काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारको पालामा उपचारका नाममा अर्बौंका बिलहरु पेस गरिएको खुलासा गरेका छन्। उनले अघिल्लो सरकारले निर्वाचन हुनुअघि र सकिएपछि राष्ट्रिय ढुकुटीबाट जथाभावी रकम बाँडेको, विभिन्न रोगका उपचार निःशुल्क गर्ने भनेकाले अहिले त्यसको असर अर्थतन्त्रमा देखिएको बताए।
'अहिले उपचारका लागि अर्बौं रकम दाबी गरिएका बिलहरु आएका छन्' प्रधानमन्त्री ओलीले भने, 'चुनाव हारिसकेपछि सत्तामा जाने सम्भावना नभएकाले देशलाई डुबाउने गरी यस प्रकारका निर्णय गरेका छन्, जसले गर्दा हाम्रो अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन समय लाग्ने देखिन्छ।'
प्रधानमन्त्री ओलीले नेपालीले अबको समय नारा जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नुपर्ने बताए। गण्डकी प्रदेशका सांसदसँग शुक्रबार सिंहदरबारमा अन्तक्रिया गर्दै उनले संविधानले केही नयाँ राजनीतिक संरचनाको व्यवस्था गरेकाले त्यसको व्यवस्थापन गर्नुपर्दा केही समस्या भएको बताए।
'प्रदेशको संरचना हाम्रा लागि बिल्कुलै नयाँ हो', प्रधानमन्त्री ओलीले भने, 'यो नयाँ अभ्यासमा अभ्यस्त हुन हामीलाई केही समय लाग्छ।'
प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशको समग्र विकासका लागि केन्द्र सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। अर्न्तक्रियामा अधिकांश सांसदले कोरलाबाट त्रिवेणी-सुस्ता जोड्ने सडकका विषयमा उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले सो सडक हाल निर्माणाधीन अवस्थामा रहेकाले सरकारले आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङलगायत गण्डकी प्रदेशका सांसदको सहभागिता थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४