काठमाडौं– पाँच वर्षअघि भएको निर्वाचनमा विमला राई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरमा निर्वाचित भइन्। नगरपालिकाको मेयरमा ४ हजार ३९७ मत ल्याएर कांग्रेसका इवन राई निर्वाचित भएका थिए। कांग्रेसबाटै उपमेयरमा निर्वाचित भएकी राईले ल्याएको मत थियो, ४ हजार ४८६।
अघिल्लो निर्वाचनमा पालिकामा उपप्रमुख जितेका धेरै महिला जनप्रतिनिधि यसपटक उम्मेदवार छैनन्। पाँच वर्षको कार्यकाल सकेर उपप्रमुखमा जितेका अधिकांश महिला जनप्रतिनिध घर फर्किँदैछन्। तर, विमलाको यात्रा भने उपप्रमुखमा टुंगिएन्। उनलाई यसपटक कांग्रेसले मेयर पदका लागि टिकट दिएको छ। र, उनी चुनावी मैदानमा होमिएकी छन्। त्यसो त मेयर इवन राई पनि पुनः उम्मेदवार बन्न चाहान्थे। तर, विमलाले उनै इवनलाई पछि पारेर टिकट पाएकी छन् र प्रतिस्पर्धामा उत्रिएकी छन्।
उनको भनाइ मान्ने हो भने उनलाई चुनावी तनाव र दौडधुप छैन। बरु नगरबासीले उनैलाई सम्पर्क गरेर शुभकामना दिइरहेका छन्। ‘मेरो दैनिकी दैडधुप र तनावपूर्ण छैन,’ उनी भन्छन्, ‘मेरा नगरबासी आफैंले मलाई सम्पर्क गर्छन्। शुभकामना दिन्छन्। उहाँहरुले शंका लाग्ने ठाँउमा जानुस्, हाम्रो मत त तपाईलाईं नै छ नी भन्नुहुन्छ।’
त्यसो त विमला गठबन्धनको जगमा चुनाव लड्दै छैनन्। देशभर पाँच दलीय सत्तारुढ गठबन्धनबीच तालमेल भएको छ। तर, हलेसी तुवाचुङ नगरपालिकामा भने चुनावी तालमेल छैन। दलहरु एक्लाएक्लै चुनावी मैदानमा छन्। कांग्रेसबाट राई, नेकपा एमालेबाट खडेन्द्र राई, नेकपा माओवादी केन्द्रबाट रुसिका राई, जसपा नेपालबाट अन्जिला राई र राप्रपाबाट छत्र पुरी मेयरका उम्मेदवार छन्। तर, विमला भने आफूलाई चुनावी तनाव नभएको दाबी गर्छिन्।
पाँच वर्षमा उपमेयर भएर गरेको कामको आधारमा जनताले विश्वास गरेका छन्। पार्टीले पनि मलाई यसपटक अपग्रेड गरेको छ। अब जनताले गरेको विश्वास र पार्टीले गरेको भरोसालाई मतदाताले अनुमोदन गर्नुहुनेछ। मैले जित्नेछु।
उनको तर्क छ, ‘यहाँका नागरिकको दुःख, सुखमा बुझेको छु। म र मेरो पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिएका छौं। हामीले प्रचारप्रसार पनि भड्किलो बनाएका छैनौं। महिला सेकेन्डम्यान भएर बस्ने चलन छ। यसलाई चिर्नका लागि महिला मेयरमा रहनु पर्छ भन्दै मैले उम्मेदवारी दिएको हो। पाँच वर्षमा उपमेयर भएर गरेको कामको आधारमा जनताले विश्वास गरेका छन्। पार्टीले पनि मलाई यसपटक अपग्रेड गरेको छ। अब जनताले गरेको विश्वास र पार्टीले गरेको भरोसालाई मतदाताले अनुमोदन गर्नुहुनेछ। मैले जित्नेछु।’
टिकट लिन संघर्ष
उनले यसपटक मेयरमा टिकट पाउन ठूलै संघर्ष गर्नुपर्यो। मेयर इवानसँगै अन्य आकांक्षीहरुलाई रोकेर टिकट लिने कुरा चानचुने थिएन। त्यसैले त मेयरका टिकट लिन गर्नुपरेको संघर्ष अविस्मरणीय बन्न पुगेको उनी बताउँछिन्। ‘नगर प्रमुखको टिकटका लागि पार्टीलाई मैले बुझाउन गरेको संघर्ष म जीवनभर बिर्सन सक्दिनँ।’
भर्खरै पार्टीको १४औं महाधिवेशन सकिएको थियो। त्यसको धङधङी तल्लो तहमा कायमै थियो। त्यस कारण टिकट लिन कांग्रेसभित्रको संघर्ष उत्कर्षमा पुगेको थियो। ‘टिकटका लागि पार्टीभित्रै प्रतिस्पर्धा थियो। प्रदेश समितिको सदस्य, संसदीय बोर्ड भएका नाताले र म कार्य सम्पादन समितिमा समेत रहेकाले साथीहरुले मैले प्रदेशबाट टिकट लिएर आउँछु भन्ने शंका गरे,’ उनले सुनाइन, ‘सोही कारण मलाई पार्टीभित्रैबाट तगारो हाल्ने काम भयो। तर, विचलित भइनँ, लडेरै टिकट ल्याएकी हुँ।’
त्यसो त पार्टीको नगर समितिले विमलाको नाम मेयरका लागि सिफारिस नै गरेको थिएन। नगरप्रमुखका लागि एक महिला सहित तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा उपप्रमुखको नाम नै नराखी नगरसमितिले आकांक्षीहरुको नाम सिफारिस गरेको थियो। ‘एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा मेरो नाम काटियो, त्यो पहिलो गाँसमै ढुङगा थियो मेरा लागि,’ उनले सुनाइन् ‘विमला राई उपमेयर हैन। मेयर हो भन्ने आम धारणा बन्न थालिसकेको थियो। मैले सुरुदेखि नै आफ्नो छाप छोडिसकेको थिएँ। म क्षमता नभएर हैन महिला भएर उपप्रमुख बनाइएको थिएँ। नगर समितिको सिफारिसमा समेत नपरेको म त्यसको प्रविबादमा उत्रिएँ। अर्को च्यानल मिलाउदै गएँ। वातावरण पनि बन्दै गयो र टिकट पनि पाएँ।’
राजनीति माहोलमै हुर्किएँ, अब विकास गर्छु
२०३८ सालमा जन्मिएकी विमलाको बुवा दानबहादुर राई पञ्चायतकालमा प्रधानपञ्च थिए। दानबहादुरका १० जना छोराछोरीमा विमला सातौं सन्तान हुन्। दाई देवेन्द्र राई नेपाली कांग्रेसमा सुरु देखि नै सक्रिय छन्। तर, विमला दाइसँग भन्दा बुवाबाटै नै प्रभावित भएको बताउँछिन्। ‘दाइ भन्दा धेरै बुबाबाट प्रभावित छु।’
उनी आफूलाई कतिपयले बुबाको नाम र आफ्नै कर्मले चिनिएको बताउँछिन, विमला। राजनीतिक परिवारमा हुर्किएकाले अब विकास गर्नुको विकल्प नरहेको उनको भनाइ छ। आफू उमेयर हुँदाको कार्यकालमा भएका कतिपय कामका सन्दर्भमा उनका आफ्नै असन्तुष्टि छन्। ती असन्तुष्टिलाई सच्चाएर अघि बढ्ने उनको योजना छ।
‘पाँच वर्ष स्थानीय सरकारमा बसेर मैले काम गरेको छु। तर, अहिले पनि मलाई आश्चर्य लाग्छ बुबाको समयमा स्रोत साधन ज्यादै सिमित थिए कसरी त्यति धेरै काम भए? बुवाको समयमै बनेका विद्यालयमा अहिले मैले जस्ताको छानो समेत हाल्न सकिनँ,’ उनले असन्तुष्टि पोखिन्।
उनलाई राजनीतिमा लाग्न हौसला श्रीमानले नै दिएका हुन्। श्रीमानको त्यही हौसलाका कारण उपमेयरको कुर्सी सम्हालेकी उनी मेयर बनेर नगरपालिका हाँक्ने प्रयत्न गर्दैछिन्।
अब भने नमूना नगरपालिका बनाउने योजना उनको छ। ‘स्थानीय सरकारको कार्य पद्धतिलाई विधि प्रणालीमा ल्याउन सकिएको छैन। सेवाग्राहीले स्थानीय तहबाट तुरुन्तै काम हुन्छ भनेर विश्वास दिलाउनेदेखि पारर्दशिता र दीर्घकालीन स्रोतको व्यवस्थापन गर्ने सन्दर्भसम्म सरल र सहज हिसाबमा काम गर्न सकिएको छैन,’ उनले भनिन्, ‘अब म समावेशी विकास नीति अवलम्बन गर्दै सबैलाई आत्मसम्मान मिल्ने वातावरण सहितको पालिका बनाउन लाग्नेछु।’
हलेसी तुवाचुङ नगरपालिकाको मुख्य समस्या हो- खानेपानी। खानेपानी समस्या समधान गर्ने उनको प्रमुख एजेन्डा हो। उनका बुवाले राजनीति गर्दा पनि खानेपानीकै समस्या थियो।जुन अहिलेसम्म हल हुन सकेको छैन।
‘हाम्रो पालिकामा सुख्खा क्षेत्र बढी छ। खानेपानीको अभावलाई समाधान गर्न दुधकोशी र सुनकोशीको पानी लिफ्टिङ गर्ने काम अहिले संघीय सरकारले गरिरहेको छ,’ उनले भनिन्, ‘अब सबै सुख्खा क्षेत्रमा खानेपानी पुर्याउने मेरो योजना छ। खानेपानी पुर्याएपछि त्यहाँ पर्यटन प्रबर्द्धन र आन्तरिक उत्पादनमा जोड दिनेछु। हलेसीमा पर्यटन व्यवसाय बढाउनका लागि किराँतको उद्गम स्थललाई अझ प्रमोट गर्नेछु।’
त्यसो त उनले स्वास्थ्य र शिक्षा पनि उनको प्रमुख एजेन्डा हो। ‘हाम्रो पालिकामा ८८ वटा विद्यालयमा छन्। ती विद्यालयमा व्यवहारीक शिक्षा दिने कुरामा मेरो जोड रहन्छ,’ उनले भनिन्, ‘एक्सरे गर्नलाई समेत छिमेकी जिल्लाको अस्पताल जान पर्ने बाध्यता छ। त्यसको अन्त्य गर्छु। अस्पतालमा जनशक्ति र उपकरण थप्छु।’
जागिर छोडेर राजनीति
खोटाङ जिल्लामा ग्रामिण पहुँच कार्यक्रम (गैर सरकारी संस्थामा) कन्सल्टेनटको रुपमा काम गरेकी उनले एक दशक जागिरे जीवन बिताइन्। २०७४ मा ग्रामिण विकासमा स्नातकोत्तर गरिन्। अहेब, आरडी हुँदै उनले अहिले एलएलबी अध्ययन गरिरेहकी छन्। उच्च शिक्षा उनले स्वअध्ययनबाटै गरेकी हुन्।
‘मैले आफनो अध्ययन र अनुभव मेरो नगरपालिकाको लागि सदुपयोग गर्दैछु। जनप्रतिनिधि भएर काम गर्दैगर्दा मेरो धेरै कुरा ब्रेक पनि भएँ,’ उनले भनिन्, ‘विश्वविद्यालय गएर पढने रहर अधुरो नै भयो। तर मैले यी बीचमा यो ठाँउको माटो, आवश्यकता र जनताको मन पढन पाएँ। मेरो किताब, लेखक र विश्वविद्यालय यहि ठाँउ र यहाँका बासिन्दा हुन्।’
विद्यार्थी जीवनमा राजनीतिक गतिविधि नछुटाउने विमलाले स्नातक तहको अध्ययनपछि विवाह गरिन्। र, उनलाई राजनीतिमा लाग्न हौसला श्रीमानले नै दिएका हुन्। श्रीमानको त्यही हौसलाका कारण उपमेयरको कुर्सी सम्हालेकी उनी मेयर बनेर नगरपालिका हाँक्ने प्रयत्न गर्दैछिन्। ‘मसँग सरकार चलाउने अनुभव त छँदै छ,’ उनी भन्छिन्, ‘म आर्थिक र राजनीतीक रुपमा अनुशासीत छु। यही अनुशासनका कारण मलाई जनताले अनुमोदन गर्नुहुनेछ भन्ने विश्वास छ।’