सर्लाही- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्लाहीको लालबन्दी नगरपालिकाका मेयरको उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएर देउवाले मेयर उम्मेदवार वासुदेव अधिकारीको उम्मेदवारी फिर्ता लिएका हुन्।
शुक्रबार साँझ ५ बजेपछि मात्र निर्वाचन अधिकृतको कार्यालयमा देउवाको पत्र पुगेपछि कांग्रेसका स्थानीय कार्यकर्ता एवं नेता भने नाराबाजीमा उत्रिएका छन्। मनोनयन फिर्ता लिने समय घर्किएपछि देउवाले पठाएको उक्त पत्रलाई मान्यता नदिन माग गर्दै निर्वाचन अधिकृतको कार्यालय अगाडि उनीहरूले नाराबाजी गरेका हुन्।
लालबन्दी निर्वाचन अधिकृतको कार्यालयले साँझ ५ बजेपछि प्रकाशित गरेको नामावलीमा कांग्रेसको मेयरका उम्मेदवार अधिकारीको नाम उल्लेख छ। देउवाले पत्र पठाएपनि अधिकारीको उम्मेदवारी कानुनतः फिर्ता हुँदैन। यद्यपि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले उम्मेदवारी फिर्ता लिएको पत्र पठाएको आयोगले भने निर्णय गर्न सकेको छैन।
शुक्रबार साँझ मात्र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी तालमेलको सहमति भएको छ। मेयरमा माओवादीले प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीले गोविन्द अधिकारीलाई अघि सारेको छ।