काठमाडौं- नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गते अगावै आवश्यक कानून निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले आगामी असोज २ गतेभित्र सबै कानून निर्माण नगरे मुलुकमा संवैधानिक र कानूनी जटिलता आउन सक्ने पक्षलाई मध्यनजर गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे।
कानून निर्माणले गति लिन नसक्दा संघीय संसद् ‘विजनेश’विहीन भएको बताउँदै उनले मन्त्रालयका तर्फबाट यसमा विलम्ब भयो भन्ने कुराको प्रश्न उठाउन नदिनेतर्फ आफू लाग्ने र त्यसका लागि सबैको सहयोग जरुरी रहेको उल्लेख गरे।
नसोचेको परिस्थितिपछि आफू यस मन्त्रालयमा आएको बताउँदै उहाँले बोल्नेभन्दा पनि काम नै पहिलो प्राथमिकता भएको बताए।
मन्त्री ढकाललाई स्वागत गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले कानून निर्माणका लागि मन्त्रालय अहिले दिनरात नभनी खटिरहेको बताए।
बंगलादेशमा एमबिबिएस अध्ययनरत नेपाली छात्राहरुबारे विवादास्पद अभिव्यक्तिपछि तत्कालीन कानूनमन्त्री शेरबहादुर तामाङले गत मंगलबार राजीनामा दिएपछि कानून मन्त्रालय मन्त्रीविहीन थियो।
नवनियुक्त मन्त्री ढकाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट मोरङ क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । नेकपा (माओवादी केन्द्र) र एमाले एकीकरणसँगै अहिले उहाँ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४