काठमाडौं- वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह चुनावको लागि भोली (मंगलबार) रातिदेखि मौन अवधि सुरु हुने भएको छ। मौन अवधि सुरु भइसकेपछि चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइने छैन।
चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी छ। दुई दिनमात्र बाँकी भएसँगै दल र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन्।
यस्तै, भोलि मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन्। भोलि राति १२ बजेदेखि मतदान हुने दिन शुक्रबार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ।
कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ। चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ।
चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै भोलिदेखि जाँडरक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ।