काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको तीन फार्मेसी तथा स्टोरहरुलाई शिलबन्दी गरेको छ।
विभागले आइतबार अनुगमन गर्ने क्रममा काठमाडौंस्थित एन एण्ड एस फार्मेसी, नरेफाँट गोंगबुको मनकामना मार्केटीङ स्टोर र सोही स्थानको केसी किचेन स्टोरलाई सिलबन्दी गरेको हो।
निर्देशन पालना नगरेको, आवश्यक कागजात नभएको लगायत कैफियत भेटिएपछि सिलबन्दी गरेको विभागको शाखा अधिकृत ढुण्डिराज पोखरेलले जनाए।
उनकाअनुसार एनएण्डएस फार्मेसीले विगतमा विभागले दिएको निर्देशन पालना नगरेको र व्यवसय दर्तासँग सम्बन्धित कागजातहरु नभएकोले सञ्चालक स्वयंमको जिम्मामा पसल शिलबन्दी गरिएको हो।
त्यस्तै मनकामना मार्केटीङ स्टोरले कुखुरा राख्ने स्थान तथा वधस्थल अत्यधिक फोहोर रहेको, आवश्यक कागजात देखाउन नसकिएकोले सिलबन्दी गरेको उनको भनाइ छ।
केसी चिकेनमा म्याद गुज्रेको तथा लेबल नभएको खाद्यन्न राखेको, आवश्यक कागजात देखाउन नसकेको भन्दै विभागले सिलबन्दी गरेको जानकारी दिएको छ।
विभागले काठमाडौंको जडिबुटीस्थित स्पर्श फार्मेसी, नारेफाँटस्थित चिरीशा फार्मेसी, टोखास्थित थ्रि स्टार मिट प्रोडक्ट लगायतका १२ विभिन्न पसलहरुमा अनुगमन गरेको थियो।
कतिपय पसलहरुमा विभिन्न कैफियत भेटिएपछि विभागले आवश्यक सुझाब तथा निर्देशन दिएको छ भने म्याद गुज्रेको, लेबल नभएका खाद्यवस्तुहरुलाई नष्ट गरिएको शाखा अधिकृत पोखरेलले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४