बुधबार, असार ३१, २०८३

भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत सकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा एक हजार तीन सय नौ मिटर भूमिगत लाइन बनाइरहेकोमा अहिलेसम्ममा ६ सय ३० मिटरको काम सकिएको हो । 

नेपाल विद्युत  प्राधिकरणको  अनुसार भूमिगत रुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कर्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा  आइतबार आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।  

भूमिगत लाईनको सिभिल संरचना निर्माणको बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिइएका छन् । 

ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति दिइएमा र वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाइएको छ । निर्माणका लागि अहिले दुई सय ७० कामदार परिचालित छन् । 

रुख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गरेका छन् । ‘स्थानीयलाई मिलाउँछौं । गृह मन्त्रीसँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिनका साथै रुख कटानमा रहेको समस्या समाधान गर्नेछौं,’ मन्त्री पुनले भने ‘सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सक्नुपर्छ ।’ 

मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत पर्ने ६ सय ८२ वटा रुख काट्न स्वीकृति दिएको थियो । तर, अहिले प्रसारण लाइनको रुट केही परिर्तन हुँदा काट्नु पर्ने रुखको संख्या घटेर ३ सय ३६वटा पुगेको छ । 

रुख कटान स्वीकृतिका लागि फाइल वन विभागका पुगेगको छ । रुखको संख्या घटेकाले स्वीकृतिका लागि पुन पेश गर्नु परेको आयोजनाले जनाएको छ । काट्नु पर्ने रुखमा टाँचा लगाइसकिएको छ । 

भूमिगत लाइनका लागि सडक खनिएकाले वर्खाको बेला हिलो भएकाले स्थानीयले काममा अवरोध गर्दै आएका छन् । मन्त्री पुनले हिलो बाटोमा ढुंटागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोही अनुसार गर्न निर्देशन दिएका छन् । 

प्रसारण लाइन तत्कालका लागि ६० मेगावाटको माथिल्लो त्रिशूली एको विद्युत काठमाडौं ल्याउन निर्माण गरिएको हो । माथिल्लो त्रिशूली एको निर्माण आगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ । 

त्यसले पनि प्रसारण लाईन सोही अवधिभित्र बनाइसक्नु दवाव छ । ४५ किलोमिटर प्रसारण लाइनको एक सय ४० वटा टावरमध्ये एक सय २७ को जग हालिसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिए । 

प्रसारण लाइन आगामि दिनमा त्रिशूली करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत काठमाडौं ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ । उक्त लाईन नेपाल सरकार तथा प्राधिकरणको लगानी र  चिनियाँ एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा बनिरहेको हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्