काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको बताएका छन्। नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवमा कार्यक्रममा बोल्दै बुधबार गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा केही दबाब रहेको बताएएका हुन्।
उनले भने, 'विदेशी विनिमय सञ्चिति घटेर ७ महिनाभन्दा कम समयको लागि वस्तु तथा सेवा आयात धान्न सक्ने स्थितिमा पुगेको हुँदा बाह्य क्षेत्र अहिले दबाबमा रहेको छ। देशको बाह्य क्षेत्र केही दबाबमा रहेको हुँदा समाधान गर्न नीतिगत पहल भइरहेको र विदेशी विनिमय सञ्चितिको दबाब कम गर्ने पहल भइरहेको छ।'
उनले राष्ट्र बैंकले बाह्य दबाब कम गरी विदेशी विनिमय सञ्चितिको समेत दबाब कम गर्न नीतिगत पहल भइरहेको बताए। गभर्नर अधिकारीले पछिल्लो समय कोभिडको असर कम भएसँगै अर्थतन्त्रमा समेत सुधार हुँदै गएको बताए। कोरोनाविरुद्धको खोपको पहुँच बढेकोले आर्थिक गतिविधि बढ्दै गएको भन्दै अर्थतन्त्रमा केही सुधार हुने संकेत देखिएको उनले बताए।
गभर्नर अधिकारीले कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महंगी बढ्न सक्ने बताए। चालु आर्थिक वर्षको सुरुदेखि नै विदेशी विनिमय सञ्चिति घटेको भन्दै विदेशी लगानी र विदेशी मुद्रा आर्जन सहज बनाउन नीतिगत व्यवस्था गरेको बताए।
उनले भने, 'कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महंगी बढ्ने देखिएको छ। अधिक कर्जा प्रवाह भएको र उक्त कर्जाको अधिकांश कर्जा आयात भुक्तानीमा गएका कारण चालु आर्थिक वर्षको सुरुवात देखि नै सोधानान्तर स्थिति घाटामा रहेको छ। यो केही समय कायम रहने देखिन्छ। पछिल्लो समय विदेशी मुद्रा सञ्चिति स्थिर रहेको छ। आगामाी दिनमा थप काम गर्न राष्ट्र बैंक प्रतिबद्ध छ। सरकारलाई आयात बन्देजको सल्लाह राष्ट्र बैंकले दिएको हो, कार्यान्वयन गरौं।’
राष्ट्र बैंकको अबको यात्रा डिजिटल मुद्रातर्फ
त्यस्तै, राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंक डिजिटल मुद्रा चलाउने बाटोमा गएको बताए। उनले कागजको नोट प्रचलनमा ल्याउन स्थापना भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल मुद्रातर्फ अघि बढेको बताए। उनले अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने तयारीमा राष्ट्र बैंक रहेको बताए।
उनले भने, ‘नेपाली नोटलाई चलनचल्तीका ल्याउने उद्देश्यका साथ स्थापना भएको नेपाल राष्ट्र बैंक अहिले भौतिक मुद्रा विस्थापन गरी डिजिटल करेन्सी चलाउनुपर्ने स्थितितर्फ अग्रसर भएको छ। हाम्रा खाना, हाम्रा नाना र हाम्रो छाना सबै आयातित हुनुको परिपक्षमा बाह्य क्षेत्रमा दबाब देखिएको छ। दबाब कम गर्न राष्ट्र बैंक लागेको छ।'
अर्थतन्त्र बाहृय क्षेत्रको कारण दबाबमा परेको मिश्रले बताए। उनले बाह्य क्षेत्रबाट अर्थतन्त्रमा परेको असरलाई समाधान गर्न राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको बताए। उनले थपे, 'अर्थतन्त्रको आवश्यकता बमोजिक केन्द्रीय बैंकको नीति कहिले लचिलो त कहिले कसिलो हुनु पर्ने हुन्छ। बैंकले सोही बमोजिमको भूमिका निर्वाह गरिरहेको छ। कोभिडका बेला केही बैंक लचिलो भयो। अहिले कसिलो बन्नुपर्ने स्थिति छ। हाम्रो हरेक क्रियाकलाप पद्धति अनुसार सञ्चालन हुन्छन्।’
अर्थतन्त्र गम्भीर मोडमा
कार्यक्रममा पूर्वगभर्नर डा. तिलकबहादुर रावललाई सम्मान गरिएको थियो। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताए।
नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वगभर्नर रावलले यस्तो बताए। उनले मुलुकको अर्थतन्त्र समस्या रहेको तर सरकारले गर्नु पर्ने काम गर्न नसकेको बताए। डा. रावलले विश्व अर्थतन्त्रमा नै समस्या आएकाले नेपालको अर्थतन्त्रमा समस्या आउनु कुनै व्यक्तिको कारण मात्रै नभएको बताए।
पछिल्लो समय बढ्दो आयातले भुक्तानी सन्तुलन बिगारेकाले मुलुकको अर्थतन्त्र दुर्घटना उन्मुख बनेको बताए। उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला सबै पक्ष मिलेर समस्या समाधान गर्नुपर्ने बताए। डा. रावलले गभर्नर निलम्बन प्रकरणमा २० वर्षअघि आफूले जस्तै महाप्रसाद अधिकारीले न्याय पाएको बताए। उनले विश्व व्यापारमा केही नकारात्मक असर परेको हुँदा यसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि परेको बताए। पूर्वगभर्नर रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बेला सरकारले गर्नुपर्ने काम गर्न भने नसकेको आरोप लगाए। उनले अर्थतन्त्रका सूचकहरू हेर्दा सचेत रहने बेला आएको उल्लेख गरे।
उनले भने, ‘मलाई बुधबार अति खुसी लागेको छ। करिब २० वर्ष अगाडि जुन मारमा म परेको थिए। जुन अदालतले मलाई राहत दिएर पुनः राष्ट्र बैंकमा र्फकाएको थियो। सोही अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि पुनः राष्ट्र बैंकमा र्फकाएको छ। आगामी दिनमा अरु जोश-जाँगरसहित राष्ट्रिय अर्थतन्त्रको हितमा काम गर्नुहोला। एक वर्षको बजेटभन्दा बढी व्यापार घाटा हुने बेला आयो, भुक्तानी सन्तुलनको अवस्था र चालु खाताको अवस्था खस्किदो छ, कुनै पनि सुचक सन्तोषजनक छैन।'