वीरगन्ज- वीरगन्जमा प्रहरीले मालवाहक ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मकवानपुरबाट पर्साको भेगतर्फ जाँदै गरेको ना३ख ६३८४ नम्बरको मिनी ट्रक, वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सास्थित लिटिल फलावर स्कुल नजिकै प्रहरीले रोकेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उक्त गाँजा मरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीले ट्रकलाई नियन्त्रणमा लिनुका साथै चालक र सहचालकलाई पक्राउ गरेको जनाएको छ। चेकजाँचका क्रममा उक्त मिनी ट्रकमा दुईवटा बोराभित्र लुकाएर राखिएको ६ पोकामा रहेको ५३ केजी गाजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
गाँजा र मिनी ट्रकसँगै चालक मकवानपुरको हेटौडा ११ का ४५ वर्षीय पूर्णबहादुर मोक्तान र सहचालक हेटौडा ४ का राज भुलन पक्राउ परेका छन्।