काठमाडौं– प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपका संस्थापक स्व. लूनकरणदास चौधरीको ‘जन्म–शताब्दी विशेष समारोह’ आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ। आइतबार थापाथलीस्थित बिएलसी होल्डिङ्स परिसरमा स्व. चौधरीको जन्म–शताब्दी विशेष समारोह आयोजना गरिएको हो।
बिएलसी होल्डिङ्स प्रालि, बसन्त चौधरी फाउण्डेसन, नर्भिक इन्टरनेशनल हस्पिटल र लूनकरण दास गंगादेवी चौधरी साहित्यकला मन्दिरको संयुक्त आयोजनामा लूनकरणदास चौधरीको जन्मिएको १०० वर्ष भएको दिनलाई विशेष रुपमा सम्झिने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा स्व. लूनकरणदास चौधरीलाई जीवनको अन्तिम अवस्थासम्म स्याहारसुसार गर्ने कार्यमा अहोरात्र खटिएका ३ जना सहायकहरुलाई विशेष सम्मान समेत गरिएको थियो। त्यसरी सम्मानित हुनेहरुमा राम ढुंगाना, आलोक रजक र सुनिल गुरुङ छन्। उनीहरुले सम्मानपत्रको साथमा नगद समेत प्राप्त गरेका थिए।
सो कार्यक्रममा ‘कर्मयोगी लूनकरणदास चौधरी जन्म–शताब्दी विशेष’ नामक पुस्तिका चौधरीका छोराछोरी, बुहारी, ज्वाई तथा परिवारका अन्य सदस्यहरुले संयुक्त रुपमा विमोचन गरेका थिए। कार्यक्रममा स्व. चौधरीको ‘जीवन संघर्ष’ झल्किने १५ मिनेटको भिडियो सामाग्री समेत प्रस्तुत गरिएको थियो। भिडियो सामग्री तथा पुस्तिकामा लूनकरणदास चौधरीले कसरी चौधरी ग्रुपको आधारशिला तयार गरेका थिए भन्ने चाखलाग्दो विषयलाई समेटिएको छ।
कार्यक्रममा स्व. लूनकरणदासलाई नजिकबाट चिन्ने साथीभाइ तथा परिवारका सदस्यहरुले उनको व्यक्तित्वको विषयमा चर्चा गरेका थिए। एमडी अग्रवालले स्व. लूनकरणलाई सम्झिँदै उनमा पैसा र प्रशस्त धनसम्पत्ति भएर पनि अहंकार नभएको बताएका थिए।
वरिष्ठ कलाकार हरिहर शर्माले चौधरी कर्मयोगी भएकै कारण आज पनि नेपालीहरुको स्मृतिमा जीवित नै रहेका बताएका थिए। ‘उहाँका विचार राष्ट्रप्रेमबाट ओतप्रोत थिए,’ शर्माले भने। स्व. चौधरीकी नातिनी मेगा चौधरी तथा नाति निर्वाण चौधरीले समेत आफ्नो हजुरबुबाको विषयमा मन्तव्य दिएका थिए।
स्व. लुनकरणदासका कान्छा छोरा उद्योगपति अरुण चौधरीले आफ्ना पिता वास्तविक सेल्फमेड म्यान रहेका बताएका थिए। आफ्ना पिताले पैसा र धनसम्पत्तिलाई कहिल्यै प्राथमिकतामा नराखेको, बरु अरुको पीडा र व्यथामा मल्हमपट्टि गर्नतर्फ ध्यान दिएको उनको भनाइ थियो। माइला छोरा उद्योगपति तथा चर्चित साहित्यकार बसन्त चौधरीले आफ्ना पिता आफ्नो जीवनमा प्रेरणाको साँझबिहान बनेर उभिएका भन्दै स्मरण गरेका थिए। उनले आफ्ना पिताको स्मरणमा लेखेको कविता पनि सुनाएका थिए।