शनिबार, वैशाख १५, २०८१

लापरवाह 'मौन अवधि'

‘सबै भन्दा धेरै आचरसंहिता दलहरुले तोड्ने भनेको मौन अवधिमै हो। जुन पहिले देखि नै हुँदै आएको हो। त्यसले ठूलो विकृती ल्याएको छ। मतदातालाई फकाउने, धम्काउने, लोभ लेखाउने, भोजभतेर खुवाउने काम यो समयमा हुन्छ। यस्ता कार्य नियन्त्रण गर्न आवश्यक छ,’ गुरुङ भन्छन्।
 |  बिहीबार, वैशाख २९, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं– भोलि (शुक्रबार) हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार मध्यरातबाट मौन अवधि लागू भयो। मौन अवधि त्यस्तो समय हो, जहाँ दलहरुको नैतिकता र इमान्दारिता कसीमा रहन्छ। निर्वाचन आयोगले बनाएको आचारसंहितामा हस्ताक्षर गरेर सपथ लिएका दलहरुले त्यसको पालना गर्छन् वा गर्दैनन्? त्यसको मूल्यांकन सिंगो देशले गरेको हुन्छ। त्यसकारण निर्वाचन आचारसिंहता दलहरुका लागि नैतिक बन्धन हो।  

triton college

अझ मौन अवधिमा दलहरुलाई प्रचारको बन्देज लगाइएको हुन्छ। र, त्यो बन्देज उम्मेदवार, दलका नेता–कार्यकर्तालाई मात्रै होइन मतदाता र संचारकर्ममा समेत लागू हुन्छ। मतदानको ४८ घण्टा अघिदेखि सुरु हुने मौन अवधि मतदान नसकिँदासम्म लागू हुन्छ। मौन यो अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचार–प्रसार र अरु क्रियाकलाप गर्न पाइँदैन। मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका कामसँगै छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न पाउँदैनन्।

तर, निर्वाचन आचारसंहितामा हस्ताक्षर गरेर पूर्ण पालना गर्ने सपथ खाएका दलहरु मौन अवधिमा मौन रहन सकेनन्। उनीहरुले यो ४८ घण्टाको अवधिलाई मत आफूतिर तान्न उपयोग गरेका छन्। त्यसका लागि उनीहरुले साम,दाम, दण्ड, भेदको रणनीति अपनाएको देखिन्छ। देशभर घटेका घटनाले यही कुराको पुष्टि गर्छ। 

मौन अवधि सुरु भए लगत्तै देखि अहिलेसम्म दलहरुले मौनता तोडेर आचारसंहिता विपरितका काम गरेको समचार आइरहेका छन्। आचरसंहिता तोडेका नेता–कार्यकर्ता प्रकाउ परेको कुटपिट, झडप भएको समचार आइरहेका छन्। मतदातालाई प्रभावित पार्न पैसा बाँड्ने, प्रलोभन देखाएका घटना सार्वजनिक भइरहेका छन्। 

दलहरुले मौन अवधिको पालना किन गरेनन्? मौनअवधिमै किन दलहरु चलखेल गर्छन्? यसको ठोस् जवाफ हो–सुसंस्कृति राजनीतिक संस्कारको अभाव।  

corrent noodles
Metro Mart

निर्वाचन आयोगका पूर्वसचिव गोपीनाथ मैनालीका शब्दमा दलहरुमा राजनीतिक संस्कार नहुँदा निर्वाचन नै ‘मतमेला’मा परिणत भएको छ। त्यसको पुष्टि मौन अवधिमा दलहरुले देखाएको चरित्रले गरेको छ। ‘राजनीतिक कल्चर नभएपछि चुनाव औपचारिकतामा समित हुन्छ। म यसलाई ‘मतमेला’ भन्न रुचाउँछु। जसरी पनि मत लिने तिर उम्मेदवारहरुको ध्यान केन्द्रित देखिन्छ। मन जितेर मत लिने कल्चर नभएपछि हुने मतको मेला नै हो,’ मैनाली भन्छन्, ‘राजनीतिक दलहरुमा असल संस्कार भएन। त्यसकारण मौन अवधिमा अलिकति प्रभाव बढाउन सकिन्छ कि भनेर दल र उम्मेदवार लागेका हुन्।’ 

आचारसंहिता उल्लंघनमा आयोगले शून्यसहनशिलताको नीति लिन नसक्दा समेत मौन अवधिमा धेरै चलखेल भइरहेको छ। आयोगले आचारसंहिता उल्लंघन गरेका घटनामा कारबाहीको डन्डा चलाउन सकेको छैन। २४ घण्टे स्पष्टिकरण सोध्ने बाहेक आयोगले कारबाही गर्न सकेको छैन्। सोही कारण यस्तो अवस्था निम्तिएको पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङको तर्क छ।   

‘आचारसंहिता पालना गराउने मुख्य दायित्व निर्वाचन आयोगको हो। कार्यान्वयन भएन भने आचारसंहिताको उपदेयता हुँदैन। त्यसकारण आचारसंहिता उल्लंघन भयो भने आयोगले शुन्य संवेदनशिलता देखाएर कारबाही गर्नुपर्छ,’ गुरुङ भन्छन्, ‘स्पष्टिकरण सोधेर मात्रै केही हुँदैन। स्पष्टिकरण सोध्यो, जवाफ दिँदा–होइन भनिदिन्छन्। त्यसकारण फिल्डमै दण्ड जरिवाना र कारबाही गर्नुपर्छ। आयोगले बोले अनुसारको काम गरेर देखाउनुपर्छ।’ 

त्यसो त मौन अवधिमै आचारसंहिता उल्लंघन धेरै हुने गरेको यो पहिलो पटक भने होइन। पूर्व आयुक्त गुरुङको अनुभवले यस्तै भन्छ। मौन अवधिमा मतदातालाई फकाउने, धम्काउने, लोभ देखाउने, भोजभतेर खुवाउने काम मौन अवधिमै हुनेगरेको गुरुङ बताउँछन्। 

‘सबै भन्दा धेरै आचरसंहिता दलहरुले तोड्ने भनेको मौन अवधिमै हो। जुन पहिले देखि नै हुँदै आएको हो। त्यसले ठूलो विकृती ल्याएको छ। मतदातालाई फकाउने, धम्काउने, लोभ लेखाउने, भोजभतेर खुवाउने काम यो समयमा हुन्छ। यस्ता कार्य नियन्त्रण गर्न आवश्यक छ,’ गुरुङ भन्छन्।  

एजेन्डामा छायामा पर्दा विकृति  
दल र उम्मेदवारले एजेन्डामा चुनाव नलडेका कारण विकृति हरेक चुनावमा बढ्दै गइरहेको छ। मतदातालाई एजेन्डा सुनाउने, बुझाउने तर्फ दलहरुको ध्यान छैन। बरु एजेन्डामा प्रवेश नै नगरी प्रलोभलनमा देखाएर चुनाव जित्ने टुल्स राजनीतिक दलहरुले प्रयोग गर्दै आएका छन्। त्यसले निर्वाचन नै विकृत बनाउँदै लगेको छ।  

‘राजनीतिक दलहरु र तिनका उम्मेदवारहरु एजेन्डामा चुनाव लडेका छैनन्। उनीहरु आग्रहमा चुनाव लडेका छन्,’ पूर्वसचिव मैनाली भन्छन्, ‘सोही कारण आफ्ना प्रतिवद्ध मतदाता बाहेकका मतदातासँग उनीहरुको विश्वास छैन। सोही कारण यस्तो प्रवृत्ति देखा परेको छ। यसले निर्वाचनलाई विकृत बनाउँदै लगेको छ।’ 

पूर्व निर्वाचन आयुक्त गुरुङ राजनीतिक दल र मतदाता जबसम्म सचेत हुँदैनन्, तबसम्म यस्ता विकृतिको अन्त्य हुन नसक्ने तर्क गर्छन्। ‘मुख्य कुरा आचारसंहिता पालना गर्न सबै दलहरु प्रतिवद्ध र सचेत हुनुपर्ने हो। अर्को कुरा मतदाता पनि उत्तिकै सचेत हुनुपर्छ,’ उनी भन्छन्, ‘कसैको पैसामा लोभमा पर्नुभएन। विवेकको मत दिनुपर्‍यो। मतदाता सचेत भएनन् भने जति नै लागे पनि केही हुँदैन।’ 

कहाँ के भए? 
मौन अवधिकै दिन समाजका ऐना मानिने कलाकारहरुले मौनअवधि तोड्न सुरु गरे। उनीहरुले आचारसंहिता विपरित काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको पक्षमा सामाजिक सञ्जालमा पोष्ट गरे।  अभिनेत्री स्वस्तिमा खड्का, निर्मल शर्मा र वर्षा राउतले मौन अवधि तोडेका थिए। 

सोही दिन नेकपा एमालेका प्रवक्ता तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अचारसंहिता विपरीत चुनाव प्रचारका लागि बनाइएको एक भिडियो सामाग्री फेसबुक पेजमा शेयर गरेका थिए।


पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा एमालेका उम्मेदवार विजय सरागवी  निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी मत खरिद गर्न लेनदेन गरेको भन्दै उजुरी परेपछि स्पष्टीकरण सोधेको छ। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आचारसंहिता उल्लंघन गरी निर्वाचन प्रचारप्रसार गर्दा पनि मौन बसेको भन्दै चितवनका सीडीओ अस्मान तामाङमाथि आरोप लागेको छ। उनलाई  स्पष्टीकरण पेस गर्न आयोगले ८ घण्टाको समयावधि दिएर पत्र काटेको छ। 

प्रचण्ड २८ गते राती २:०० बजे भरतपुर पुगेका थिए। २९ गते बिहान ७ बजे बिहान माडी नगरपालिका-५ मा रहेको होटल प्याराडाइजमा गठबन्धनका उम्मेदवार र कार्यकर्ताहरुसहित करिब ३० जना व्यक्तिहरुसँग भेटघाट गरेका थिए। यसपछि भरतपुर महानगरपालिका वडा नं. २६ चनौली र दिव्यनगरमा कार्यकर्ता भेटघाट गरी स्थानीय तह निर्वाचनमा गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकामा उम्मेदवार रहनुभएका व्यक्तिको पक्षमा मत मागेको सुरक्षा निकायले जानकारी दिएको आयोगले उल्लेख गरेको छ। यसपछि भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेणु दाहालको निवासमा फर्केका थिए। प्रचण्डलाई पनि आयोगले  स्पष्टीकरण पेस गर्न भनेको छ। उनीसँगै मन्त्रीद्वय कृष्णकुमार श्रेष्ठ र उमेश श्रेष्ठलाई पनि मौन अवधिमा चितवनमा चलखेल गरेको आरोप लागेको छ।

नेकपा माओवादी केन्द्रकी संघीय सांसदसमेत रहेकी प्रचण्डकी बुहारी बीना मगरले पनि मौन अवधिको अवज्ञा गर्दै बुधबार कञ्चनपुरमा मत मागिरहेको भेटिएको छ।

मौन अवधिमा विनाको भेला। तस्बिर : टेकसिंह धामी।

राप्रपाका बरिष्ठ नेता डा. प्रकाश चन्द्र लोहनीले पनि मौन अवधिमा पार्टीलाई मत मागेका थिए। एमाले सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई बुधबार राति वडानम्बर ५ को जमुनामा आर्थिक चलखेल गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिए। उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत स्थानीयवासीले नियन्त्रणमा लिएका थिए। 

मतदातालाई पैसा बाँडेको आरोपमा सिरहामा माओवादी केन्द्रका प्रेमकुमार लामा गुरुधाममा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका थिए। 

एमाले जनकपुरका अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मतदाता प्रभावित पार्न पैसा बाँडेको सूचना पाएपछि भण्डारी १५/२० जनाको समूह लिएर होटेल पुगेका थिए। सो क्रममा होटल तोडफोड गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। 

लमजुङमा एमाले वडाध्यक्षका उम्मेदवार शीवप्रसाद जोशीलाई मतदाता प्रभावित पार्नेगरी पैसा बाँडिरहेको अवस्थामा स्थानीयले पक्राउ गरे। बेसीशहर नगरपालिका–११ रामचोक बेसीको वस्तीमा पैसा बाँड्दै गरेको अवस्थामा स्थानीय शिव सेढाइंको समूहले जोशीलाई बुधबार राति साढे १० बजे नियन्त्रणमा लिएको हो।

बागलुङ गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई  मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गलकोटले चालिसेलाई नियन्त्रणमा लियो। उनलाई नियन्त्रणमा लिएर ६ घण्टापछि छाडिएको प्रहरीले जनाएको छ।

बुधबार राति सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई  मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ। बुटवलमा एमालेबाट मेयरका उम्मेदवार बनेका बाबुराम भट्टराईकी श्रीमति माया भट्टराईलाई सुकुम्बासी बस्तीमा पैसा बाँडेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित: May 12, 2022| 20:50 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...