जाजरकोट- बर्सेनि वर्षायाम सुरु हुने बित्तिकै पहिरोको डरले ओलगुत्ताकाका बासिन्दालाई घर छाडेर छिमेकी जिल्ला जानुपर्ने बाध्यता छ। स्थानीय नलगाड नगरपालिका-१३ ओलगुत्ताका बासिन्दा वषौँदेखि यसरी नै बसोबास गर्दै आएका हुन्।
असार, साउन र भदौ महिनामा करीब ५० घरधुरीका बासिन्दा आफ्नो घर र जग्गा छाडेर जीवन बचाउन रुकुम आठबीसकोट नगरपालिकाको वडा नं ६ मा बस्दै आएका छन्। पानी पर्ने बित्तिकै घरमाथि रहेको ठूलो पहाडबाट ढुंगा खस्ने र पहिरो आउने डर भएकाले घर छाड्न बाध्य हुनुपरेको स्थानीय तेजबहादुर विकले बताए। यस ठाउँमा पटक-पटक पहिरो आएर एकदर्जन मानिसको मृत्यु भइसकेको छ।
पहिरोका कारण यहाँका बासिन्दाले घाँस, दाउरा गर्न र घरपालुवा जनावरलाई चरनका लागि लैजान पनि डराउने गरेको उहाँको भनाइ थियो। जोखिममा रहेका यो बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्न कुनै पहल नहुँदा उनीहरू बर्सेनि घर छोड्न बाध्य भएका हुन् पानी नपरेको समयमा दिउँसो गएर घरको काम गर्ने तर सुत्न भने रुकुम नै आउने गरेको अर्का स्थानीय शुक्रराज सिंहले जानकारी दिए।
यहाँ रहेको स्वास्थ्य संस्था र विद्यालयसमेत माथि रहेको पहाडबाट पहिरो आउँछकी भनेर हेर्दै काम गर्नुपरेको शिक्षक भोलीप्रसाद विष्टले पिडा सुनाए। सञ्चार सेवासमेत भरपर्दो नभएको यस ठाउँमा कतिबेला के हुन्छ भन्न नसकिने उको भनाइ थियो। भेरी नदीको किनारमै रहेको यो बस्ती जाजरकोटको अति विकट स्थान मानिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४