भरतपुर– चितवनको भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुलको मतदान केन्द्रमा ७ बज्नु अगाडि नै मतदाताको लामो लाइन थियो। मतदान केन्द्रमा सञ्चारकर्मी तथा सुरक्षाकर्मीको पनि बाक्लै उपस्थिति थियो।
कारण– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त मतदान केन्द्रबाट मतदान गर्दै थिए। ७ बजिसक्दा पनि सर्वसाधारणका लागि मतदानका लागि गेट खुला गरिएको थिएन। प्रचण्डले उक्त केन्द्रबाट पहिलो मत हाल्दै थिए। बिहान ७ बजे र तीन मिनेटमा प्रचण्ड भरतपुर महानगरपालिकाकी पाँचदलीय गठबन्धनकी मेयर रेणु दाहाल, उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, प्रचण्डको निजी सचिवालयकी सदस्य गंगा दाहालसहित मतदान केन्द्रमा आइपुगे।
बिहान ७ बजेर ४ मिनेट जाँदा मतदान केन्द्र छिरेका प्रचण्ड झण्डै १५ मिनेट मतदान केन्द्रको प्रांगणभित्र थिए। मतदान केन्द्रमा छिरेका उनले सुरुमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिए। त्यसपछि मतपत्र लिएर बुथमा छिरे। जब उनी मतपत्र लिएर लिएर बुथमा छिरे, उनी केही अलमलिए।
मतदानका लागि उनले करिब २ मिनेट समय लगाए। एकातिर भोट हाल्ने समयमा उनी अलमलिए भने अर्कोतिर पतपत्र पट्याउनका लागि पनि उनलाई सहयोग चाहियो। मतपत्र पट्याउन नजानेपछि उनलाई मतदान केन्द्रका कर्मचारीले पट्याइदिएर सहयोग गरे।
बाहिर निस्किएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले मतपत्र ठूलो भएकाले केही समय लागेको बताए। उनले भने, ‘मतपत्र अलि ठूलो भएकाले केही समय लगाएको हो, खासै अलमलिएको हैन। केही प्रतिशत सामान्य अवस्थामा पनि बदर हुन्छ तर अहिले बदर हुने प्रतिशत बढ्न सक्छ।’
सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा पर्न सक्छ भन्ने भनाइलाई मानिसहरुले बंग्याएर अर्को अर्थ लगाएको बताए। उनले भने, ‘मैले धेरै गम्भिरता र जिम्मेवारीका साथ जनतालाई अपिल गरेको हो, मैले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनेकै होइन। गठबन्धन एउटा राजनीतिक दुर्घटनालाई रोक्नका लागि जन्मिएको हो। गठबन्धन कमजोर भयो भने दुर्घटनाको खतरा छ भन्ने मेरो आशय थियो तर यसलााई तोडमोड गरेर हँसिया हथौडामा मत नहाले दुर्घटना, रेणुलाई नजिताए दुर्घटना भनियो। मैले त्यो कुरालाई पछि प्रष्ट पारेको छु। त्यो हुँदै होइन।
काठमाडौंबाट यो सूचना तोडमोड गरियो। मैले आफ्नै निर्वाचन क्षेत्र आफ्नै गृहनगरमा आएर गठबन्धनको पक्षमा मत माग्ने बेलामा जनतालाई धम्क्याउने, घुर्क्याउने हुन सक्छ छ? मैले त जनतासँग अपिल गरेको हुँ।