काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन्।
आन्तरिक उत्पादन बढाउन र आन्तरिक माग धान्न पर्याप्त वस्तु उत्पादन गर्न आवश्यक सुविधा दिनका लागि सरकार तयार रहेको उनले बताए। नेपाल आत्मानिर्भर बन्न सक्ने उत्पादनको सुची र त्यसमा सरकारले गर्नुपर्ने सहजिकरण बारे बुँदागत सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरे।
उद्योग वाणिज्य महासंघले आगामी बजेट निर्माणका लागि सुझाव दिनका लागि आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन्। चालु आर्थिक वर्षको ९/१० महिनामा नै कृषिजन्य वस्तु करिब ३ खर्बको आयात भएकोले यसलाई प्रतिस्थापन गर्ने गरी सरकारले बजेट ल्याउने तयारी गरिरहेको उनले सुनाए।
कृषिमा आधारित अर्थतन्त्रलाई उद्यमसँग जोड्नगरी आफ्ना व्यवसायीक गतिविधि अगाडी बढाउन उद्योगी व्यवसायीलाई सुझाब दिएका छन्। कोभिड १९ तथा युक्रेन र रुसबीचको युद्धले नेपाललाई आत्मानिभर्भर बन्नका लागि प्रत्साहित गरेको अर्थमन्त्रीको भनाई थियो ।
'देशमा आत्मानिर्भर र ब्यापारघाटा घटाउन हामी तयार छौं। हाम्रो कुन कुन उद्योगमा कच्चा पदार्थमा कर लाग्दा असर गर्यो भन्ने ठ्याक्कै भन्नुहोस । राष्ट्र निर्माण र देश विकासका लागि आम व्यवसायी र जनताको सहभगिताका आधारमा प्रविधि जोडेर गर्ने विकासको आवश्यकता हामीलाई छ', उनले भने।
व्यवसायीलाई अनुकुल परिस्थिति निर्माण गरी उद्योगी व्यवसायीलाई उद्यम गर्ने बतावरण निर्माणका लागि सरकार तयार रहेको मन्त्री शर्माले बताए।
'नेपालको उत्पादित वस्तुले आन्तरिक माग पुरा हुनुपर्यो। उत्पादनमा आधारित अर्थतन्त्र निर्माणका लागि नेपालको कच्चा पदार्थको उपयोग गरी बनाउन सक्नुपर्छ। अर्थतन्त्र विकास सबैको साझा प्रयास भएको र यसलाई सबै मिलेर विकास गर्नुपर्छ', उनले भने।
केहि अराजक तत्वहरुले देशको विकास र निर्माणमा बाधा पुर्याउने गरेकाले त्यसप्रति सचेत हुनुपर्ने उनको भनाई थियो।