काठमाडौं- कपिलवस्तुको महाराजगञ्ज नगपालिकामा कांग्रेसकी उपमेयर उम्मेदवार शुभावती कुर्मीको निधनपछि नगर निर्वाचन वैशाख ३० गतेबाट जेठ ३ गतेको लागि सारिएको छ। उम्मेदवारको मृत्युपछि मतदान मिति जेठ ३ का लागि सार्ने निर्णय भएको निर्वाचन आयोगले जानकारी दिएको हो।
यस्तै दाङको एमालेका वडाअध्यक्षका लागि एमालेका उम्मेदवार लबरु चौधरीको निधनपछि वडा तहको निर्वाचन ३ गतेको लागि सार्ने निर्णय निर्वाचन आयोगले गरेको हो।
यसअघि विभिन्न समयमा विभिन्न स्थानीय तहका उम्मेदवारको निधन भए पनि मतदानको मिति नै भने सारिएको छैन। सुनसरी जिल्ला हरिनगर गाँउपालिका वडा ६ मा नेपाली कांग्रेसकी दलित महिला सदस्य उम्मेदवारको पनि मृत्यु भएको छ।
यसैगरी, मोरङ जिल्लाको केराबारी गाँउपालिका वडा २ को लागि नेपाली कांग्रेसको वडा सदस्य, कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नम्बर ८ को अध्ययक्षका लागि नेकपा एमालेको उम्मेदवार, रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको वडा ५ को लागि महिला सदस्यका लागि जसपा नेपालका उम्मेदवारको पनि निधन भएको छ।
यस्तै, रुपन्देही जिल्लाको मर्चबारी गाँउपालिकाको वडा ३ को दलित महिला सदस्य नेकपा एमालेको उम्मेदवारको निधनपछि आयोगले ३० गते नै मतदान हुने छ। उम्मेदवार मृत्यु भएको तहकै निर्वाचन कार्यतालिका संसोधित गरी मतदानको मिति भने वैशाख ३० मा नै तय गरिएको थियो।