काठमाडौं-अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैङ्कको निमन्त्रणामा बैङ्कको मुख्यालयमा हुने औपचारिक कार्यक्रममा सहभागी हुन संयुक्त राज्य अमेरिकाको वासिङ्गट्न डिसितर्फ प्रस्थान गरेका छन् ।
भ्रमणको मुख्य उद्देश्य विश्व बैङ्कले नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनका लागि सहयोग उपलब्ध गराउनका लागि सन् २०१९ देखि २०२३ सम्मको पाँच वर्षे नेपालको विकासमा साझेदारी खाका (कन्ट्री पार्टनरशीप फ्रेमवर्क)लाई अन्तिम रूप दिनका लागि सरकारले मार्गचित्र प्रस्तुत गर्ने बताइएको छ ।
त्यस अतिरिक्त विश्व बैङ्क समूहबाट नेपालले आफ्नो विकासका लागि प्राप्त गर्न सक्ने अधिकतम् लाभ लिन नेपालको आर्थिक सोच, रणनीति, सङ्घीयता कार्यान्वयनको मार्गचित्र तथा विकासको लागि वित्तको अधिकतम उपयोग गर्न नेपाल सरकारको मार्गचित्र प्रस्तुत गरिनेछ ।
नेपाललाई सहयोग गर्ने अन्य द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूसँग छलफल गर्न आयोजित ‘नेपाल डेली’ कार्यक्रमलाई पनि अर्थमन्त्रीले सम्बोधन गर्ने भएका छन् ।
भ्रमणको क्रममा अर्थमन्त्रीले विश्व बैङ्कका उच्च व्यवस्थापन समूहसँग समेत भेटघाट गरी छलफल गर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयको अनुसार यूएसएड, एमसीसी र आईएमएफका पदाधिकारीहरूसँग समेत छुट्टाछुट्टै द्विपक्षीय बैठकहरू आयोजना गर्ने र ती बैठकहरूमा अर्थमन्त्रीले नेपालको विकास प्रयासमा उल्लेखित विकास साझेदारहरूबाट प्राप्त भैरहेको सहयोगको समीक्षा गरी थप सहयोगका क्षेत्रहरूमा छलफल गर्ने भएका छन् ।
त्यस्तै निजी क्षेत्रका लगानीकर्ताहरुसंग नेपाल सरकारको आर्थिक नीति तथा लगानीका सम्भावनाका बारेमा पनि छलफल गर्ने मन्त्रालयले जानकारी दिएको छ । अन्तराष्ट्रिय वित्त निगमसँग हुने छलफलबाट समेत निजी क्षेत्रमा थप लगानी बढाउन मद्दत पुग्ने उल्लेख छ ।
वर्तमान सरकारले जनता समक्ष प्रस्तुत गरेका प्रतिवद्धताहरू पूरा गर्न आवश्यक पर्ने आर्थिक तथा भौतिक पूर्वाधारहरूको विकासका लागि थप लगानी जुटाउन यो भ्रमण उपयोगी हुने अपेक्षा गरिएको छ ।
अर्थमन्त्रीको भ्रमण दलमा अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपाल तथा अमेरिकाको लागि नेपालका महामहिम राजदूत अर्जुन कार्की समेतको टोली शुक्रबार अमेरिकातर्फ प्रस्थान गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४