काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दावी गरेका छन्।
ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारुढ गठबन्धन बैशाख ३० गतेको स्थानीय तह निर्वाचनपछि समाप्त हुने बताएका हुन्। सोमबार ललितपुरको जावलाखेलमा पार्टीद्धारा आयोजित चुनावी सभामा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य के हो भन्ने थाहा नभएको जिकीर गरे।
यही प्रश्न प्रचण्डलाई सोधे उनले आफ्नी छोरीलाई भोट हाल्नु नै गठबन्धनको गन्तव्य हो भन्ने जवाफ दिने अध्यक्ष ओलीको कटाक्ष थियो।
‘शेरबहादुर देउवालाई सोध्नुस त– यो गठबन्धन के हो भनेर ? उहाँ आफैले सोध्नुहुनेछ गठबन्धन भनेको के? उल्टै निहुँ खोज्या भन्नु हुन्छ। प्रचण्डलाई सोध्यो भने छोरीलाई भोट हाल्ने हो भन्छन्। माधव नेपालले अर्कै भन्लान्। यिनीहरुको गन्तव्य नै केही छैन। भोली कता जाने हो? केही थाहा छैन यिनीहरुलाई। शेरबहादुरजीले प्रधानमन्त्री चिनेको छ। पोखरा गएर भनिहाल्नु भयो नि–गठबन्धन नभएको भए प्रधानमन्त्री हुन्थेँ भनेर। अब ३० गतेपछि यो पाँच दलीय गठबन्धन बागमतीमा सलल। अब गठबन्धन चल्नेवाला छैन। यो गन्तव्य नभएको, हाटहुट, लाटलुटमा चलेको गठबन्धन हो। यसले हाम्रा पार्टीका कार्यकर्तालाई गुण्डागर्दीको शैलीमा हमला गर्छ। जनतालाई तर्साउने काम मात्रै गर्छ, निर्वाचनको बेलामा।’
ओलीले मुलुकमा लुटलाट र हाटहुट गर्न सत्तारुढ गठबन्धन बनेको गम्भीर आरोप समेत लगाए। उनले निर्वाचनको बेला आफ्ना पार्टीका कार्यकर्तामाथि गुण्डागर्दीको शैलीमा आक्रमण गर्ने काम सत्तारुढ दलहरुबाटै भएको भन्दै आक्रोश व्यक्त गरे।