स्याङ्जा- नेपाली कांग्रेस स्याङ्जाका जिल्ला सभापति एवम् पूर्व सांसद कमल पंगेनीको रहस्यमय निधन भएको छ । राती सुतेकै अवस्थामा ५८ वर्षीय पंगेनीको रहस्यमय तरिकाले निधन भएको हो ।
'हामीले अचेत अवस्थामा भेटेपछि आइतबार बिहान उहाँलाई अस्पताल लिएर गयौ । तर अस्पतालले पुर्याउने वित्तिकै अस्पतालले मृत घोषणा गर्यो' स्याङजा जिल्ला सदस्य अर्जुन खनालले भने ।
काठमाडौंबाट स्याङजा गएका पंगेनी भिरकोट नगरपालिकाका कांग्रेस नेता तोयानाथ अर्यालको घरमा सुतेकै बेला अचेत भेटिएका थिए । उनलाई बिहानै कालिका सामुदायिक अस्पतालमा लगिएको थियो ।
नियमित भेटघाटबाट फर्कदा असहज महसुस भएपछि गल्याङ सामुदायिक अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । २०३५ सालदेखि राजनिति सुरु गरेका पंगेनी २०७० सालको चुनावमा स्याङजा २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । पंगेनीका एक छोरा र एक छोरी छन् ।
पंगेनीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक संजाल ट्विटरमार्फत पंगेनीको निधनले पार्टीमा ठूलो क्षति पुगेको समेत जनाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४