शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चमा एआईजी पोखरेल– जसलाई फूली लगाइदिएँ, उसैलाई सेल्युट गर्न सक्दिनँ

सर्वोच्चमा एआईजी पोखरेल– जसलाई फूली लगाइदिएँ, उसैलाई सेल्युट गर्न सक्दिनँ

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले जसलाई आफूले एआईजीको फूली लगाइदिए, उसैलाई आईजीपी मानेर सेल्युट गर्न नसक्ने संकेत गरेका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं– नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले जसलाई आफूले एआईजीको फूली लगाइदिए, उसैलाई आईजीपी मानेर सेल्युट गर्न नसक्ने संकेत गरेका छन्। सोमबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा उनले आफूभन्दा डेढ वर्ष जुनियर एआईजीलाई आईजीपी मानेर काम गर्न नसक्ने स्पष्ट संकेत गरेका हुन्। 

National life

बुधबार सुनुवाइ हुने भनिएको यो रिटमार्फत उनले अहिलेको सरकारको आईजीपी बढुवा प्रक्रिया गैरकानुनी भएको भन्दै आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा गरी नियुक्त गर्न माग गरेका छन्। 

‘विपक्षी धिरज प्रताप सिंह ०७९ वैशाख १७ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएपश्चात म निवेदकले निज विपक्षीलाई जेष्ठ सदस्यको हैसियतले दर्ज्यानी चिन्ह समेत सुशोभन गरेको र प्रहरी अतिरिक्त महानिरीक्षकको रुपमा म निवेदकले कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानवश्रोत विकास विभाग र प्रशासन विभाग समेत ४ वटा विभागमा गरी करिव १७ महिना लामो थप उच्चतम स्तरको नेतृत्व (कमाण्ड) गरेको अनुभव छ भने विपक्षी धिरज प्रताप सिंहको प्रहरी अतिरिक्त महानिरीक्षक दर्जामा १ महिनाको मात्र कार्य अनुभव छ,’ पोखरेलले अदालतमा दर्ता गरेको रिटमा उल्लेख छ। 

सबै तथ्यहरु र कार्यकुशलता, कार्यक्षमता र नेतृत्व क्षमता आधारमा आफू नवनियुक्त आइजिपी सिंह भन्दा धेरै अव्वल र उत्कृष्ट रहेको उनको दाबी छ। नेपालको संविधानको धारा ४६ तथा १३३ (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश लगायत उपयुक्त आज्ञा आदेश जारी गर्न माग गर्दै उनले दायर गरेको रिटमा प्रहरी नियमावली, २०७१ को नियम ४१ ले निर्दिष्ट गरेको ६ वटा मापदण्डहरुको आधारमा मूल्यांकन गर्दा पनि आफू धेरै अगाडी रहेको उल्लेख गरेका छन्।

‘म निवेदक मिति २०७७ मंसिर २४ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएको हुँ भने विपक्षी धिरज प्रताप सिंह तेश्रो लटमा मिति २०७८ चैत्र १७ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका हुन्,’ रिटमार्फत उनले भनेका छन्, ‘यसरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा म निवेदक विपक्षी धिरज प्रताप सिंह भन्दा करिव १७ महिना सिनियर छु। प्रहरी नियमावली, २०७१ को नियम ४१ ले प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक मध्येबाट नियुक्ति गरिने व्यवस्था छ। जसको अर्थ एउटै मितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भई समान अवधि जिम्मेवारी सम्हालेका मध्येबाट भन्ने हो। तर यसको गलत व्याख्या गरी १८ महिना पहिले प्रहरी अतिरिक्त महानिरीक्षकक पदमा बढुवा भएको म निवेदक र १ महिना मात्र पूरा भएको विपक्षी धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा समान रुपमा हेरिनु संविधान, कानून र प्राकृतिक न्यायको सिद्धान्त विपरित छ।’

Shivam cement

सिंहको भन्दा आफूले धेरै पुरस्कार तथा प्रशंसापत्र पाएको पनि पोखरेलको तर्क छ। ‘प्रहरी ऐन तथा नियमावलीले तोकेको सबै मापदण्ड र आधारहरुमा मभन्दा कमजोर देखिएका सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने गरी भएको निर्णय प्रथम दृष्टीमै गरैकानुनी र स्वेच्छाचारी छ,’ उनको रिटमा उल्लेख छ, ‘यसरी प्रचलित प्रहरी नियमावली, २०७१ को नियम ३० तथा नियम ४१ बमोजिमका आधारहरुमा म निवेदक सर्वोत्कृष्ट रहेको र कार्यसम्पादन मूल्यांकनमा समेत म निवेदकले उच्चतम अंक प्राप्त गरेको भएतापनि पूर्वाग्रह राखि म भन्दा कम अंक प्राप्त गरेको र कम योग्य व्यक्तिलाई बढुवा गरिएकोले सो बढुवा निर्णय बदर गरी विपक्षी भन्दा योग्यतम र अधिकतम अंक प्राप्त गर्ने म निवेदकलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नु गराउनु भनी परमादेश लगायतको आदेश गरी पाऊँ।’



प्रकाशित: May 02, 2022| 17:02 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।