काठमाडौं- नेपालमा करिब १७ हजार हेक्टर जमिनमा चिया तथा कफी खेती हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ। १६ हजार ९१७ हेक्टर जमिनमा चिया खेती हुने गरेको २६औं राष्ट्रिय चिया दिवसमा बोर्डले जानकारी दिएको हो।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले पछिल्लो एक वर्षको अवधिमा चिया निर्यात गरेर दोब्बर गरी विदेशी मुद्रा नेपालमा भित्र्याउन सफल भएको दाबी समेत गरे।
‘आव २०७६/०७७ मा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो। २०७७/०७८ मा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको चिया निर्यात गर्न सफल भएको भन्सार विभागको तथ्यांकले देखाएको छ,' उनले भने, 'करिब एक वर्षको अवधिमा दोब्बर विदेशी मुद्रा चिया निर्यातबाट भित्र्याएको तथ्यांकमा देखियो। यसले के देखाउँछ भने सरकारले लगानी बढाउने हो भने अबको ३ वर्षभित्र चिया निर्यातबाट मात्रै करिब वार्षिक १२ अर्ब विदेशी मुद्रा भित्र्याउन सकिन्छ।’
बोर्डले यस वर्षको चिया दिवसको नारा ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्ने तय गरेको छ।
कार्यकारी निर्देशक भट्टराईले चियामा लगानी बढाउन सकिए त्यसलाई मुलुकको आर्थिक समृद्धिको आधार बनाउन सकिने पनि दाबी गरे।
बोर्डले हरेक वर्षको बैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ। नेपालमा १६ हजार भन्दा बढी चिया कृषक र ६० हजार भन्दा बढी यसका श्रमिकहरु संलग्न रहेको बोर्डको भनाइ छ।