काठमाडौं- सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छन्।
निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने उनले बताएकी छन्।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग सोमबारको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयको लागि पहल गर्ने बताइन्। उनले भनिन्, 'निर्माण व्यवसायीका समस्या समाधानका लागि हामी गम्भीर छौं । सकारात्मक रूपमा समस्या समाधानको पहल खोजौं । निर्माणका काम रोकेर नबसौं।'
ठूला आयोजनामा म्याद थप्न समस्या नभए पनि साना आयोजनाको म्याद थपेर बस्दा नयाँ कार्यक्रमबारे अन्यौलता सिर्जना हुने उनले बताइन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहले मन्त्री झाँक्रीको तर्फबाट व्यक्त प्रतिक्रियाप्रति आफूहरू उत्साहित रहेको बताए।
उनले अन्य सम्बद्ध मन्त्रालयसँग पनि समन्वयका लागि पहल गरी दिन आग्रह गरे। अध्यक्ष सिंहले निर्माण सामग्रीमा भएको मूल्य वृद्धि समायोजन हुनुपर्नेमा जोड दिए।