धरान- धरान नगरपालिकाको मेयरको दौडबाट जनता समाजवादी पार्टी (जसपा) पछि हटेको छ। सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै मेयर र उपमेयरमा उम्मेदवारी दिएको जजसपाले गठबन्धनका उम्मेदवारलाई सघाउन सहमत भएको हो।
केन्द्रको निर्देशनपछि मंगलबार जसपाले आफूले उठाएका मेयर र उपमेयरका उम्मेदवारलाई निष्क्रिय बनाउने भएको हो। उसले गठबन्धन उम्मेदवारलाई सघाउने सहमति गरेको छ। गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले मंगलबार लोकतान्त्रिक-वाम गठबन्धनका नाममा ८ बुँदे सहमति गरेर सार्वजनिक गरेका छन्।
गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राई र उपमेयरका उम्मेदवार अइन्द्र बिक्रम बेघा छन्। राई कांग्रेसका हुन् भने बेघा माओवादी नेता हन्। नेकपा एकीकृत समाजवादीले पनि यसअघि धरानमा दिएको मेयर र उपमेयरको उम्मेदवारी फिर्ता लिइसकेको छ।
सुनसरीकै अर्को उपमहानगरपालिका इटहरीमा मेयर र उपमेयरमा पनि जसपाले उम्मेदवारी निष्क्रिय बनाएर गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ।