काठमाडौं– स्थानीय तह सदस्य निर्वाचन भोलि शुक्रबार देशभर हुँदैछ। मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। पाँच वर्षपछि आफ्ना जनप्रतिनिधि चुन्न मतदाता आतुर छन्। देशका ७५३ वटै स्थानीय तहमा एकै चरणमा हुन लागेको निर्वाचनले मुलुकको माहोल तातेको छ।
निर्वाचनको उत्सवले गायक–कलाकारलाई पनि नछुने कुरै भएन। चुनावकै छेकोमा कतिपय कलाकार पार्टी प्रवेश गरे। पार्टीको झण्डा बोकेर चुनाव प्रचारप्रसारमा लागे पनि। कतिपयले गीत गाएर, अभिनय गरेर प्रचासप्रसारमा सहयोग पुर्याए, कतिले सामाजिक सञ्जामार्फत आफूलाई मन परेका उम्मेदवारका लागि भोट मागे। नेता–कार्यकर्तालाई जति नलागे पनि चुनावको चाड गायक–कलाकारलाई पनि लाग्यो।
२०३०, ४०, ५० को दशकमा मतदान गरेका कलाकारदेखि गणतन्त्रपछि भोट हाल्ने कलाकारको आ–आफ्नै अनुभव छ। पञ्चायती व्यवस्थाले निर्वाचनलाई नमानेका कारण २०३७ सालको धाँधलीपूर्ण जनमत संग्रहपछिको एक निर्वाचन, जसमा बहुदलीय कि निर्दलीय शासन पद्धति लागू गर्ने भन्ने विषयमा मतदान गराइएको थियो। पहिलोपटक राणा प्रधानमन्त्री पद्मशमशेर राणाले २००४ सालमै काठमाडौंमा निर्वाचन गरेका थिए। त्यसपछि महिलाले भोट हाल्न पाएनन् भनेर चौतर्फी आलोचना भयो र २०१५ सालको निर्वाचनमा महिलालाई मताधिकार प्राप्त भयो। आजसम्म आइपुग्दा स्थानीय र प्रतिनिधिसभाको गरी झण्डै दशवटा निर्वाचन भएका छन्।
नेपालकै पहिलो चलचित्र आमाकी नायिका भुवन चन्द २०१५ सालमा उमेर नपुगेकाले मतदान गर्न नपाएको सम्झिन्छिन्। तर, उनले २०३७ सालमा भोट हाल्न छुटाइनन्। पति माइकल चन्दसँग गएर भोट हालेको उनले सम्झिन्, ‘महिलाहरू अत्यन्तै कम थिए। उसो त जनता नै कम थिए त्यो बेला। तैपनि पुरुषको संख्यामा महिला धेरै नै कम थिए। त्यो बेला महिलाले भोट हाल्नु नै ठूलो युद्ध जितेको जस्तो हुन्थ्यो।’
पुराना गायक दीप श्रेष्ठ अहिले मतदान गर्न उत्सुक छन्। पहिलोपटक उनले भोट धरानमा हालेका थिए। ‘पहिलोपटक मैले धरानमा भोट हालेको थिएँ। सालचाहिँ बिर्सिएँ। भोट खसाल्न लामै लाइन लागे पनि झमेलाचाहिँ भोग्नुपरेको थिएन,’ उनले भने, ‘त्यतिबेला स्वस्तिक चिन्ह थिएन। ल्याप्चे लगाएको जस्तो लाग्छ। कम चिन्ह र कम उम्मेदवार भएकाले छिटो हुन्थ्यो। अहिले त चुनाव चिन्हकै कारण अलमलिनुपर्छ।’
कुनै पार्टीको झण्डा बोकेर भोट माग्न हिँडेको याद छैन उनलाई। ‘पहिले मतदातालाई लिन आउँदैनथे, मतदाता नै कर्तव्य सम्झिन्थे। अहिले त नेता–कार्यकर्ताले घरमै आएर धर्ना दिन्छन्,’ श्रेष्ठ भन्छन्, ‘सुरूमा पार्टीका कार्यकर्ता घरकै सदस्यजस्तो बन्छन् अनि पछि वास्ता गर्दैनन्। मेरो मनमा लागेको चाहिँ उम्मेदवारले चुनाव अगाडि गर्ने वास्ता र चुनावपछि गर्ने वास्तामा धेरै फरक आउँछ। चुनाव विजेताले अलिकति पनि वास्ता नगर्दा दुःख लाग्छ।’
७२ वर्षीय गायक दीप अहिलेको भन्दा पहिलेको माहोल सम्झन लायक भएको बताउँछन्। भन्छन्, ‘घरघरै अबिर जात्रा हुन्थ्यो। जुन पार्टीका भए पनि छिटो मिल्थे, सद्भाव थियो। अहिले त एकले अर्कालाई टेर्दैनन्।’
वरिष्ठ कलाकार नीर शाहले पञ्चायतकालदेखि भोट हाल्दै आएका हुन्। राजाका पालामा र जनताको पालामा भोट हाल्ने तरिका आकाश–जमिनको फरक भएको लाग्छ उनलाई। भन्छन्, ‘त्यो समय जनता आफ्ना कुरा राख्न डराउँथे। अहिले आफ्नो विचार स्पष्ट राख्न सक्छन्। आफ्नो उम्मेदवार छान्न स्वतन्त्र छन्।’
निर्वाचनको उत्सवले गायक–कलाकारलाई पनि नछुने कुरै भएन। चुनावकै छेकोमा कतिपय कलाकार पार्टी प्रवेश गरे। पार्टीको झण्डा बोकेर चुनाव प्रचारप्रसारमा लागे पनि।
त्यो बेलाको निर्वाचनमा भय कम थियो तर सम्भावनाहरु न्यून रहेको बताउँछन् शाह। ‘पञ्चायतको चुनावमा अरूको लागि भोट हाल्दैछु जस्तो हुन्थ्यो। अहिले आफ्नो लागि भोट हाल्दैछु भन्ने भावना अभिवृद्धि भएको छ,’ उनी भन्छन्, ‘मतदाता एकदमै परिपक्व र परिस्कृत भएका छन्। सही निर्णय लिन सक्ने भएका छन्। उनीहरूको मनोविज्ञानमा आएको परिवर्तन नै ठूलो परिवर्तन हो।’
पहिलोपटक नयाँ बजार सोह्रखुट्टेस्थित १६ नम्बर वडाबाट मतदान गरेका थिए वरिष्ठ हास्यकलाकार सन्तोष पन्तले। ‘२०३७ सालको चुनावमा एउटा निलो र पहेंलो रङ थियो जस्तो लाग्छ। बहुदल चाहिने कि निर्दल चाहिने भन्ने थियो,’ पन्तले सम्झिए। उनका अनुसार त्यो बेला चुनावमा सुरक्षाकर्मी अत्यन्तै कम थिए। मतदाता पनि खासै थिएनन्। जति थिए, ती सबै अनुशासनका साथ मत हाल्थे। पन्त भन्छन्, ‘अहिले झमेला छ। चुनाव चिन्हले नै अलमल्याउँछ।’
पन्त पनि शाहको कुरासँग सहमत हुँदै भन्छन्, ‘पहिला ठूलाबडालाई भोट हालेझैं हुन्थ्यो, अहिले जनताको सेवा गर्नेलाई भोट हालेको लाग्छ।’ नेताभन्दा पनि जनताको सेवा गर्ने प्रतिनिधिलाई भोट हाल्न पाएकोमा खुसी छन् उनी।
हास्यकलाकार मनोज गजुरेलले पहिलोपटक २०५४ को संसदीय चुनावमा झापाबाट मतदान गरेका थिए। कलाकारितामा संघर्ष गर्दाका दिन थिए ती। त्यो बेलामा मतदान गर्न जाँदा आफू निकै उत्साहित भएको उनले सम्झिए, ‘म निकै उत्साहित थिएँ। त्यहाँको माहोल कस्तो थियो त्यसको भेउ त पाइनँ तर पहिलोपटक लाइनमा लागेर भोट हाल्न पाउँदा उत्साहित थिएँ।’
गजुरेललाई तीस, चालिस र पचासको दशकमा भएको चुनाव र सत्तरीको दशकमा भएका चुनावमा खास्सै अन्तर लाग्दैन। अहिले पनि राजनीतिक पार्टीले आचारसंहिता मिचेर, निर्वाचन आयोगलाई नटेरेर प्रचारप्रसार गरेका छन्। लोकतन्त्र तथा प्रजातन्त्रको सुन्दरता भनेको स्वच्छ, निष्पक्ष, धाँधलीरहित, गोप्य मतदान हुनुपर्ने हो। तर, यस्तो नभएको बुझाइ छ उनको।
भन्छन्, ‘त्यतिखेर नागरिक, मिडिया र स्वतन्त्र सञ्चारमाध्यमको अत्यन्तै कम संख्या भएकोले धेरै कुरा बाहिर आउँदैनथ्यो। जस्तो कि पार्टी विशेष, उम्मेदवार विशेषको पकड भएको ठाउँमा मतदान केन्द्र कब्जा भएको कुरा पनि आउँथ्यो। मिडियाबाजी हुँदैनथ्यो। अहिले प्रकृति मात्रै फरक भएको हो। बाँकी उस्तै छ।’ गजुरेलले अहिले भक्तपुरको सूर्यविनायक–२ बालकोटबाट मतदान गर्दैछन्।