साथ र समर्थन छ। धाँधलीका लागि रातभर कोसिस भए। तर, मलाई जति जनताले मत दिनुहुन्छ, त्यसको सम्मान गर्छु।’

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले खोटाङमा मतदान गरेपछि योग्य जनप्रतिनिधि चयनका लागि मतदान गरेको बताए। भट्टराईले आफू अध्ययन गरेको विद्यालय भगवती दीनानाथ मावि केन्द्रबाट आफूले दशौंपटक मतदान गरेको स्मरण गरे।

संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङले स्थानीय चुनावमा सबैलाई मतदान गर्न अपिल गरे। आफूले स्नातकसम्म अध्ययन गरेको महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा रहेको मतदान केन्द्रमा बिहान मतदान गर्दै नेम्वाङले चुनावी मर्यादाभित्र रहेर अघि बढ्न अपिल गरेका हुन्। ‘पहिलेभन्दा बलियो स्थानीय सरकार आएको छ। सिंहरदरबारको अधिकार गाउँसम्म पुर्याइएको छ,’ उनले भने, ‘मैले यहाँको स्थानीय सरकार राम्रो बनोस् भनेर आफ्नो मत हालें, देशैभरिका नागरिकलाई म शान्तिपूर्ण र भयरहित वातावरणमा आफ्ना प्रतिनिधि चुन्न आग्रह गर्छु।’

प्रकाशित: May 13, 2022| 15:57 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...