पोखरा- पल शाहलाई विपक्षी बनाएर दुई जिल्ला अदालतमा दायर भएका मुद्दालाई सँगै राखेर हेर्न उच्च अदालतले आदेश दिएको छ। पोखरा उच्च अदालतले दुवै मुद्दामा पीडक पनि समान व्यक्ति र पीडित पनि समान व्यक्ति भएको र कसुरको प्रकृति पनि एकैखाले भएकाले सँगै राखेर हेर्न आदेश जारी गरेको हो।
नबालिग गायिकामाथि पटकपटक जबरजस्ती करणी गरेको आरोपमा शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर भएर थुनछेक बहस पनि सकिएको छ। विपक्षी पल पुर्पक्षका लागि जेल चलान भएका छन्।
पीडित एकै भएपनि घटनास्थल र घटना फरक भएकाले दुवैतिर मुद्दा चलिरहेको छ। दुवै जिल्लाका अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि पल शाहले उच्च अदालत पोखरामा जिल्लाको थुनेछक आदेशविरुद्ध निवेदन दिएका थिए।
‘शाहका तर्फबाट कानुन व्यवसायीले दुवै जिल्लाको आदेश बदर गरेर साधारण तारेख या धरौटीमा रिहाइको माग गर्दै छुट्टाछुट्टै निवेदन थिए,’ उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले नेपाल समयसँग भने, ‘त्यसपछि दुवै जिल्लाबाट कैफियत प्रतिवेदन पनि माग भइसक्यो। आज बसेको पेसीले पीडित एकै भएकाले दुवै जिल्लाको मुद्दा सँगै राखेर हेर्ने आदेश दिएको छ। अब अर्को सुनुवाइ सम्भवतः अर्को साता होला!’
गत चैत १० गते पललाई जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। सोही मुद्दामा बलात्कार मतियारको अभियोग लागेका पलका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटी तिराएर छाड्न आदेश भएको थियो।
त्यसको केही दिनपछि पूर्व नवलपरासी जिल्ला अदालतले पनि पललाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएको थियो। तर, पुर्पक्षका लागि थुनामा पठाउन गरिएको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएको भन्दै पलका कानुन व्यवसायीले उच्च अदालतमा पुनरावेदन चढाएका थिए।
नाबालिग गायिकाका बुबाले गत फागुनको फरकफरक मितिमा छोरीमाथि पलले बिहेको प्रलोभन देखाउँदै पटकपटक करणी गरेको दुवै जिल्लाको प्रहरी कार्यलयमा जाहेरी दिएका थिए।
पलले अन्तिम पटक करणी गरेको घटनास्थल गत वैशाख १४ गते तनहुँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदीप थापाको घरमा भएको भन्दै पीडित परिवार सुरुमा जाहेरी लिएर तनहुँ प्रहरीमा पुगेको थियो।
त्यसपछि म्यूजिक भिडियो सुटिङको क्रममा पूर्वी नवलपरासीको क्षेत्रभित्र पर्ने गैँडाकोट रिसोर्टमा पनि सुटिङ नै लम्ब्याएर छोरीलाई जर्बजस्ती करणी गरेको भन्दै पीडितका बुबाले गैँडाकोट प्रहरीमा जाहेरी दिएका थिए।
पीडित र पीडितका बुबाले बयान फेरे
दुवै जिल्ला अदालतमा पीडित र पीडितका बुबाको बकपत्र चलिरहेका कारण पनि उच्च अदालत पोखरामा परेको पुनरावेदनउपर सुनुवाइ रोकिएको थियो।
यो मुद्दाकी नाबालिग पीडित र पीडितका बुबा दुवैले अदालतमा बकपत्र गर्ने क्रममा बयान नै फेरेका छन्। पलले बिहे गर्ने आश्वासन दिएपछि पीडितले ‘होस्टाइल’ भएर बयान फेरेको उनीहरुका कानुन व्यवसायीको आशंका छ।
दुवै अदालतमा बकपत्र गर्ने क्रममा पीडितले आफूलाई पलले जर्बजस्ती करणी नगरेको र अरुको उक्साहटमा जाहेरी दिएको व्योहोरोको बयान दिएकी छिन्। पीडितका बुबाले पनि ‘पछि बुझ्दै जाँदा त्यस्तो केही नभएको रैछ’ आशयको बकपत्र गर्दै आफ्नो बयान फेरेका छन्।
यता उच्च अदालतबाट दुवै अदालतको मुद्दा सँगै राखेर हेर्ने आदेश आएकै दिन नाबालिग गायिकाले फेसबुकमा एउटा स्टाटस राखेकी छिन्, जसले उनको हालको मनोदशा दर्शाउँछ। उनले लेखेकी छिन्, ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु, तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु, तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म, त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु।’
प्रहरी र सरकारी वकिलसमक्ष आफूमाथि जर्बजस्ती करणीको भएको जाहेरी र बयान दिने पीडित र पीडितका बुबाले पछि अदालतमा पुगेर किन बयान बदले त, पीडितको यो ‘तिम्रा लागि आफैलाई दुःखमा पार्न र हार्न सक्छु’ आशयको स्टाटसले उनी ‘होस्टाइल’ भएको आशंकामै धेरै बल पुर्याएको छ। यद्यपि उनले यो बजारमा आउन लागेको गीतको अंश भएको संकेत गरेकी छन्।