काठमाडौं- बहुमतिय प्रक्रियाबाट प्रस्तावित प्रधानन्यायाधीशको विषयमा निर्णय हुने भएपछि कांग्रेसले संसदीय सुनुवाइ विशेष समितिको बैठक बहिष्कार गरेको छ ।
दलहरुबीच सहमति हुन नसकेपछि शुक्रबारको बैठकले बहुमतीय प्रक्रियाबाट जोशीका विषयमा निर्णय लिन लागेको हो । कांग्रेसका सदस्यहरुले बैठक बहिष्कार गरे पनि बैठक भने चलिरहेको बैठकस्थलबाट हाम्रा सहकर्मी लिलाराल खनालले जनाएका छन् ।
बिहान १० बजेदेखि बसेको बैठकमा पटक पटक सहमतिको प्रयास भए पनि कुनै सहमति जुट्न सकेन । सहमति हुन नसकेपछि कांग्रेसका सदस्यहरु बैठक छाडेर हिडेका हुन् । यसअघि पाँच पटक संसदीय सुनुवाइ समितिको बैठक बसेपनि जोशीको विषयमा निर्णय गर्न सकेको छैन् ।
सत्तापक्ष दल नेकपा प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन नगर्ने पक्षमा छ भने विपक्षी दल कांग्रेस उनको नाम अनुमोदन हुनु पर्ने अडानमा छ । समितिबाट जोशीको नाम स्विकृत वा अस्विकृत गर्न दुई तिहाइ मत आवाश्यक पर्छ । सत्तापक्ष दल नेकपा र फोरमको मत जोड्दा दुई तिहाई सजिलै पुग्ने देखिन्छ । समितिमा सत्तापक्ष दल नेकपाका ९ र फोरमका १ सदस्य छन् भने विपक्षी दल कांग्रेसका ४ र राजपाका १ सदस्य छन् ।
जेठ २९ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा समेत रहेका जोशीको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । उनको सुनुवाई सम्पन्न भएपनि प्रमाणपत्रलगायतका विवादमा मुछिएसंगै दलहरु विभाजित भएपछि उनको मुद्दा पेचिलो बनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४