काठमाडौं- मुलुकभर लक्ष्यको ८९.७२ प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको छ। १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफल धान रोप्ने अपेक्षा राखिएकोमा हालसम्म १३ लाख ९२ हजार ९५२ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको बिहीबारसम्मको तथ्याङ्कअनुसार गएको वर्ष यसै अबधिमा अर्थात साउन १६ गतेसम्ममा मुलकभर ७७.०३ प्रतिशत मात्रै धान रोपिएको थियो । त्यसको तुलनामा यो वर्ष १६ प्रतिशत रोपाई बढेको हो।
त्यस्तै हालसम्ममा सबैभन्दा बढी रोपाई हुने तराई क्षेत्रमा ८९.८५ प्रतिशत धान रोपाई भएको छ। १० लाख ९४ हजार ६३६ हेक्टर क्षेत्रफलमा रोपाई गर्ने लक्ष्य राखिएकोमा हालसम्म ९ लाख ८३ हजार ५१४ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो।
त्यसपछि मध्य पहाडमा रोपाई भएको छ। ३ लाख ९९ हजार ६७५ हेक्टर क्षेत्रफलमा धान रोप्ने अपेक्षा गरिएकोमा ८९.४८ प्रतिशत अर्थात ३ लाख ५७ हजार ६४७ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ।
उच्च पहाडमा ८९.०५ प्रतिशत धान रोपाई भएको छ। ५८ हजार १५८ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा अहिलेसम्म ५१ हजार ७९१ हेक्टर क्षेत्रफलमा धान रोपिएको कृषि मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४