जनकपुरधाम- प्रदेश-२ संसद बैठक सदस्यहरूको मोबाइलमा एसएमएस गरेर स्थगित गरिएको छ। विपद् व्यवस्थापनसम्बन्धी विधेयकमा छलफल गर्न आइतबार बोलाइएको बैठक स्थगित भएको हो ।
अचानक बैठक स्थगित भएपछि प्रदेशसभा सदस्यहरू पनि आश्चर्यमा परेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच प्रदेशमा एकीकरण हुने भएकाले प्रदेशसभा सदस्यहरू त्यसतर्फ व्यस्त हुँदा बैठक पाँच दिनका लागि स्थगित गरिएको बताइएको छ ।
‘दुवै दलका प्रदेशसभा सदस्यहरू पार्टी एकीकरणसम्बन्धी कार्यमा जुट्नु भएको छ । सम्भवतः उहाँहरूको आग्रह अनुसार बैठक स्थगित भएको हुन सक्छ,’ प्रदेशसभा सचिवालय स्रोतले भन्यो । माथिल्लो तहबाटै हुने भएकाले बैठक स्थगन विषयमा धेरै कुरा आफूहरूलाई समेत जानकारी नरहेको प्रदेशसभा सचिवालयका कर्मचारीहरूले बताएका छन् ।
यता प्रदेशसभाले बिजनेस पाउन नसकेको बेला अचानक बैठक स्थगित भएपछि प्रदेशसभा सदस्यहरूले आश्चर्य व्यक्त गरेका छन् । आफूहरूलाई एसएमएस आएपछि बैठक स्थगित भएको जानकारी पाएको नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले बताए । मुश्किलले बिजनेस पाइरहेको प्रदेशसभाको बैठक स्थगनको सम्बन्धमा आफूहरूलाई कुनै जानकारी नदिइएको उनको भनाइ छ ।
‘सदनले बिजनेस पाउन सकिरहेको छैन,’ चौधरीले थपे, ‘आइतबार बैठक बसेको भए कमसेकम एउटा विधेयकले निदान पाउने थियो । तर, अब लम्बिने भयो ।’
यसअघि १३ साउनमा बसेको प्रदेशसभा बैठकमा सरकारले विपद् व्यवस्थापनसम्बन्धी विधेयक छलफलका लागि प्रस्तुत गरेको थियो । र, छलफलका लागि आइतबार कार्यसूचि तय गरिएको थियो । प्रदेशसभाको अर्को बैठक २५ साउनमा बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४