काठमाडौं- श्रमिक दिवस मनाउन थालेको १३३ वर्ष हुँदासमेत हालसम्म पनि नेपाली श्रमिकहरू राज्यबाटै उपेक्षित भएको ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आरोप लगाएको छ। मे दिवसको अवसरमा टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन्।
यसका साथै उनले १३३औं श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने आम श्रमजीवी दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त रेका छन्।
अन्याय र अत्याचारका विरुद्धमा सन् १८८६ मा अमेरिकाको सिकागो सहरबाट श्रमिकहरूले अधिकार प्राप्तिको लागि गरेको बलिदानीपूर्ण संघर्षबाट क्रमिक रूपमा अधिकार प्राप्ति भइरहेको पाइन्छ।
तर, परिवर्तित सन्दर्भमा जुन इच्छा आकांक्षा श्रमिकहरूको रहन्छ, त्यसप्रति कहीँ कतै राज्यसञ्चालनकर्ताहरूको ध्यान नपुगेको प्रस्ट रहेको विज्ञप्तिमा उल्लेख छ। श्रम आयोग, कार्यस्थलमा मर्यादित कामको व्यवस्था, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कार्यान्वयन, देशमा ठूलो संख्यामा रेमिट्यान्स विदेशबाट पठाउने श्रमिकको विषयमा भोटिङ अधिकार एवं उनीहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन ध्यान पुर्याइएको छैन भने आसन्न निर्वाचनमा अधिकांश राजनीतिक पार्टीहरूको घोषणापत्रमा श्रमिकका मुद्दाहरूलाई यथोचित रूपमा सम्बोधन नगरिएको भन्दै टुकोनले चिन्ता व्यक्त गरेको छ।
'भिड मात्र खडा गरेर श्रमिकहरूको मनभित्रको पीडालाई सम्बोधन नगरी मनाइने पर्वले कत्तिको सार्थकता पाउला?, त्यो आम श्रमिकले हेरिरहेका छन्। यसको निमित्त हामी निरन्तर रूपमा संघर्षमा छौं र लागी परिरहने छौं,' विज्ञप्तिमा भनिएको छ, ' विभिन्न परिवर्तनमा श्रमिकहरूले दिएको साथ र सहयोगप्रति सम्बन्धित क्षेत्रहरूको ध्यानाकर्षणको लागि हार्दिक आह्वान गर्दछौं।'