काठमाडाैं- संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका कामु प्रधानन्यायाधीश दीपकराज जोशी विदामा बसेका छन् । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर जोशीले आफू १५ दिन बिदामा बस्न लागेको जानकारी गराएका हुन् ।
जोशी विदामा बसेसंगै कामु प्रधानन्यायाधीशको जिम्मेवारी उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्र पाउने भएका छन् । मिश्रले कामु प्रधानन्यायाधीशका हैसियतमा आइतबारबाटै पेसी तोक्ने भएका छन् ।
संवैधानिक परिषद्ले सम्भवत : उनलाई नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ । सर्वोच्चका सबैभन्दा वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा छ ।
न्यायपरिषद्का अनुसार मिश्र प्रधानन्यायाधीश भए पुस १८ गते उमेर हदका आधारमा अनिवार्य अवकाश पाउनेछन् । जोशी स्वीकृत भएको भए २०७६ असोज २३ सम्म न्यायालयमा रहने हुँदा मिश्रको प्रधानन्यायाधीश हुने बाटो बन्द हुने थियो ।
संवैधानिक परिषद्ले जोशी, मिश्र र चोलेन्द्रशमशेर जबरा गरी प्रधानन्यायाधीश हुने योग्यता पुगेका तीन न्यायाधीशको नाम न्यायपरिषद्बाट पाएको थियो । तीमध्ये ज्येष्ठताका आधारमा परिषद्ले संसदीय सुनुवाइमा जोशीको नाम पठाएको थियो । तर, अस्वीकृत हुने पहिलो व्यक्ति बनेर बाहिरिन परेपछि जोशीले ‘पर्ख र हेर’ को नीति अख्तियार गरी बिदामा बस्ने बीचको बाटो रोजेको उनीनिकट एक अधिवक्ताको बुझाइ छ ।
सुनुवाइ समितिको पत्र आइतबार परिषद्लाई
संसदीय सुनुवाइ समितिले जोशीको नाम दुईतिहाइ बहुमतले बैठकबाट अस्वीकृत गरेको औपचारिक निर्णय आइतबार संवैधानिक परिषद्लाई जानकारी गराउने भएको छ ।
सुनुवाइ समितिमा रहेका नेकपाका सांसद योगेश भट्टराईले आइतबार औपचारिक रूपमा पत्राचारमार्फत संवैधानिक परिषद्लाई जानकारी गराइने जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४