काठमाडौं- बहुदल स्थापनापछि पूर्वी नेपालको सहर धरान कम्युनिष्ट किल्लाको रुपमा परिचित थियो। स्थानीय निर्वाचनदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनसम्म धरानले सधै कम्युनिस्ट पार्टीलाई जिताएर पठाउँदै आएको थियो। तर, तीन वर्षअघि (२०७६ मंसिर) मा भएको धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा भने नतिजा फरक आयो।
तीस वर्षपछि धरानले नयाँ राजनीतिक स्वाद चाख्ने चेस्टा गर्यो र कम्युनिस्ट किल्लामा नेपाली कांग्रेसले विजयको झण्डा गाड्यो। कांग्रेस नेता तिलक राई तत्कालिन नेकपाका उम्मेदवार प्रकाश राईलाई पराजित गरेर उपमहानरको मेयरमा विजयी भए। त्यो उपनिर्वाचनमा तिलकले ल्याएको मत संख्या थियो- २६ हजार ७०९। पराजित प्रकाशले २३ हजार ९१४ मत प्राप्त गरेका थिए।
उपनिर्वाचनमा फरक नतिजा प्राप्त गरेको करिब तीन वर्षपछि धरानमा चुनावी सरगर्मी बढेको छ। चुनावी रौनक जति बढ्दो छ, त्यसैगरी आम मानिसको मनमा उब्जिएको एउटा प्रश्न पनि पेचिलो बनिरहेको छ। त्यो प्रश्न हो- धरानमा कम्युनिष्ट किल्ला जोगिएला कि कांग्रेसले बाजी मार्ला?
यही प्रश्नको वरिपरि धरानको चुनाव घुमिरहेको छ। तीन वर्षअघि प्राप्त गरेको सफलतालाई कायमै राख्ने दाउमा कांग्रेस देखिन्छ। फेरि एकपटक विजयको झण्डा गाड्ने कांग्रेसको अभियानमा नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतले साथ दिएका छन् र गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन्- किशोर राई। तर, गुमेको साख फिर्ता ल्याउने ध्याउन्नमा एमाले छ। यसपटक एमालेले २०७४ सालमा उमेयरमा निर्वाचित भएकी मञ्जु भण्डारीलाई अघि सारेको छ। राई र भण्डारीबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
गठबन्धनतर्फका मेयरका उम्मेदवार राई जनअपेक्षाअनुसार काम नभएको स्विकारोक्ति सहित चुनावी मैदानमा होमिएका छन्। 'जनताले चाहेको विकास गर्न सकेनौं। अब जनताको अपेक्षा अनुसार काम गर्छौं। धरानलाई नेपालकै खेलकुद सहर बनाउने योजना छ,’ राई भन्छन्।
उपनिर्वाचनमा फरक नतिजा प्राप्त गरेको करिब तीन वर्षपछि धरानमा चुनावी सरगर्मी बढेको छ। चुनावी रौनक जति बढ्दो छ, त्यसैगरी आम मानिसको मनमा उब्जिएको एउटा प्रश्न पनि पेचिलो बनिरहेको छ। त्यो प्रश्न हो- धरानमा कम्युनिष्ट किल्ला जोगिएला कि कांग्रेसले बाजी मार्ला?
एमाले उम्मेदवार भण्डारी भने धरानलाई सुन्दर सहर बनाउने योजना रहेको सुनाउँछिन्। 'अबको मेरो नेतृत्वले धरानलाई सुन्दर सहर बनाउने छ । खानेपानी व्यवस्थापन, ऐतिहासिक किरातगढ, स्पोर्टस ग्राम, औद्योगिक ग्राम र सुकुम्बासीको समस्यामा हामी काम गर्नेछौ,’ उनी भन्छिन्।
तर धरानको चुनावमा यसपटक अर्को फ्याक्टर पनि छ। गठबन्धन र एमाले उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले टक्कर दिने अनुमान गरिएको छ। सामाजिक अभियानमार्फत चिनिएका साम्पाङले चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'म कसैलाई बस लिएर ओसार्न सक्दिनँ। खाजा पनि खुवाउन सक्दिनँ। तर, म तपाईको र तपाईको सन्तानको भविष्य निर्माण गर्न हाम्फालेको छु। नि:स्वार्थ भावनाले आइदिनु होला।’
साम्पाङको चुनाव चिन्ह छ- लौरो। उनले खानेपानी अभाव र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध अभियान चलाउँदै आएका छन्। 'मेरो उम्मेदवारीले विगतमा अरु राजनीतिक दल र नेतृत्वबाट भएका गल्ती सच्चाउने छ। मेरो नेतृत्वलाई धराने जनताले विकल्पको रुपमा रोज्नुभएको छ। मेरो पहिलो एजेण्डा नै पानीको समस्या समाधान हो,’ उनले सुनाए।
यसपटक धरानको मेयरमा उठेका उम्मेदवारहरु नयाँ मतदाता फकाउन प्रयासरत देखिन्छन्। यसपटक धरानमा २१ हजार ४२ मतदाता थपिएका छन्। २०७४ सालको निर्वाचनमा ७९ हजार २८२ मतदाता थिए।
भण्डारीको विगत
भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छिन्। उनी गत मंसिरसम्म एमालेको मनोनित जिल्ला सदस्य थिइन्। तर, १०औं राष्ट्रिय महाधिवेशनबाट सिधै केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
पाँच वर्षमा सुकुम्बासी समस्या समाधान गर्न लगत संकलनको काम बाहेक अरु काम गर्न नसकेको आरोप भण्डारीमाथि लाग्दै आएको छ। अहिले त्यही सुकुम्बासी बस्तीभित्र गिटि कुट्नेहरुसँग उनी सुकुम्बासीको समस्या हल गर्न संकल्पसहित भोट मागिरहेकी छिन्।
यसपटक धरानको मेयरमा उठेका उम्मेदवारहरु नयाँ मतदाता फकाउन प्रयासरत देखिन्छन्। यसपटक धरानमा २१ हजार ४२ मतदाता थपिएका छन्। २०७४ सालको निर्वाचनमा ७९ हजार २८२ मतदाता थिए।
उपमेयरका रुपमा काम गरिसेकेकी भण्डारीले ०७५ सालमा मेयरमा निर्वाचित भएका तारा सुब्वाको निधनपछि डेढ वर्ष कार्यवाहक मेयर भएर उपमहानगर हाँकेकी थिइन्। तर, त्यो बेला उनी विवादैविवादले घेरिएकी थिइन्। उनी महेन्द्र बहुमुखी क्याम्पसको जग्गा विवाद र खानेपानी आयोजनाको असफलता लगायतका विवादमा मुछिएकी थिइन्।
उपमहानगरमा उनको पाँच वर्षे कार्यकालमा खानेपानी समस्या समाधान, सुकुम्बासी समस्या हल गर्ने र शिक्षाका क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ। पूर्वमेयर तथा राजनीतिक रूपमा आफूभन्दा सिनियरलाई पछि पारेर टिकट लिन सफल भएकी भण्डारीलाई एमालेभित्रकै असन्तुष्ट समूहले असहयोग गर्न सक्ने विश्लेषण हुँदै आएका छन्।
किरोर राईको विगत
त्यसो त कांग्रेसका उम्मेदवार किशोर राईको विगत पनि विवादरहित भने छैन। २०५९ सालमा कांग्रेस फुट्दा राई शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक)को धरान नगर सभापति बनेका थिए। २०७४ सालमा उनी सुनसरी क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेश सभाको चुनावमा पराजित भएका थिए।
राईलाई पनि आफ्नैबाट असहयोग हुन सक्ने जोखिम देखिन्छ। गठबन्धनप्रति असन्तुष्ट कांग्रेस कार्यकर्ता उनका लागि चुनौतीका रुपमा देखिएका छन्। उपनिर्वाचनबाट मेयरमा निर्वाचित भएका तिलक राईको कार्यकालमा सन्तोषजनक काम हुन नसकेकाले पनि धरानवासी कांग्रेससँग असन्तुष्ट रहेको टिप्पणी भइरहेका छन्।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै धरान-१४ मा वडाध्यक्ष निर्वाचित भएका कृष्ण भट्टराईले विद्रोह गरिसकेका छन्। उनी यस पटक कांग्रेस छाडेर राप्रपाबाट उम्मेदवार बनेका छन्।
मेयरमा २० जनाको प्रतिस्पर्धा
धरानको मेयरमा यसपटक २० जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये आठ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। कांग्रेसका राई, एमालेकी भण्डारी, स्वतन्त्र साम्पाङबाहेक मौलिक जरोकिलो पार्टीबाट रेणुका विक, स्वतन्त्रतर्फ सुवर्ण समशेर राई, आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट लोकेन्द्र बहादुर डंगोल, खम्बुवान राष्ट्रिय मोर्चा नेपालबाट उमेश राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बर बहादुर लिम्बु पनि मेयर पदमा उठेका छन्।
यस्तै स्वतन्त्रतर्फ हर्कराज राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट राजेशकुमार राई, स्वतन्त्रबाट सञ्जीव भट्टराई, टोलकुमारी लुइँटेल, श्याम कुमार भुजेल, सञ्जय पाण्डे, रत्न बहादुर कटुवाल, सूर्यबहादुर न्यौपाने, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट ताजुब कुमार लिम्बु, राष्ट्रिय प्रजातान्त्र पार्टीबाट नरेश कुमार शाक्य, मंगोल नेशनल अर्गनाइजेशनबाट दिर्पा कुमारी राई लगायतले मेयर पदमा उम्मेदवारी दिएका छन्।
धरानको मेयरमा यसपटक २० जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये आठ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।
यस्तै, उपमेयरमा भने एमालेबाट पदमप्रसाद लिम्बु र माओवादीबाट अइन्दू विक्रम बेघा चुनावी मैदानमा छन्। धरानको उपमेयर बन्न १० जना चुनावी मैदानमा उत्रिएका छन्। प्रेम प्रसाद तिमल्सिना र दत्तकुमार लिम्बु स्वतन्त्र रुपमा उपमेयरमा प्रतिस्पर्धामा छन्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीकी सरस्वती सुब्बा, किराँत खम्बुवान साझा पार्टीबाट हर्कराज राई, राप्रपाबाट पूर्णमाया राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट श्याम कुमारी तामाङ, जनता समाजवादी पार्टी नेपालबाट बिना कुमारी राई र मौलिक जरोकिलो पार्टीका हेम कुमार दाहाल उपमेयरमा प्रतिस्पर्धा गर्दैछन्।
त्यसैगरी धरानका २० वटा वडाको अध्यक्षमा ११४ जना प्रतिस्पर्धा गर्दै छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालले १४ वटा वडा जितेको थियो । ५ वटा वडामा कांग्रेसले र एउटा वडा माओवादीले जितेको थियो ।
धरानमा स्थानीय निर्वाचनको इतिहास
धरान २०१७ सालमा नगरपालिका घोषणा भएको हो। धरानको पहिलो मेयर हुन्, केदारनाथ खनाल। त्यसपछि लगातार कम्युनिष्ट विचारधाराका गोविन्द मोक्तान, कृष्णकुमार राई र बम देवान प्रमुख बनेका थिए।
२०४९ सालमा भएको निर्वाचनमा एमालेका ध्यानबहादुर राई, २०५४ को निर्वाचनमा एमालेकै मनोजकुमार मेन्याङ्वो मेयरमा निर्वाचित भएका थिए। त्यसपछि तत्कालिन राजा ज्ञानेन्द्रको छनोटमा कुमारबहादुर कार्की र केपी पालुङवा धरानको मेयर बनेका थिए।
मुलुक संघीयतामा गएपछि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बा मेयरमा निर्वाचित भएका थिए। सुब्बा २० हजार ९७५ मत ल्याएर मेयरमा निर्वाचित हुँदा कांग्रेसका तिलक राईले १६ हजार १०२ मत प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार १८० मत प्राप्त गरेका थिए ।
धरान २०१७ सालमा नगरपालिका घोषणा भएको हो। धरानको पहिलो मेयर हुन्, केदारनाथ खनाल। त्यसपछि लगातार कम्युनिष्ट विचारधाराका गोविन्द मोक्तान, कृष्णकुमार राई र बम देवान प्रमुख बनेका थिए।
२०७५ साउन १ गते सुब्बाको निधन भयो। २०७६ मंसिरमा भएको उपनिर्वाचनमा भने कांग्रेसका तिलक राईले नतिजा उल्टाइदिए। उनले धरानको नेतृत्वमा एमालेको निरन्तरतालाई क्रमभंग गरिदिएका थिए। उपनिर्वाचनताका एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको थियो र धरानको मेयरमा माओवादी खेमाबाट अइन्दू विक्रम बेघाले दावी गरेका थिए। तर एमाले खेमाका प्रकाश राईले टिकट पाए। यस्तै वडा नम्बर ७ को अध्यक्षमा पनि माओवादीको दावी थियो। तर मेयर र वडाध्यक्षको टिकट माओवादीको हातमा परेन। सोही कारण माओवादीको आक्रोशको मत कांग्रेसलाई गएको आकलन गरिएको थियो।
छैनन् नयाँ एजेन्डा
झण्डै तीन दशक कम्युनिष्ट पार्टीले धरानको नेतृत्व गर्यो। तर धरानको समस्या भने समाधान हुन सकेनन्। खानेपानी, सुकुम्बासी समस्या, विमानस्थल निर्माण जस्ता विषयमा जनप्रतिनिधिले ध्यान नदिएको आरोप स्थानीयले लगाउँदै आएका छन्।
तर यसपटक धरानको नेतृत्व लिन तम्सिएका उम्मेदवारहरुसँग कुनै नयाँ एजेन्डा भने छैनन्। आकर्षक नाराको कार्यान्वयन गर्न उपमहानगरसँग पर्याप्त बजेट पनि छैन। उपमहानगरको आन्तरिक आय साधारण खर्च चलाउन र १० प्रतिशत मात्र पुँजीगत खर्च गर्न सकिने अवस्था रहेको उपमहानगर स्रोत बताउँछ। यस्तोमा अहिले उम्मेदवारहरु नयाँ एजेन्डा लिएर भन्दा पनि मतदातालाई रिझाउन र एकअर्काको भोट बैंकबाट मत चोर्न तल्लीन देखिन्छन्। 'धरानमा यस पटक एजेण्डाविहीन चुनाव हुँदैछ। विगतका गल्ती सच्याउँछौं भन्ने बाहेक नयाँ एजेण्डा छैन,’ महेन्द्र बहुमुखी क्याम्पसका सह-प्राध्यापक डा राजेन्द्र शर्माले भने, 'धरानको पुरानै समस्या सुकुम्बासी र खानेपानी चुनावी एजेण्डा बन्ने गरेका छन्। तर कुनै राजनीतिक नेतृत्वबाट समाधान हुन सकेको छैन।'
कस्तो आउला परिणाम?
विश्लेषकहरुका अनुसार यसपटक धरान उपमहानगरको निर्वाचन परिणाम अनौठो आउने छैन। धरान बामपन्थीहरुको इलाकाको रुपमा परिचित थियो। नेकपा माओवादी २०६३ सालमा संसदमा प्रवेश गरेपछि भने वामपन्थीहरुको नेकपा माओवादी र नेकपा एमाले दुई धारामा विभाजित भए। त्यसपछि बामपन्थीको एकल वर्चश्व रहेन सकेन। यद्यपि दुवै वामपन्थी धार एक भएकै बेला कांग्रेसका तिलक राईले धरानको नेतृत्व कम्युनिस्टको हातबाट खोसेका थिए। यसपटक पनि धरानको नेतृत्वका लागि कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ।
तर स्वतन्त्रतर्फका उम्मेदवार हर्कराज साम्पाङ युवामाझ लोकप्रिय छन्। उनले असन्तुष्टहरुको मत तान्न सक्ने आकलन गरिएको छ। यद्यपि गठबन्धन तुलनात्मक रुपमा बलियो देखिएको सह-प्राध्यापक शर्माको विश्लेषण छ । 'राप्रपाको लहर देखिएको छैन। हर्कराज साम्पाङ युवा माझ लोकप्रिय छन्। तर २० वटै वडामा उनको प्रभाव देखिँदैन। त्यसकारण एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। प्रभावशाली नेतृत्वको अभाव छ । खानेपानीको एजेण्डा बोकेका हर्कले असन्तुष्टको मत आफनो पक्षमा पार्न सक्ने सम्भावना देखिन्छ।'
विश्लेषकहरुका अनुसार यसपटक धरान उपमहानगरको निर्वाचन परिणाम अनौठो आउने छैन। धरान बामपन्थीहरुको इलाकाको रुपमा परिचित थियो। नेकपा माओवादी २०६३ सालमा संसदमा प्रवेश गरेपछि भने वामपन्थीहरुको नेकपा माओवादी र नेकपा एमाले दुई धारामा विभाजित भए।
तर कांग्रेस उम्मेदवार राईलाई सत्तारुढ गठबन्धनको साथ रहेकाले उनी तुलानात्मक रुपमा बलियो अवस्थामा रहेको धेरैको विश्लेषण छ। त्यसो त अहिले समीकरण फेरिएकाले गठबन्धनले ०७४ सालको भन्दा बढी वडा जित्न सक्ने विश्लेषण भइरहेका छन्।
स्थानीय पत्रकार राजेश विद्रोही पनि मुख्य प्रतिस्पर्धा एमाले र गठबन्धनकै बीच हुने तर स्वतन्त्र उम्मेदवार साम्पाङले असन्तुष्टको मत प्राप्त गर्न सक्ने बताउँछन्। त्यसो त धरान एमालेका १० बुँदे पक्षधरहरुको प्रभाव भएको सहर हो। त्यो समूह अहिले पनि असन्तुष्ट रहेकाले त्यसको प्रभाव परिणाममा पर्न सक्ने विश्लेषण उनको छ। विद्रोही भन्छन्, 'पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्वो एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा आएनन्। कार्यक्रमस्थल नजिकैको घण्टाघरमा बसेर उनले ओलीको भाषण सुने । एमालेसँग धेरै जना असन्तुष्ट छन् । यस पटक आफ्नै मतदाताहरुबाट समेत असहयोग हुन सक्छ।’
यस्तोमा धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसले तीन वर्षअघिकै सफलता दोहोर्याउँछ वा एमालेले आफ्नो तीन दशकदेखिको कम्युनिष्टको विरासत फर्काउँछ? मतदानको पूर्वसन्ध्यामा प्रश्न पेचिलो बन्न पुगेको छ।