विराटनगर- आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मोरङबाट उम्मेदवारी दिएका मध्ये ९ जनाविरद्ध परेको उजुरीमा एक जनाको उम्मेदवारी खारेज भएको छ।
केराबारी गाउँपालिका-१ बाट महिला सदस्य पदमा एमालेबाट उम्मेदवारी दिएकी ४७ वर्षीया पवित्रा लिम्बूको भने उम्मेदवारी खारेज भएको छ।
लिम्बुको उम्मेदवारीमाथि दाबीविरोध परेकोमा आवश्यक छानबिनपछि उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालय केराबारीका प्रमुख भानुभक्त न्यौपानेले जानकारी दिए। लिम्बु केराबारी गाउँपालिकाको महिला स्वंयमसेविकाको जिम्मेवारीमा बहाल रहेको भन्दै उजुरी परेको थियो।
केराबारीमा एमालेका चार उम्मेदवारविरुद्ध उजुरी परेको थियो। अन्य ३ जनाले सफाइ पाएका छन्। एमालेबाट केराबारी गाउँपालिका–८ को वडाध्यक्षमा उम्मेदवारी दिएका ५७ वर्षीय टीकाराम चापागाईं, वडा सदस्यका उम्मेदवार २७ वर्षीय दिलबहादुर राई र दलित महिला सदस्य पदकी उम्मेदवार ३७ वर्षीया सन्तोषी सार्कीविरुद्धको उजुरी भने खारेज भएको न्यौपानको भनाइ छ।
विराटनगर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट उपमेयरको उम्मेदवार बनेकी शिल्पा निराला कार्कीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ। ४३ वर्षीया कार्की कोसी अस्पताल विकास समितिकी सदस्यमा बहाल रहेको भन्दै सत्तारुढ गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका अमेरन्द्र यादवले उजुरी दिएका थिए। मुख्य निर्वाचन अधिकृत भरत लम्सालले उजुरीमाथि जाँचबुझ गर्दा उम्मेदवारी खारेज गर्नुपर्ने अवस्था नदेखिएको बताए। उनका अनुसार विराटनगरमा मनोनयन दर्ता गराएका ४ जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो।
सिके राउत नेतृत्वको जनमत पार्टीबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी विराटनगर महानगरपालिका–८ की ४१ वर्षीया गीत मुखियाको पनि उम्मेदवारी सदर भएको छ। मुखिया जाति दलितभित्र नपर्ने भनेर उनीविरुद्ध उजुरी परेको थियो। सोही वडामा कांग्रेसबाट दलित महिला सदस्यका लागि उम्मेदवारी दिएकी ३६ वर्षीय शशिता सहनीविरुद्ध परेको उजुरी पनि खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बढाथोकीले जानकारी दिए।
विराटनगर–१३ मा एमालेबाट महिला सदस्य पदमा उम्मेदवारी दिएकी ५० वर्षीया गौरीकुमारी वैश्यविरुद्ध परेको उजुरी पनि खारेज भएको बुढाथोकीले बताए। मोरङका १७ वटा स्थानीय तहमा ४ हजार ३६१ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए।