मंगलबार, कात्तिक ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गठबन्धनलाई भर्‍याङ बनाएर शक्ति विस्तार गर्दै कांग्रेस

द्वन्द्वकालमा होस् वा शान्ति प्रक्रियामा आएपछि नै किन नहोस् माओवादीले रुकुम, रोल्पासहित छिमेकी जिल्लालाई आफ्नो आधार इलाका दाबी गर्छ।
 |  बुधबार, वैशाख २१, २०७९
nespernesper

दिलीप कुँवर

दिलीप कुँवर

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- माओवादी द्वन्द्वको उद्‌गम थलो मानिने रोल्पा र रुकुमका छिमेकी जिल्लाका स्थानीय तहमा दलहरुको घरदैलो अभियान चलिरहेको छ। खासगरी माओवादी बलियो मानिएको ती जिल्लामा पाँच दलीय सत्ता गठबन्धनलाई भर्‍याङ बनाउँदै नेपाली कांग्रेसले आफ्नो शक्ति विस्तारको प्रयास गरिरहेको छ। 

triton college

द्वन्द्वकालमा होस् वा शान्ति प्रक्रियामा आएपछि नै किन नहोस् माओवादीले रुकुम, रोल्पा र छिमेकी जिल्लालाई आफ्नो आधार इलाका दाबी गर्छ। कस्ताे छ त जिल्लामा चुनावी तयारी र तालमेलको अवस्था?

प्यूठानमा पुरानै अनुहारको प्रतिस्पर्धामा 

रोल्पासँग सीमा जोडिएको जिल्ला हो, प्युठान। १ लाख ५९ हजार ३४६ मतदाता रहेको प्युठानमा २ नगरपालिका र ७ वटा गाउँपालिका छन्। स्थानीय तहमा आवश्यकता हेरेर सत्ता गठबन्धनका दलहरुले तालमेल गरेका छन्। यसपटकको चुनावमा कतै नयाँ अनुहार प्रतिस्पर्धामा छन् भने अधिकांश ०७४ को निर्वाचनमा देखिएका अनुहार अहिले पनि दोहोरिएका छन्। 

जिल्लाका ९ पालिकामध्ये एमालेले एउटा नगरपालिकासहित दुई गाउँपालिकामा जित हात पारेको थियो। एमालेले जित निकालेका यी पालिकामा अहिले गठबन्धन जसरी पनि नेतृत्व आफ्नो पोल्टामा पार्ने दाउमा छ। यी पालिकामा एमाले एक्लै ५ दलीय गठबन्धनको सामना गर्दैछ।

Metro Mart
vianet

त्यतिबेला स्वर्गद्वारी नगरपालिकामा एमालेका नेत्रबहादुर रोकाले जित निकालेका थिए भने उनका प्रतिद्वन्द्वी  थिए, कांग्रेसका टेकप्रसाद भण्डारी। भण्डारी अहिले पनि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन्। एमालेले भने यसपालि रामप्रसाद श्रेष्ठलाई अघि सारेको छ। यस नगरपालिकामा जित आफ्नो पक्षमा रहेको भण्डारी र श्रेष्ठको आ-आफ्नो दाबी छ। 

एमालेको नेतृत्वमा पाँच वर्षमा नगरपालिकाको मुहार फेरिएको श्रेष्ठको दाबी छ। उनी भन्छन्, ‘अघिल्लो कार्यकाल एमालेले नै नेतृत्व गरेको थियो। यो पाँच वर्षमा सडक र विकास निर्माणमा के-के परिवर्तन भए भन्ने कुरा यहाँका जनताले थाहा पाइसकेका छन्। नगरपालिकाको विकासको साक्षी जनता छन्। त्यसैले हाम्रो जित हुनेमा हामी ढुक्क छौं।’ 

त्यसो त गठबन्धनका उम्मेदवार भण्डारीले पनि आफूहरुको जित सुनिश्चित रहेको दाबी गरेका छन्। उनले भने, ‘पाँच दलका मतदाताको संख्या एमालेको भन्दा दोब्बर छ। नतिजा देखिनुअघि नै एमालेले जित्छु भन्‍नु मूर्खता मात्रै हो, जित हाम्रो नै हुन्छ।’ 

सरुमारानी गाउँपालिकामा भने एमालेका उम्मेदवार दोहोरिएका छन्। ०७४ सालको निर्वाचनमा एमालेका झगबहादुर विश्वकर्मा विजयी भएका थिए। अहिले पनि एमालेले उनैलाई अघि सारेको छ। अघिल्लो निर्वाचनमा उनका प्रतिद्वन्द्वी माओवादीका डोरबहादुर दर्लामी थिए। अहिले भने गठबन्धनले कांग्रेसका मुकुन्दराज शर्मालाई अघि सारेको छ। 

माण्डवी गाउँपालिकामा पनि एमालेले श्रीधर रोकायालाई दोहोर्‍याएको छ। त्यतिबेला रोकायाले माओवादी केन्द्रबाट उम्मेदवार बनेका नवराज अधिकारीलाई १२ मतले मात्र पराजित गरेका थिए। अहिले गठबन्धनले उनै अधिकारीलाई अघि सारेको छ। ०७४ सालको निर्वाचनमा उम्मेदवार रहेका रोकाया र अधिकारीबीच यसपालि पनि प्रतिस्पर्धा हुनेछ। यहाँ विप्लव नेतृत्वको नेकपाले पनि गठबन्धनलाई सहयोग गर्ने जनाएको छ। 

अन्य पालिकामा कतै कांग्रेस र राष्ट्रिय जनमोर्चा, कतै माओवादी र कांग्रेसबीच गठबन्धन भएको छ। ऐरावती, मल्लरानी र झिमरुकमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ। प्युठान नगरपालिका, गौमुखी र नौबहिनी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ। 

मल्लरानीमा गाउँपालिका अध्यक्षको लागि राजमोबाट कृष्ण खड्का र उपाध्यक्षको लागि कांग्रेसबाट रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। त्यस्तै माओवादी केन्द्रबाट अध्यक्षमा टिएस गुरुङ र उपाध्यक्षमा रुकमणि भटराई उम्मेदवार छन्। 

गौमुखीमा अध्यक्षको लागि कांग्रेसबाट विष्णुकुमार गिरी र उपाध्यक्षमा माओवादीका महाबिर रानाको उम्मेदवारी छ। 

अर्घाखाँचीमा नेकपा एस वडामा सीमित

करिब १ लाख २५ हजार मतदाता रहेका अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपालिका छन्। यहाँका अधिका‌श स्थानीय तहमा ०७४ सालको निर्वाचनमा प्रतिस्पर्धी बनेका उम्मेदवारहरु नै फेरि चुनावी मैदानमा छन्। 

सन्धिखर्क नगरपालिकामा यसअघि कांग्रेसका कमलप्रसाद भुसाल विजयी भएका थिए। त्यतिबेला उनका प्रतिद्वन्द्वी थिए, एमालेका कृष्णप्रसाद श्रेष्ठ। श्रेष्ठ अहिले पनि एमालेबाट उम्मेदवार छन्। अघिल्लो पटक व्यहोरेको हारको बदला लिने तयारी श्रेष्ठको छ। उनी भन्छन्, ‘यो पाँच वर्षमा यहाँ एमालेका मतदाता धेरै बढिसकेका छन्। यसपालिको जित हाम्रै पक्षमा आउँछ।’

शिक्षा र कृषि क्षेत्रमा आफूहरुसँग केही नयाँ योजना रहेको र नेतृत्व लिएपछि ती योजनालाई कार्यान्वयनमा ल्याउने उनले बताए। ‘शिक्षा र कृषि क्षेत्रमा कायापलटका लागि केही योजनाहरु छन् हामीसँग। ती योजना कार्यान्ववयनमा ल्याएर जनताको जीवनस्तरमा धेरै सुधार ल्याउन सक्छौं,’ उनले भने।  

गठबन्धनले भने कांग्रेसकी शान्ता भण्डारीलाई अघि सारेको छ। भण्डारीले अघिल्लो कार्यकालमा बनाएका योजना कार्यान्वयन गर्न बाँकी रहेका कामहरुलाई आफूले पूरा गर्ने उनको तर्क छ। उनले भनिन्, ‘यो मेरो लागि ठूलो अवसर पनि हो, यहाँ जनताको आवश्यकताहरुलाई सम्बोधन गरेर सकभर खुसी बनाउने प्रयास गर्नेछु।’ 

उपप्रमुखमा माओवादी केन्द्रका राजेन्द्र भुसालले उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै शीतगंगा नगरपालिकामा पनि अघिल्लो चुनावमा प्रतिस्पर्धी बनेका उम्मेदवार दोहोरिएका छन्। ०७४ को चुनावमा नेपाली कांग्रेसका सूर्यप्रसाद अधिकारीले एमालेका उम्मेदवार वसन्त श्रेष्ठलाई पराजित गरेका थिए। श्रेष्ठ अहिले पनि एमालेबाटै उम्मेदवार छन् भने गठबन्धनले छविलाल पौडेललाई अघि सारेको छ। उपप्रमुखमा माओवादी केन्द्रका टीका रेश्मीको उम्मेदवारी दर्ता भएको छ।

भूमिकास्थान नगरपालिकामा भने राष्ट्रिय जनमोर्चा आफ्नो अस्तित्व सुरक्षित राख्‍ने दाउमा छ। गठबन्धनले राजमोका धविलाल थापालाई नगर प्रमुखको लागि उम्मेदवार बनाएको छ। त्यस्तै विपक्षी दल एमालेबाट रेशम थापा उम्मेदवार छन्। यहाँ उपप्रमुखको लागि गठबन्धनबाट माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले उम्मेदवारी दर्ता गराएका छन्। 

जिल्लाका अधिकांश स्थानीय तहमा सत्ता गठबन्धनको जसपा बाहेकका चार दलबीच गठबन्धन छ। पालिका र वडाहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिएका छन्। एकीकृत समाजवादीले भने कुनै पनि स्थानीय तहमा प्रमुख र उपप्रमुख पाएको छैन। उसले वडा तहमै चित्त बुझाएको छ। 

पाणिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसबाट क्रमशः अच्युत गौतम र लक्ष्मी गौतमको उम्मेदवारी छ। मालारानी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका पदम क्षेत्री र उपाध्यक्षमा शोभाखर खनालको उम्मेदवारी दर्ता भएको छ। छत्रदेव गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट चन्द्रमान श्रेष्ठ र उपाध्यक्षमा इन्दिरा भुसालको उम्मेदवारी छ।

गुल्मीमा कांग्रेस हाबी
गुल्मीमा दुईवटा नगरपालिका र १० वटा गाउँपालिका छन्। २०७४ को स्थानीय निर्वाचनमा १२ तहमध्ये ७ वटामा कांग्रेसले नेतृत्व हात पारेको थियो। 

यसपालि कांग्रेसले ८ र माओवादी केन्द्रले ४ वटा स्थानीय तहमा प्रमुखका उम्मेदवार खडा गर्ने सहमति छ। नेपाली कांग्रेसको भागमा परेको १ स्थानीय तहको नेतृत्व भने नेकपा एकीकृत समाजवादीलाई दिने पछि सहमति भएको हो।  

एमालेले रेसुङ्गा नगरपालिकाको प्रमुखमा राजेन्द्र पाण्डे र उपप्रमुखमा रीता पाण्डेलाई अघि सारेको छ। प्रमुखका उम्मेदवार पाण्डेले गठबन्धनसँग रोचक प्रतिस्पर्धा हुने बताएका छन्। नगरपालिकामा रहने जनताले विकासको लागि एमाले नै रोजेको उनको तर्क छ। उनले भने, ‘अस्थिर राजनीतिले भोग्‍नुपर्ने दुःख यहाँका जनताले भोगिसकेका छन्। अब पाँच वर्षको नेतृत्व हामीले नै गर्छौं, जनताका खुसी फर्काउने प्रयास गर्छौं।’ 

त्यस्तै गठबन्धनले पनि यहाँ कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीलाई प्रमुख र अमृता कुँवरलाई उपप्रमुखमा अघि सारेको छ। पन्थीले पनि अबको नेतृत्व आफूहरुले नै गर्ने ठोकुवा गरेका छन्। उनले भने, ‘यहाँका सडक, स्वास्थ्य, कृषि, विद्यालय दरबन्दी, प्रशासनिक सेवालगायतमा प्रशस्त समस्या र बेथितिहरु छन्। त्यसको समाधान हामी सजिलै गर्न सक्छौं, जनताको विश्वास घट्न दिँदैनौं।’ यहाँ माओवादी केन्द्रले वडा सदस्यमै चित्त बुझाएको छ। 

मुसिकोट नगरपालिकामा एमालेले जीवन खरेललाई प्रमुख र गंगा श्रेष्ठलाई उपप्रमुखमा अघि सारेको छ। त्यस्तै कालीगण्डकी गाउँपालिका अध्यक्षका लागि रामजी ढकालले उम्मेदवारी दिएका छन्। सत्यवती गाउँपालिकामा पनि अध्यक्षमा एमालेबाट टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया राहादी उम्मेदवार छन्। चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा चेतन बस्‍नेत र उपाध्यक्षमा यस अगाडिकै राधिका अर्याल पुनः प्रतिस्पर्धामा छन्। 

रुरु क्षेत्र गाउँपालिकामा अध्यक्षका लागि हिमाल श्रेष्ठ र उपाध्यक्षका लागि मिना गौतमको उम्मेदवारी छ। गुल्मी दरबार गाउँपालिकामा पनि अध्यक्षमा कृष्ण भुसाल र उपाध्यक्षमा सुशीला पुन उम्मेदवार हुन्। इश्मा गाउँपालिका अध्यक्षमा हीरा एसीको उम्मेदवारी छ। मालिका गाउँपालिकामा यस अगाडिकै अध्यक्ष रितबहादुर थापा छन् भने उपाध्यक्षमा रनमाया पुनको उम्मेदवारी छ। 

मदाने गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि प्रेम केसी र उपाध्यक्षमा यस अगाडिकै सरिता खड्काले उम्मेदवारी दर्ता गराएका छन्। मुसिकोटमा गठबन्धनबाट कांग्रेसका हरिनारायण सापकोटा र उपप्रमुखमा समाजवादीका नेता श्रीराम महत चुनावी मैदानमा छन्। 

मालिका गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीबाट देवीराम अर्याल अध्यक्ष र उपाध्यक्षमा काग्रेसका उपेन्द्र अर्यालको उम्मेदवारी छ। कालिगण्डकी र छत्रकोट गाउँपालिकामा कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ। दुवै पालिकामा कांग्रेसले प्रमुख र जनमोर्चाले उपप्रमुख पाएका छन्।

सत्यवती, चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिका कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ। सत्यवतीमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख पाएको हो। चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिकामा माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको छ। चन्द्रकोटको अध्यक्षमा माओवादीका युवराज केसी र उपाध्यक्षमा कांग्रेसबाट विष्णुप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन्। 

धुर्कोट गाउँपालिकामा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ। कांग्रेसले प्रमुख र समाजवादीले उपप्रमुखमा उम्मेदवारी दिएका हुन्। मदाने गाउँपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ। 

प्रकाशित: May 04, 2022| 13:40 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...