काठमाडौं- मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका ४ वटा सबस्टेसनमध्ये दुई वटा तीन महिनाभित्र सञ्चालन गर्ने तयारी गरिएको छ। चितवनको नयाँ भरतपुर र लमजुङका उदीपुर सबस्टेसन तीन महिनामा निर्माण सकेर सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। दुवै सबस्टेसनको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। त्यहाँ उपकरण जडान भइरहेको प्राधिकरणको भनाइ छ।
आयोजना अन्तर्गतकै लमजुङको खुदी सबस्टेसन भने एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। धारापानी सबस्टेसनको निर्माण भर्खरै सुरु भएको जानकारी दिइएको छ। भौगोलिक रुपमा विकट ठाउँमा रहेकाले धारापानी सबस्टेसनको निर्माणमा केही बढी समय लाग्ने प्राधिकरणको अनुमान छ।
यसैबीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्च व्यवस्थापन टोलीले स्थलगत अनुगमन गरी सबस्टेसन निर्माणको प्रगति, समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी जानकारी लिएको छ।
'मर्स्याङ्दी करिडोरमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि प्रसारण लाइन तथा सबस्टेसन महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गर्छु,' कार्यकारी निर्देशक घिसिङले भने।
वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानका लागि स्वीकृतिको प्रक्रिया तत्काल अगाडि बढाउन र सामाजिक समस्यालाई समाधान गरी प्रसारण लाइनको निर्माण सुरु गर्न आयोजना व्यवस्थापनलाई उनले निर्देशन दिए।
लमजुङको दोर्दी खोलामा निर्माणाधीन जलविद्युत आयोजनाहरुको विद्युत दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिने छ। उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि दोर्दी खोलाका आयोजनाहरुको विद्युत वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युतगृहको स्वीचयार्डमा जोडिनेछ।
लमजुङकै ङादी तथा त्यसका सहायक खोलाहरुमा निर्माणाधीन जलविद्युत आयोजनाहरुको विद्युत खुदी सबस्टेसनमा जोडिने छ।
मर्स्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो। प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ। चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ।
आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ। दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणाधीन छन्। तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ।
नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ।