काठमाडौं- ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङलाई स्तरवृद्धि गरी ए रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ।
ईक्रा नेपाल लिमिटेड भारतस्थित इक्रा लिमिटेड अफ इण्डियाको सहायक कम्पनीको रुपमा नेपालमा दर्ता भएको नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त नेपालको पहिलो रेटिङ ऐजेन्सी हो।
विगतका वर्षहरुमा विभिन्न संस्थाहरुसँग भएको मर्जर तथा प्राप्तीको सकारात्मक प्रभाव, सो पश्चात बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जालको कारण देशव्यापी रुपमा बैंकका ग्राहकहरुको संख्यामा उल्लेख्य वृद्धि तथा सोबाट बैंकको बजार हिस्सामा भएको वृद्धि, पूँजीगत पर्याप्तता तथा तरलताको सहज व्यवस्थापनका कारण बैंकको कर्जा तथा तरलताको क्षेत्रमा देखिएको जोखिम व्यवस्थापन गर्नसक्ने क्षमता, कर्जामा भएको विविधता, साना तथा मझौला कर्जामा भएको वृद्धि, बैंकको सकारात्मक विगत, असल स्वामित्व तथा कुशल र अनुभवि व्यवस्थापन समेतका आधारमा ईक्रा नेपालले बैंकलाई यसअघि प्रदान रेटिङमा स्तर वृद्धि गर्दै ए रेटिङ प्रदान गरेको हो।
कोभिड १९ को असरको कारणले देशको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहेको समयमा समेत बैंकको परिसूचकहरुमा देखिएको उल्लेखित सुधारहरुले गर्दा यो स्तरवृद्धि सम्भव भएको बैंकले जनाएको छ।