बिहीबार, कात्तिक १२, २०८३

यसरी मत माग्दैछन् बागलुङका साना दलहरु

राष्ट्रिय जनमोर्चा सत्ता साझेदार (पाँच दलीय) गठबन्धनमा छ भने राप्रपा नेकपा (एमाले)सँग तालमेल गरेर स्थानीय तह चुनावको सामना गर्दैछ। राष्ट्रिय राजनीतिमा राजमोको हैसियत कमजोर भए पनि जिल्लामा भने उसको बलियो पकड छ।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

बागलुङ-  कोखिलामा झोला बोकेर नौबिसेटोलतिर लखरलखर हिँडिरहेका थिए, भक्तबहादुर विक। सोमबार बिहानपखको कुरा हो। उनी एक्लै बागलुङ बजारका चोक, गल्ली चहार्दै चुनावी पर्चा बाँडिरहेका थिए। समर्थक र प्रस्तावकधरी विकसँग थिएनन्, जसले मनोनयन दर्तामा सघाएका थिए।

‘गरिब, दुखी, उत्पीडितको पार्टी हो, हामीसँग को हुन्छ र? न खर्च गर्ने पैसा छ, न हाम्रापछि अरुकाझैँ कार्यकर्ता छन्’, उनले गुनासो बिसाए, ‘भ्याएसम्म घरघर पुगेको छु, बाटोमा भेटिनेसँग मत मागेको छु।’ विक नेपाल दलित पार्टीका तर्फबाट इनार चिह्न लिएर बागलुङ नगरपालिकाको प्रमुख पदमा चुनाव लड्दै छन्।

उनीसँग चुनाव चिह्न अंकित सानो पर्चा र प्रतिबद्धतापत्र मात्र साथमा छ। अरूथोक परैको कुरा एउटा झन्डासमेत छैन। उनले चुनावी प्रचारका लागि आफूसँग पैसा नभएको बताए।  ‘मानवता, श्रमिक समानता, लोकतन्त्र’ आर्दश वाक्य लिएर नेपाल दलित पार्टी चुनावमा होमिएको छ। छुवाछूत, भेदभाव, महिला हिंसाको अन्त्य, शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चिततासहित दिगो विकासका मुद्दा उसको प्रतिबद्धतापत्रमा उल्लेख छन्।

सो पार्टीले बागलुङ र ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिकालगायत स्थानीय तहमा आफ्ना उम्मेदवार उठाएको छ। ठूला दलहरूको आक्रामक चुनावी प्रचारबीच सामाजिक सञ्जाल र चिनेजानेका आफन्त, भाइसाथीसँग मत मागिरहनुभएका अर्का उम्मेदवार छन्, सुरज खड्का। उहाँ विवेकशील साझा पार्टीबाट बागलुङ नगरपालिकाको प्रमुख पदका लागि चुनावी मैदानमा छन्।

‘हामी त चुनावमा एक रुपैयाँ पनि खर्च गर्न सक्दैनौँ, सामाजिक सञ्जालबाट प्रचार गरिरहेका छौँ, चिनेजानेकालाई भेटेर अनुरोध गर्छौँ’, उनले भने, ‘ठूला पार्टीले जस्तो गर्नलाई हामीसँग संगठन पनि छैन, स्रोतसाधन पनि छैन।’ सो पार्टीले बागलुङ नगरपालिकाबाहेक यहाँका अन्य स्थानीय तहमा उम्मेदवार खडा गरेको छैन । ‘भ्रष्टचारमुक्त समाज निर्माण हाम्रो अभियान, समतामूलक समुन्नतिका लागि तराजुमा मतदान’को आह्वानसहित विवेकशील साझा पार्टी चुनावमा छ।

नेपाल कम्युनिस्ट पार्टी (माले)का केन्द्रीय सदस्य मञ्जु क्षेत्रीको भनाइ पनि विवेकशील साझाका खड्कासँग मिल्दोजुल्दो छ। मालेले क्षेत्रीलाई नै बागलुङ नगरपालिकाको प्रमुखमा उठाएको छ। अरू पदमा उसका उम्मेदवार छैनन्। ‘ठूला दलले जस्तो तामझाम, तडकभडक गर्ने स्थिति हाम्रो छैन, जे अवस्था छ, जे सकिन्छ त्यहीअनुसार चुनावी अभियानमा लागेका छौँ’, क्षेत्रीले भने, ‘पार्टीको विचार जनताकहाँ लैजाने अवसर पनि हो चुनाव, हामीले त्यसरी पनि हेरेका छौँ।’

चुनावी अभियानका नाममा धनराशि खर्च गर्ने ठूला दल र उम्मेदवारसँग साना दलको तुलना हुन नसक्ने उनको भनाइ छ। ‘पैसा खर्च गरेर भए पनि चुनाव जित्ने दाउमा ठूला दलहरु हुन्छन्, तर हामीसँग त्यस्तो केही छैन, विचार छ, योजना छन्, जनताले पत्याएर मत दिएछन् भने ठिकै छ, हेरौँ न।’

यीबाहेक मंगोल नेशलन अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायतका साना दल चुनावी प्रतिस्पर्धामा छन्। कुनै दल अरूसँग गठबन्धन गरेर चुनाव जित्ने दाउमा छन् भने कोही एक्लै मैदानमा छन्। राष्ट्रिय जनमोर्चा सत्ता साझेदार (पाँच दलीय) गठबन्धनमा छ भने राप्रपा नेकपा (एमाले)सँग तालमेल गरेर स्थानीय तह चुनावको सामना गर्दैछ। राष्ट्रिय राजनीतिमा राजमोको हैसियत कमजोर भए पनि जिल्लामा भने उसको बलियो पकड छ। 

गठबन्धनको साझा उम्मेदवारका रुपमा राजमोले जैमिनी नगरपालिकाको प्रमुख, वरेङ गाउँपालिकाको अध्यक्षलगायतमा प्रतिस्पर्धा गर्दैछ। यस्तै काठेखोला र बडिगाड गाउँपालिकामा उपाध्यक्ष पाएको छ। अरु स्थानीय तहमा पनि वडा तहसम्मै उसको उम्मेदवारी छ। राप्रपाले उपप्रमुख लिएर बागलुङ नगरपालिकामा एमालेसँग चुनावी तालमेल गरेको छ। राप्रपाले गलकोट नगरपालिकालगायतका स्थानीय तहमा पनि उम्मेदवारी दिएको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ढोरपाटन नगरपालिकासहित केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)ले भने चुनाव बहिष्कार गर्ने निर्णय यसअघि नै गरिसकेको छ। 

साना दलका बाहेक स्वतन्त्र ढ्रगले उठेका उम्मेदवार पनि आ–आफ्नै तौरतरिकाले मत माग्न व्यस्त छन्। प्रचारमा तामझाम गर्न नसके पनि चुनावमार्फत हुने लोकतान्त्रिक अभ्यासप्रति उनीहरु इमान्दार देखिन्छन्। ठूला दलका रंगीचंगी झण्डा, नाचगान र भीडसहितको प्रचारशैलीसामु साना दलको आवाज मधुरो छ। उनीहरु चुनावमा तडकभडक गर्न सक्दैनन्, तर मनका सफा छन्।   रासस

प्रकाशित: May 03, 2022| 12:10 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...