जनकपुरधाम-जन्मसिद्ध नागरिकताधारीका सन्तानले नागरिकता पाउन अझै कुर्नुपर्ने भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सात साउनमा जन्मका आधारमा नागरिकता प्राप्त गरेका सन्तानहरुलाई नागरिकता बाँड्न प्रदेशका आठै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएका थिए । जिल्ला प्रशासन कार्यालयले निर्देशन नमानेर यस विषयमा केन्द्रीय गृहमन्त्रालयसँग सुझाव मागेको थियो ।
सोहि सुझावको जबाफ दिँदै गृहमन्त्रालयले संघीय कानुन नबनेसम्म नागरिकता वितरण नगर्न प्रदेश २ का जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृहमन्त्रालयले आइतबार पत्र पठाएर ऐन संशोधन नभएसम्म नागरिकता नबाँड्न निर्देशन दिएको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णले जनाएका छन् ।
ऐनको मस्यौदा मन्त्रीपरिषदमा पुगेको र यथाशीघ्र संसदमा पठाउने पहल भइरहेको पत्रमा उल्लेख गरिएको छ । संसदबाट संशोधन विधेयक पारित भइ ऐन बने पश्चात संघीय कानुन अनुसार जन्मको आधारमा नागरिकता लिएकाहरुको सन्तानले नागरिकता पाउन सक्ने छन् गृहमन्त्रालयले पठाएको पत्रमा भनिएको छ ।
प्रदेशका कानुनमन्त्री यादवले अदालत र संविधानको आधारमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएका थिए । तर, जिल्ला प्रशासन कार्यालयले निर्देशन नमानेपछि यादवले केन्द्रीय गृहमन्त्रालयमा समेत पत्र पठाएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४