सप्तरी- स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गएपछि विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरू योजना बैठक, भेला, कोणसभामा व्वयस्त हुन थालेका छन्।
सप्तरीमा उम्मेदवारी दर्ता गरेका २३ दलका उम्मेदवार प्रतिबद्धतापत्र र निर्वाचन चिह्नसहित घरदैलोमा पुग्नुका साथै कोणसभामा व्यस्त हुन थालेका छन्। सप्तरीमा सूचीकृत ३४ राजनीतिक दलमध्ये ११ दलको उम्मेदवारी नपरेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ। केही दलले ठूला पार्टीको चुनाव चिह्नबाट उम्मेदवारी दर्ता गराएको राजविराज वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार दीपककुमार दासले बताए।
सप्तरीमा उम्मेदवारी दिने २३ राजनीतिक दलमध्ये १९ दलले मात्र पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन्। निर्वाचन कार्यालयले दिएको तथ्याङ्कअनुसार सप्तरीमा सबै नगरपालिकाको प्रमुख, उपप्रमुख र गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा उम्मेदवारी दिने तीन दल मात्र रहेका छन्। जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीका अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टीले मात्र सप्तरीको १८ वटै स्थानीय तहको प्रमुख दुई पदमा उम्मेदवारी दिएका छन्।
जनता समाजवादी पार्टी नेपालले सुरुङ्गा नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएको छैन। त्यस पालिकामा नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन रहेको जसपा सप्तरीका कोषाध्यक्ष वृजमान तामाङले बताए। लोकतान्त्रिक समाजवादी पार्टीले सप्तकोशी र हनुमाननगर कंकालिनी नगरपालिका, अग्नीसाइर कृष्णसवरन गाउँपालिकाको दुवै पद र बलान बिहुल गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिन सकेको छैन।
सप्तरीमा लोसपाको कुनै पार्टीसँग गठबन्धन नरहेको र आवश्यक तयारीका अभावमा तीन वटा पालिकाको प्रमुख पदमा उम्मेदवारी दिन नसकिएको लोसपाका केन्द्रीय नेता जयप्रकाश ठाकुरले बताए।
माओवादी केन्द्रले चार पालिकामा प्रमुख पदमा उम्मेदवारी दिन सकेको छैन। सुरुङ्गामा जसपाको भागमा प्रमुख र खडक नगरपालिकामा एकीकृत समाजवादीको भागमा उपप्रमुख दिएर गठबन्धन गरेको माओवादीको अन्य पालिकामा गठबन्धन भएको छैन।
कञ्चनरुप र सुरुङ्गा नगरपालिका, राजगढ गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी नदिएको माओवादीको तर्फबाट रुपनी गाउँपालिकामा अरुणकुमार साहले दिएको मनोनयन रद्द भएको छ। मतदाता परिचय पत्र भए पनि मतदाता नामावलीमा नाम नभएका कारण साहको मनोनयन रद्द भएको पार्टी नेता किरण जायसवालले जानकारी दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ पालिका प्रमुखमा र १० पालिकाको उपप्रमुख÷उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छ। राप्रपाले बोदे बर्साइन नगरपालिका तथा राजगढ, रुपनी र महादेवा गाउँपालिकामा दुवै मुख्य पदमा उम्मेदवारी दिन सकेको छैन। खडक नगरपालिकाको उपप्रमुखमा तथा विष्णुपुर र अग्नीसाइर कृष्णसवरन गाउँपालिकाको उपाध्यक्षमा राप्रपाको उम्मेदवारी परेको छैन।
नेकपा (एकीकृत समाजवादी) को १२ पालिकाको प्रमुखमा र १० पालिकाको उपप्रमुख/उपाध्यक्ष पदमा मात्र उम्मेदवारी परेको छ। डाक्नेश्वरी, हनुमाननगर कंकालिनी नगरपालिका तथा राजगढ र तिरहुत गाउँपालिकाको दुवै मुख्य पदमा नेकपा (एस)को उम्मेदवारी परेको छैन।
खडक नगरपालिकाको प्रमुखमा, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा, रुपनी, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एस)को उम्मेदवारी परेको छैन। राजविराज नगरपालिकामा उपप्रमुखमा मनोनयन दिनुभएकी ममता चौधरी गत विसं २०७४ को निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट समानुपातिक बन्दसूचीमा रहेका कारण नाम दर्ता हुन पाएनन्।
एउटै व्यक्ति एकभन्दा बढी निर्वाचनमा उम्मेदवार हुन नसक्ने मान्यताका आधारमा बन्द सूचीमा नाम रहेसम्म उम्मेदवार बन्न नपाउने आयोगले पहिले नै जनाएको थियो। बन्दसूचीको नाम हटाउन सम्बन्धित राजनीतिक दलले नै सहजीकरण गरी आवश्यक प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था छ। चौधरीले उम्मेदवारीबाट वञ्चित गरिएकोमा दुःख व्यक्त गर्दै कानुनी उपचारको खोजी भइरहेको बताएका छन्।
एमालेले तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा तथा जनमत पार्टीले राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला उम्मेदवार बनाएको छ। जनमत पार्टीले सप्तकोशी नगरपालिकामा प्रमुख पदमा महिला उम्मेदवार खडा गरेको छ।
नेपाली कांग्रेसले सुरुङ्गा नगरपालिका प्रमुखमा महिला उम्मेदवार खडा गरेको छ। माओवादी केन्द्रले बलान बिहुल, नेकपा (एस) ले तिलाठी कोइलाडी, लोसपाले तिरहुत गाउँपालिका र नेमकिपाले रुपनी गाउँपालिकामा महिलालाई अध्यक्ष पदमा उम्मेदवार चयन गरेको छ।