सुर्खेत- निर्वाचन सुरक्षा खटिएका एक प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन्।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन्।
भट्टको कुटाइबाट मतदान अधिकृतसहित केही म्यादी र स्थानीय सामान्य घाइते भएका छन्। मतदान अधिकृत झाका अनुसार बुधबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म भट्टले आफूसहित सहायक मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको बताए।
मदिरा सेवन गरेर सुरुमा मतदानस्थल नजिकैको गाउँमा गएर गाउँलेलाई कुटपिट गरेको र पछि आफूहरू सुतिरहेको घरमा आएर आफूहरूमाथि कुटपिट गरेको झाको गुनासो छ।
मदिरा सेवन गरेर भट्टले बुधबार राति ११ बजेतिर धनबोट गाउँका चार जना स्थानीयको घरभित्र पसेर हतियार देखाउँदै कुटपिट गरेको बताइएको छ।
मतदान अधिकृतसहित निर्वाचन सम्पन्न गराउन गएको टोली सुतेको घरमा पुगेपछि उनले सुरुमा मतदान अधिकृत र सहायक मतदान अधिकृतमाथि हातपात गरेको आरोप लागेको छ। हतियार पहिलेनै उनकै सहकर्मी प्रहरीले खोसेकाले ठूलो घटना हुन्बाट जोगिएको झाले बताएका छन्।
भट्टले सुरक्षामा खटिएका प्रहरी र म्यादीमाथि पनि हातपात गरेका थिए। बिहान ६ बजेतिर इलाका प्रहरी कार्यालय बावियाचौरबाट थप प्रहरी र सशस्त्र प्रहरीको बल आएर उनलाई नियन्त्रणमा लिएर गएको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले मदिरा सेवन गरेर मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गर्ने वरिष्ठ सई भट्टलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया सुरु गरिएको बताए।