सिरहा- स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा सहभागी भएका जनता समाजवादी पार्टीका कार्यकर्ताको निधन भएको छ। पार्टीको चुनावी घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन भएको हो।
सिरहाको नवराजपुर गाउँपालिका-१ का ६५ वर्षीय बद्री मोचीको निधन भएको प्रहरीले जनाएको छ। चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि निधन भएको प्रहरीको भनाइ छ।
मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले बताए।
शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ।