काठमाडौं– वैशाख महिनामा नै नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक कार भित्रिने भएका छन्। केही समय अघिदेखि नै नेपाल आउने चर्चामा रहेका किया इभी ६ र बीवाईडी एट्टो ३ यही महिना भित्रमा नेपाल आउन लागेका हुन्।
किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले एक महिनाअघि नै आफ्नो वेबसाइटमा इभी ६ लाई सूचीकृत गरिसकेको थियो। सोहीअनुसार अबको १५ दिन भित्रमा नेपाली बजारमा कार आइसक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नेपाली बजारमा यसको जिटी लाइन भर्सनमात्र आउने छ। जुन नेपाली बजारमा उपलब्ध हालसम्मकै महँगो मूल्य मध्येको एक इभी हुनेछ।
किया इभी ६ मा ७७.४ किलोवाट लिथियम आयोन ब्याट्री जडान गरिएको छ। जुन एकपटक पूर्ण चार्ज गरेपछि ५ सय किलोमिटर भन्दा बढी यात्रा गर्ने कम्पनीले जनाएको छ। यसमा जडान गरिने १६८ किलोवाट पिएमएसएम डुअल मोटरले ५८५ बिएचपी पावर र ७४० एनएम टर्क जेनेरेट गर्न सक्ने बताइएको छ। यो कारलाई २६० किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिन्छ।
किया मोटर्सले यो इलेक्ट्रिक कारलाई ई–जिएमपी प्लेटफर्ममा निर्माण गरेको हो। १८ मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने यसको ब्याट्रीलाई जम्मा ४ मिनेट चार्ज गर्दा एक सय किलोमिटरसम्मको यात्रा तय गर्न सकिन्छ।
आयोनिक ५ मा जस्तै यसमा पनि भेइकल टु लोड फंक्सन दिइएको छ। जसको सहायतामा ३.६ किलोवाट क्षमतासम्मको अन्य इभीलाई चार्ज गर्न अर्थात सोही क्षमता वरावरको अन्य इलेक्ट्रोनिक सामान चलाउन सकिन्छ।
साथै यसमा १२.३ इन्चको हाइटेक इन्फोटेन्मेन्ट सिस्टम, १२.३ इन्चकै फुल डिजिटल मिटर, अटोमेटिक डुअल जोन एसी, भेन्टिलेटेड सिट, १९ इन्चको एरो डाइनामिक एलोय ह्विल्स, रिजेनेरिटिभ ब्रेकिङ, हेड अप डिस्प्ले, एड्भान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम र स्पिड डेटा एन्ड टर्न वाई टर्न नेभिगेसन लगायत अन्य थुप्रै आधुनिक फिचर्स दिइएको छ। यो इलेक्ट्रिक कारको मूल्य १ करोड २० लाख हाराहारीमा पर्न सक्ने अनुमान रहको छ।
यसैगरी विवाइडी आयातकर्ता साइमेक्स इंकले पनि वैशाख महिनाभित्र एट्टो ३ मोडल लन्च गरिसक्ने जनाएको छ। केही दिनभित्रै यसको केही युनिट नेपाल आइसक्ने र लगत्तै बुकिङ खुल्ला गर्ने तयारीमा रहेको कम्पनीले जनाएको छ।
बीवाईडी एटो ३ चीन र अन्तर्राष्ट्रिय बजारमा बीवाईडी युआन प्लस वा ए को नामले बिक्री भइरहेको छ। यो ५०.१ र ६०.४ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध रहँदै आए पनि नेपालमा भने ठूलो ब्याट्री प्याक भएको मोडल आउने बताइएको छ। यो कारमा पछिल्लो सयम अन्तर्राष्ट्रिय रुपमै लोकप्रिय बन्दै गएको ब्लेड ब्याट्री जडान गरिएको छ। यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ। ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिब ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ। यसले सिंगल चार्जमा ४२० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।
यसको अघिल्लो भागमा इन्टिग्रेटेड डीआरएल सहितको एलईडी हेडलाइट र पछिल्लो भागमा होरिजन्टल लाइट बारसँग जोडिएको एलईडी टेललाइट छ। भित्री भागमा १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जुन एप्पल कारप्ले र एन्ड्रोइड अटो कम्प्याटिबल छ। त्यसैगरी सिन्थेटिक लेदर अपहोल्स्टर्ड सिट, इलेक्ट्रिक पावर असिस्टेड स्टेयरिङ ह्विल र ५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ।
सुरक्षा र सहजताका लागि यसमा अटोमेटिक सिंगल जोन एयर कन्डिसनर, सिक्स–वे एडजस्टेबल ड्राइभर सिट, फोर–वे एड्जस्टेबल को–ड्राइभर सिट, वायरलेस फोन चार्जर, १२ भोल्ट सकेट, किलेस इन्ट्री र किलेस स्टार्ट, ३६० भ्यु क्यामेरा तथा वान टन ओपन र क्लोज टेलगेट जस्ता सुविधा उपलब्ध छन्।
सेफ्टी फिचरको रुपमा यसमा फ्रन्ट तथा रियर एयरब्याग, ईपीएस सहितको एबीएस, हिल डिसेन्ट कन्ट्रोल, सिट बेल्ट रिमाइन्डर, ट्रयाक्सन कन्ट्रोल सिस्टम, आइसोफिक्स र टायर प्रेसर मोनिटरिङ सिस्टम आदि उपलब्ध गराइएको छ। एट्टो थ्रीको मूल्य नेपाली बजारमा ५५ लाख हाराहारीमा पर्ने आकलन गरिएको छ।