शनिबार, मंसिर ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • चिप्समा चाप परेपछि विद्युतीय सवारीको बुकिङ बन्द गर्दै व्यवसायी

Siddartha premir insuranceSiddartha premir insurance

चिप्समा चाप परेपछि विद्युतीय सवारीको बुकिङ बन्द गर्दै व्यवसायी

चीनबाट आयात हुने विद्युतीय सवारीसाधनमा चिप्स र सेमीकन्डक्टरको अभाव छैन। तर नेपालमा ८० प्रतिशतभन्दा बढी विद्युतीय सवारीसाधन आयात भारतबाट हुने गरेको छ।
 |  मंगलबार, वैशाख २७, २०७९
nespernesper

भीमा पन्थी

भीमा पन्थी

मंगलबार, वैशाख २७, २०७९

triton college
Metro Mart
vianet
काठमाडौं- चिप्स र सेमीकन्डक्टरको अभावका कारण नेपालमा विद्युतीय सवारीसाधनको व्यापार प्रभावित भएको छ। विश्व बजारमा नै चिप्स र सेमीकन्डक्टरको अभाव भएको र त्यसको असर नेपालमा पनि परेको व्यवसायीहरुले बताएका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले उत्पादक कम्पनीले विश्व बजारको माग धान्न नसक्दा नेपाल पनि प्रभावित भएको बताए। उनका अनुसार चीनबाट आयात हुने विद्युतीय सवारीसाधनमा चिप्स र सेमीकन्डक्टरको अभाव छैन। तर नेपालमा ८० प्रतिशतभन्दा बढी विद्युतीय सवारीसाधन आयात भारतबाट हुने गरेको छ।

'विश्व बजारमै चिप्स उत्पादनमा कमी आएको छ। चीनबाट भित्रिने विद्युतीय गाडीमा त्यति समस्या छैन। तर नेपालमा करिब ८० प्रतिशत विद्युतीय गाडी भारतबाट आउँछन्। भारतका गाडी उत्पादक कम्पनी प्रायले चीनबाटै चिप्स आयात गर्छन्। त्यसैले नेपालमा पनि असर परेको हो,' अध्यक्ष थापाले भने।

उनका अनुसार केही कम्पनीले त विद्युतीय सवारीको बुकिङ नै बन्द गरेका छन्। आयातमा कठिनाइ भएकै कारण ती कम्पनीले बुकिङ बन्द गरेको उनको भनाइ छ। विद्युतीय गाडीको आयात हुन ८ देखि ९ महिना लाग्ने देखिएपछि बुकिङ सुस्त बनाउन बाध्य भएको उनले बताए।

टाटा गाडीका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले ग्राहककोमाग अनुसार आपूर्ति गर्न नसकेको बताए। विद्युतीय सवारी उत्पादक कम्पनीले मागेजति गाडी पठाउन नसक्दा नेपालको अटो बजारमा पनि समस्या आएको उनको भनाइ छ।

उनका अनुसार कम्पनीले एक महिनामा १०० देखि १५० वटासम्म विद्युतीय गाडी आयात गर्दै आइरहेको थियो। तर अहिले त्यो परिमाणमा पनि आयात हुन सकेको छैन। माग भने बढ्दो छ।

अहिले करिब ९ सयको संख्यामा विद्युतीय गाडीको बुकिङ भएको तर समयमा आयात गर्न नसकिएको सीईओ श्रेष्ठले बताए। 'बुकिङ राम्रो छ तर तत्काल उत्पादक कम्पनीले दिन सक्ने अवस्था छैन। पहिले तीन महिनामा नै अर्डर डेलिभरी गर्दै आइरहेका थियौँ अब त आठदेखि नौ महिना लाग्ने भएको छ,' उनले भने।  

चीनबाट आयात हुने विद्युतीय सवारीसाधनमा चिप्स र सेमीकन्डक्टरको अभाव छैन। तर नेपालमा ८० प्रतिशतभन्दा बढी विद्युतीय सवारीसाधन आयात भारतबाट हुने गरेको छ।

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सञ्चालक अञ्जन श्रेष्ठले पनि माग अनुसार आयात हुन नसकेको बताएका छन्। कम्पनीका अनुसार बुकिङ भइसकेका ४ सयभन्दा बढी इभीको आयात हुन बाँकी छ, जुन चिप्स अभावकै असर हो।

गत कात्तिकमा अमेरिकाको चिप्स उत्पादन कम्पनी इन्टेलका प्रमुख कार्यकारी अधिकृत प्याट गोल्सीनले हालै सन् २०२३ सम्म चिप्स अभाव रहने बताएका थिए। कोभिडका कारण चिप्स उत्पादनमा प्रभाव परेको उनको भनाइ थियो।

नेपाली बजारमा बीवाईडी, ग्रेटवाल, दीगो लगायतका विद्युतीय गाडी चीनबाट आउँछन् भने भारतबाट हुन्डाई, सुजुकी, किया, टाटा लगायत ब्रान्डका गाडी आयात हुन्छन्। भारतबाट आयात हुने गाडीको बजार हिस्सा नेपालमा बढी छ। इन्धनका गाडी भारतीय ब्राण्डका प्रयोग गरिरहेका धेरै ग्राहकले इलेक्ट्रिक गाडी पनि सोही ब्राण्डका खोज्ने व्यवसायीहरु बताउँछन्।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा विद्युतीय कार, जिप र भ्यानमात्रै १ हजार ४७३ वटा आयात भएको छ। आयातकर्ताले ती गाडी ४ अर्ब २९ करोड ६६ लाख ३१ हजार रुपैयाँ बराबरको आयात गर्दा सरकारलाई १ अर्ब १६ करोड ५५ लाख २० हजार बराबर आम्दानी भएको छ।

त्यस्तै, चैतसम्ममा बाइक, स्कुटर र इलेक्ट्रिक साइकल गरी ३ हजार ३ सय ६१ वटा आयात भएका छन्। नौ महिनामा २९ करोेड २२ लाख ६८ हजार रुपैयाँबराबरका यी साधन आयात हुँदा सरकारले ७ करोडभन्दा बढी आम्दानी गरेको छ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सरकारले वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिने उद्देश्यका साथ इभीको आयातमा अन्तःशुल्क पूरै खारेज गरेको छ। भन्सार महसुल समेत उल्लेख्य मात्रामा घटाइएको छ। सवारीको क्षमताका आधारमा १० देखि ४० प्रतिशतसम्म मात्र भन्सार लाग्छ विद्युतीय सवारीसाधनमा।
विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने सरकारको नीतिकै कारण अहिले विदेशी मुद्रा सञ्चितीको दबाब परेको अवस्थामा पनि इभीलाई केही सहुलियत दिइएको सरकारी अधिकारीहरु बताउँछन्। सरकारले अन्य गाडीको आयातमा सतप्रतिशत नजद मार्जिनको व्यवस्था गर्दा इभीमा ५० प्रतिशत मात्रै गरेको छ।

यसरी एलसी खोल्ने बाटो खुला रहँदा पनि ग्राहकको माग बमोजिम आयात भने हुन सकेको छैन। एकातर्फ आयातमा सहजता र अर्कोतर्फ बढ्दो इन्धनको मूल्यलाई दृष्टिगत गर्दै व्यवसायी र उपभोक्ताको आकर्षण इभीमा नै छ। फलस्वरुप  गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ९ महिनामा नै इभीको आयात ५०० गुणाले बढेको नाडा अध्यक्ष थापा बताउँछन्।
प्रकाशित: May 10, 2022| 08:49 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्