काठमाडौं– धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरुसँग अन्तरक्रिया कार्यक्रम राखेको थियो। अन्तरक्रियाको उद्देश्य थियो– ‘स्थानीय चुनावमा युवाको चाख र जिज्ञासा।’
अन्तरक्रियामा उपस्थित थिए– नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर उठेका केशव स्थापित, विवकेशील साझाकी समीक्षा बाँस्कोटा, स्वतन्त्र उम्मेदवार बालेन शाह, सुशील थापा र नागार्जुन नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका राजन कोइराला।
करिब साढे दुई घण्टा चलेको कार्यक्रममा विद्यार्थीहरुले उम्मेदवारलाई थुप्रै प्रश्न गरे। उम्मेदवारहरुले जिज्ञासा मेटाउने प्रयास गरे। विद्यार्थीहरुले उम्मेदवारहरुसँग वातावरण, युथ, एजुकेसन, कल्चर, कल्चरल हेरिटेज लगायतका विषयमा जिज्ञासा राखिरहेका थिए। कार्यक्रम करिब अन्तिम चरणमा पुगेको थियो। करिब २० मिनेटको समय बाँकी रहँदा कार्यक्रमस्थल एकाएक तातियो।
कारण थियो– एमाले उम्मेदवार स्थापितलाई सोधिएको एक प्रश्न। भावना राउतले स्थापितलाई ‘मिटु’ आरोप बारे प्रश्न सोधेकी थिइन्। उनको प्रश्नको उत्तर दिने क्रममा स्थापित रिसले चुर बने। सपनाले स्थापितलाई सोधेकी थिइन्, ‘तपाईं मेयरको क्यान्डिडेट हो। हामी सबैको भोट तपाईंलाई चाहिन्छ र जित्छु भन्ने आशा राख्नुहुन्छ भने त्यसलाई एक्सप्लेन गरिदिनुपर्छ। यो कुरामा अहिले नबोलौं भनेर भएन। किनकी महिला नै तपाईंको अफिसमा सेफ छैनन् भने वृत्ति विकासका कारण नगरिदिनुहोला। यो तपाईंलाई सुहाउँदा पनि सुहाउँदैन।’
राउतको प्रश्नमा स्थापितले उत्तर दिए, ‘उहाँ करारको मान्छे हो। उहाँका कारणले जिम्मेवार स्टाफले आत्महत्या गरेको छ। तर, इभिडेन्स होला नि। उहाँले गरेको अपराधको बारेमा मैले भन्ने हो भने स्योर ह्याङ्गिङ हो। यो भन्न पनि मिल्दैन। २५ वर्षसम्म धपाउने हो। म अपराधी हुने? मैले झम्टिन हुने? महिलाले जथाभावी प्रचार गर्न हुने, मैले औंला देखाउन नहुने?’
स्थापितले उत्तर दिइरहँदा हलमा हल्ला सुरु भयो। त्यहीबीचमा एक सहभागीले थपे, ‘तपाईं कोर्टमा किन जानुभएन? प्रहरीकोमा किन जानुभएन?’ त्यसपछि स्थापित रिसाउन थाल्छन्। बसेको ठाउँबाट उठेका स्थापित भन्छन्, ‘कोही महिलाले तपाईंलाई मेरो श्रीमान् भन्यो भने ह्वाट सी गट, ह्वाट यु गट? एभिडेन्स ल्याउनु पर्दैन?’ त्यसपछि सहभागीहरुले स्थापितलाई सम्झाउँदै भन्छन्, ‘तपाईं पब्लिक फोरममा हुनुहुन्छ।’
कार्यक्रम करिब अन्तिम चरणमा पुगेको थियो। करिब २० मिनेटको समय बाँकी रहँदा कार्यक्रमस्थल एकाएक तातियो। कारण थियो– एमाले उम्मेदवार स्थापितलाई सोधिएको एक प्रश्न। सपना राउतले स्थापितलाई ‘मिटु’ आरोप बारे प्रश्न सोधेकी थिइन्।
तर, स्थापित त्यो बेलासम्म रिसाइसकेका थिए। कार्यक्रमका आयोजकले माहोल मत्थर बनाउन खोजेका थिए। स्थापित बसेका पनि थिए। तर, फेरि उठेर उनले भने, ‘मैले महिला हिंसा गरेको हो? तपाईंसँग के एभिडेन्स छ र कुरा गर्न पाउनुहुन्छ? नो राइट ! तपाईं महिला भएको भएर मैले जवाफ नदिएको। ठिक छ। म जत्तिको मान्छेलाई आरोप लगाउने? ह्वाट इज द प्रुफ? जवाफ दिनुपर्यो क्या। यु आर नाइस लेडी। तर, थुतुनो ठिक रैनछ तपाईंको।’
स्थापितले बोलिरहँदा सहभागीबाटै जवाफ आउँछ, ‘तपाईंको बोली ठिक भएन। तपाईंले के भन्न खोज्नुभएको?’ बसिकसेका स्थापित पुनः उठ्छन् र दुवै हातको मुठ्ठी कसेर भन्छन्, ‘केशव स्थापित रिसको भाँडा हो, नरिसाउनुस् भन्न पाइन्छ।’
त्यही क्रममा कार्यक्रमका मध्यस्थकर्ता शिव तिवारीले माहोल मत्थर बनाउन खोज्दै भन्छन्, ‘सर एकछिन बसिदिनुस्। यो देशमा अदालत, न्यायालय भन्ने चिज पनि छ। त्यसले छिनोफानो गर्छ।’ फेरि एकपटक स्थापित उठ्छन् र भन्छन्, ‘कहिँ नजाने, आरोप लगाउने?’
स्थापित थप रिसाएपछि विवेकशील साझाकी उम्मेदवार बाँस्कोटाले सम्झाउन खोज्छिन्। त्यसपछि माहोल अलि सम्हालिन्छ र बाँस्कोटा बोल्न थाल्छिन्। उनी भन्छिन्, ‘यस्तो मञ्चमा हामीले जहिले पनि सभ्य भएरै बोल्नुपर्छ जस्तो लाग्छ। किन भन्द खेरी....।’ बाँस्कोटाले बोलिनसक्दै स्थापित फेरि उठ्छन् र भन्न थाल्छन्, ‘महिला असभ्य भएर चिथोर्ने, पुरुष यस्तो भएर बस्ने?’ स्थापितको यो अभिव्यक्तिपछि सहभागीले हुटिङ गर्छन्। ‘महिलाले सार्वजनिक बलात्कार गर्न पाउने अनि महिला खराब भन्न पाइँदैन,’ स्थापितले थप्छन्।
आयोजकले स्थापितलाई बस्न लगाएपछि पुनः बाँस्कोटा बोल्न थाल्छिन्। ‘मैले महिला मात्रै भनेको छैन...।’ उनको माइक काटिन्छ। र, फेरि स्थापित भन्छन्, ‘इट इज भेरी क्लियर। यहाँका बहिनीहरुले पनि भन्नुपर्यो नि। छलफलमा भाग लिने यसरी हुन्छ? इट इज भेरी ब्याड। एभिडेन्स मागेर ल्याउनु पर्दैन?’
त्यही क्रममा कार्यक्रमका मध्यस्थकर्ता शिव तिवारीले माहोल मत्थर बनाउन खोज्दै भन्छन्, ‘सर एकछिन बसिदिनुस्। यो देशमा अदालत, न्यायालय भन्ने चिज पनि छ। त्यसले छिनोफानो गर्छ।’ फेरि एकपटक स्थापित उठ्छन् र भन्छन्, ‘कहिँ नजाने, आरोप लगाउने?’
कार्यक्रमका एक सहभागीका अनुसार स्थापितलाई ‘मी टु’बारे प्रश्न गर्ने राउत नेशनल कलेजकी विद्यार्थी भने होइनन्। उनी कार्यक्रमको बीचमा मात्रै छलफलमा सहभागी भएकी थिइन्। ‘उहाँ बीचमा आउनुभयो। गलत उदाहरण पेश गरेर अभियुक्त नै हो भन्ने सेन्समा प्रश्न सोधेपछि स्थापित रिसाउनुभएको हो,’ ती सहभागीले भने, ‘स्थापित रिसाएपछि माहोल बिग्रियो र प्रश्न सोधेपछि विवाद चर्किंदै जाँदा राउत कार्यक्रम छोडेर हिँड्नुभयो। त्यसरी हेर्ने हो भने उहाँको कार्यक्रम नै ‘डिरेल’ गराउने योजना थियो को कि जस्तो पनि देखिन्छ।’
तर, ती सहभागी आफूमाथि लागेको आरोपबारे सोधिएको प्रश्नको उत्तर स्थापितले सरल तरिकाले दिएको भए राम्रो हुने बताउँछन्। ‘उहाँ सार्वजनिक कार्यक्रमको वक्ता हुनुहुन्थ्यो। त्यसकारण आफूमाथि उठेका प्रश्न सरल भाषामा दिनुपर्थ्यो। तर, उहाँ प्रोभोक हुनुभयो,’ उनी भन्छन्, ‘सोध्नेले पनि जेन्युइन प्रश्न सोधेको हो। तर, शैली उहाँको पनि ठिक नभएको हो कि।’
कार्यक्रमका सहभागीका अनुसार जंगिएका स्थापितलाई ‘कुल’ बनाउन लामै समय लागेको थियो। कार्यक्रममा स्थापितका छोरासमेत उपस्थित थिए। ‘उहाँ बेस्सरी रिसाउनुभएको थियो। सोही कारण उहाँलाई ‘कुल’ बनाउन सात मिनेटभन्दा बढी समय लाग्यो। सबैले सम्झाउनुभयो। तर, सम्झाउँदै गर्दा पनि उहाँ जंगिएर उठिरहनुभएको थियो,’ उनले सुनाए।
स्थापित शान्त भएपछि कार्यक्रम करिब १० मिनेट चलेको थियो। कार्यक्रम स्थलबाट बाहिरिने बेलासम्म भने स्थापित संयमित भइसकेका थिए। कार्यक्रम स्थलबाट बाहिरिने क्रममा उनले विद्यार्थीहरुलाई आफ्नो फोन नम्बर दिँदै फेरि पनि छलफलमा बस्न तयार रहेको बताए।
कार्यक्रममा विवाद भएलगत्तै राउतले सामाजिक सञ्जालमार्फत ‘स्थापित जस्तालाई अझै नेता भन्ने?’ भनेर प्रश्न गरेकी छन्। ‘नेशनल कलेजले आयोजना गरेको कार्यक्रममा मैले मी टूका बारे प्रश्न गर्दा केशव स्थापितको उत्तर ‘तपाईंको फेस नाइस छ, थुतुनो भएन।’ अझै यस्तालाई नेता भन्ने?,’ उनले लेखेकी छन्, ‘एमालेका महिला सांसद, अधिकारकर्मीहरु बिन्ती अब महिला हकहितका लागि भन्दै सडकमा नआउनु होला किनकी तपाईंको पार्टीभित्रको मौनताले दुर्घटना निम्त्याएको छ।’