काठमाडौं- बुधबार काठमाडौंको भोटेबहाल लगनभित्रको बस्ती ब्युँझदै थियो। बस्तीभित्र बिहानको नित्यपूजाको घण्टी बज्नुअघि, लगनका साघुँरा गल्लीमा व्यापारीको चहलपहल बढ्नु अघि नै चर्को आवाजले धेरैलाई ब्युँझायो। त्यो चर्को आवाज थियो एमालेको घरदैलो कार्यक्रमको। र नारा लागिरहेको थियो, ‘नेकपा एमाले जिन्दावाद, भोट के मा सूर्यमा!’
भोटेबहालमा बिहानै एमालेबाट काठमाडौं महानगरपालिकामा उठेका उम्मेदवारले समर्थकसहित चर्को आवाजमा नारा लगाउँदै घरदैलोमा हिँड्न सुरु गरे।
काठमाडौं महानगर प्रमुखका उम्मेदवार केशव स्थापित छोरा इरोज र श्रीमती शोभासँगै सात बजे त्यही टोलमा पुगेका थिए। वडा नम्बर २१ मा नेकपा एमालेका उम्मेदवारले स्थापितसँगै उनको परिवारलाई खादासहित स्वागत गर्यो।
‘दक्षिणपन्थी अवसरवादलाई परास्त गरौं, अलोकतान्त्रिक परमादेशी गठबन्धनको घोर भर्त्सना गरौँ’ लेखिएको ठूलो ब्यानर र सूर्य अंकित झण्डा बोकेको समूहले स्थापितको स्वागतमा चर्को नारा लगाइरहे।
साँघुरा गल्लीभित्रका घर–घरमा पुगेर उनले मतदाता भेटे। उम्मेदवारले भनिरहेका थिए, ‘भोट चाहिँ सूर्यमा है।’ स्थानीयले मुस्कानसहितको नमस्कार फर्काउने र घरिघरी नेवारीमा जवाफ फर्काउनेबाहेक कुनै प्रतिक्रिया दिएनन्।
हुलसँगै हिडाइएको साउन्ड स्पिकरबाट बस्तीभित्र गुञ्जिएको नेवारी संगीत र शब्दमा भोट दिन आह्वान गरिरहेको थियो। यसअघिका घरदैलोमा प्रायः स्थापितसँगै देखिने उपमेयरकी उम्मेदवार सुनीता डंगोल मंगलबार भने उपस्थित थिइनन्।
बस्तीभित्र घरदैलो कार्यक्रममा हिँडेको समूहमा कोही प्रचार सामग्री बाँड्न व्यस्त थिए, कोही स्थापितलाई बस्तीका बासिन्दाहरुसग परिचय गराउन। स्थापित आफैं पनि धेरैलाई परिचित शैलीमा घरी मुस्कुराउँदै नमस्कार गर्थे त घरी हात मिलाउँथे।
साँघुरा गल्लीभित्रका घर–घरमा पुगेर उनले मतदाता भेटे। उम्मेदवारले भनिरहेका थिए, ‘भोट चाहिँ सूर्यमा है।’ स्थानीयले मुस्कानसहितको नमस्कार फर्काउने र घरिघरी नेवारीमा जवाफ फर्काउनेबाहेक कुनै प्रतिक्रिया दिएनन्।
बस्तीको मन बुझ्न कम र ज्यादा नारा सुनाउन हिँडेकोझैं लाग्ने समूहले झण्डै एक घण्टाभन्दा बढी मतदाताको घर चहार्यो। त्यसपछि विस्तारै स्थापित पछ्याइरहेको भिड पातलियो। स्थापित आफ्नो सेड्युल अनुसार लगनबाट बिदा हुँदै श्रीमती र छोरासहित निजी सवारीमा शोभाभगवती हाँकिए।
000
तोरणपूजाका लागि शोभाभगवती पुगेका स्थापित केहीबेर मन्दिरका पुजारी र स्थानीयसँग गफिए। मन्दिर परिसरमा उनीसँग गफिन खोज्ने मात्र होइन, सेल्फी लिने युवाको लाइन लाग्यो।
स्थापितले मंगलबार सात ठाउँमा घरदैलो कार्यक्रम राखेका थिए। सोही कारण उनी समयलाई लिएर सजग पनि देखिन्थे। उनका सहयोगीले संकेत गरेपछि भीमसेनगोलाको बिहान ९ बजे घरदैलो कार्यक्रममा पुग्न शोभा भगवतीबाट उनी बाहिरिए।
000
स्थापितको प्रतीक्षामा भीमसेनगोला चोकमा उभिएका एमालेका वडाका उम्मेदवार र कार्यकर्ता एकसाथ कराए। ‘आउँदो वैशाख ३० मा, केशव स्थापित मेयरमा।’ उत्साहित भिडभित्र स्थापित घेरिए। खादा लगाइदिएपछि भिडअघि बढ्यो। वडाका उम्मेदवार स्थापितभन्दा अघि नै रातो अबिर र खादाले सजिइसकेका थिए।
एमालेको प्रचार समूह बानेश्वरमा कुहिएको फोहोर टेकेर नाक खुम्चाउँदै अघि बढ्यो। स्थापितको घरदैलोमा त्यो दृश्य हेरेपछि लाग्थ्यो- 'फोहोरका पनि आफ्नै अपेक्षा छन्। अब आउने मेयरले सडकमा उठाइदिउन्, व्यवस्थापन गरिदिउन्। मानिहरुले हेरेर नाक नथुनुन्, नकुल्चिदिउन्।' तर, मतदातासँग त एजेन्डामा कुरा नगरेका स्थापितले सायदै सडकमा लमतन्न आकारमा सुतिरहेको फोहोरबारेमा सोचे।
एमालेको प्रचार समूह बानेश्वरमा कुहिएको फोहोर टेकेर नाक खुम्चाउँदै अघि बढ्यो।
बाक्लो बस्तीभित्र सडकनजिकै नाराजुलुस हेरिरहेका बासिन्दालाई तलैबाट मुस्कानले सम्बोधन गरिरहेका थिए, स्थापित। भिमसेनगोला चोकबाट बत्तीसपुतली हुँदै बानेश्वर चोक निस्किएर फेरि भिमसेनगोला चोकको फन्को लगाएको प्रचार समूहले बस्तीभित्रका ५ घरबाहेकमा छिरेन।
स्थानीयको घरभित्र छिरेर नमस्कार गर्न बाहेक अरु विरलै संवाद गरेका स्थापितलाई वडाका उम्मेदवारहरुले स्थानीयसँग परिचय गराइरहेका थिए। तर, स्थापितको फगत मुस्कान थियो, शब्द थिएन।
000
दिउँसोको एक बजे स्थापित फेरि नयाँ बानेश्वरस्थित अल्फा हाउसमा भेटिए। काठमाडौं महानगरपालिका–१० का मतदातासँगको अन्तरक्रिया कार्यक्रममा भने उनको बोली फुट्यो। कार्यक्रममा उपस्थित एमालेका उम्मेदवारले आफ्नो भन्दा बढी स्थापितको चर्चा गरे।
स्थापितका नाममा भइरहेको विवादलाई गलत र भाम्रक बनाइएको वक्ताहरुको दावी थियो। आफूहरुले स्थापितसँग वर्षौँसम्म सहकार्य गरेको सुनाउँदै विद्या उपाध्याय न्यौपानेले महिला अधिकारको नाममा स्थापितलाई 'पुलडाउन' गर्ने काम भएको आरोप लगाइन्। वडा नम्बर १० बाट अध्यक्षमा उम्मेदवारी दिएका अशोक कार्कीले स्थापितमाथिको महिला हिंसाको आरोप गलत भएको बताए। कार्यक्रम सञ्चालकदेखि उपस्थित मञ्चमा बसेका सबैले स्थापितलाई निर्दोष रहेको दाबी गरिरहे।
कार्यक्रममा बोल्ने पालो आएपछि स्थापितले माइक अघि पर्नासाथ भने, ‘यहाँ प्रमाण बिना बोल्न रोक्न पर्छ। मैले प्रमाण बोकेर आएको छु।’
स्थापितको अन्तर्क्रिया कार्यक्रम।
उनले बोलिरहँदा कार्यक्रम स्थलमा रश्मिला प्रजापतिले लगाएको यौन दुर्व्यवहारको खण्डन छापिएको कागजात बाँडियो। उक्त कागजमा लेखिएको थियो, ‘रश्मिला प्रजापतिलाई आर्थिक अनियमितता गरेका कारण सेवाबाट हटाइएको प्रमाण फेला परेको छ।’
कागजको दोस्रो हरफमा लेखिएको छ, ‘कामपाको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रममा शाखा अधिकृतका रुपमा कार्यरत प्रजापतिले गरेको आर्थिक हिनामिना र अनियमितताको समम्बन्धमा छानबिन गर्न व्यवस्था गरिएको समितिको प्रतिवेदनका आधारमा उनलाई हटाइएको कामपाको उच्च स्रोतको दाबी छ।’ स्थापितले उपलब्ध गराएको प्रमाण भनिएको कागजको पछिल्लो पानामा तत्कालीन पदाधिकारीको हस्ताक्षरसहितको छोटो विवरण प्रतिलिपि गरिएको छ।
मञ्चमा धेरै समय आरोपित महिलाको खण्डन गर्न समय खर्चिएका उनले आफ्नो इन्टेन्सन नभएर बोल्ने शैली नै यस्तो भएको बताउँदै भने, ‘मैले यही मञ्चबाट माफी मागेँ।’
स्थापितले आफू ती महिलासँग सम्पर्कमै नरहेको दाबी गरे। पछिल्लो समय आफूमाथिको विवादमा स्पष्टीकरण दिदै उनले भने, ‘रश्मिला प्रजापतिको विषयमा मलाई धेरै थाहा छ। तर सबै कुरा सार्वजनिक गरे उहाँले आत्महत्या गर्न सक्नुहुन्छ।’ आफूलाई कमलको फूल अनि आरोपित जति हिंस्रक बाँदर भएको उनको आरोप थियो।
‘मेरो खोट छैन, दोष छैन। महिलाका मामिलामा उनीहरु ठूलो स्वरले कराएपछि त्यो महिला हिंसा भै हाल्ने रैछ। महिलाले चाहिँ चिथोर पनि हुने हुने रैछ, पछाडिबाट चढेपनि हुने रैछ। महिलाले ढुङगाले हाने पनि हुने रैछ, यसो ठूलो आँखा पारेर हेरेपनि महिला हिंसा भन्ने? ठूला आँखा पारेर हेर्दा बलात्कार गर्यो भन्ने?,’ स्थापितले भने।
यसअघिको कार्यक्रममा आफूमाथि महिलाले गरेको प्रश्न अमानवीय भएको स्थापितको जिकिर थियो। उनले ठ्ठौली शैलीमा भने, ‘अनुहार राम्रो छ। थुतुनो भएन है भनेको हो। मेरो बोलि नै त्यहि हो। दुई वर्ष कालभैरवको अभ्यास गरेको मेरो लवजमा त्यो देखिएन भने त हेप्छ नि त। मेलै त आफूमाथिको प्रहार छेकेको हो। करातेसमेत सिकेको मान्छे म। मैले छेक्दामा यस्तो हुन्छ। हान्यो भने कस्तो हुन्छ?’
मञ्चमा धेरै समय आरोपित महिलाको खण्डन गर्न समय खर्चिएका उनले आफ्नो इन्टेन्सन नभएर बोल्ने शैली नै यस्तो भएको बताउँदै भने, ‘मैले यही मञ्चबाट माफी मागेँ।’
स्वतन्त्र उम्मेदवार तथा प्रतिस्पर्धी बालेन शाहप्रति समेत उनको आक्रोश रह्यो। शाहले र्यापको नाममा अझ बढी महिला हिंसा गरेको आरोप उनको थियो। ‘नयाँ मान्छे राजनीतिमा आएको गजब भयो नि! तर, र्यापको नाममा विकृति र महिला हिंसा त उहाँले गर्नु भएको छ। अब सबै कुरा गर्न अनि र्याप भनेर छोप्ने?’
उनले कांग्रेसबाट प्रमुखको उम्मेदवारी सिर्जना सिंहको समेत आलोचना गरेका थिए। कार्यक्रमको अन्तिममा उनले सहर विकासको योजना सुनाए। काठमाडौंलाई सफा राख्न काठमाडौं छिर्ने ठाँउमै यातायात शुद्धीकरणदेखि विदेशमा रहेका युवालाई काठमाडौंमै रोजगार उपलब्ध गराउने र प्रतिभावान युवाको व्यक्तित्व विकासका लागि फोरमको विकास गर्ने योजना उनले सुनाएका थिए।