काठमाडौं– नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्मा कृष्णप्रसाद सिटौलाको आशीर्वाद लिन घरमै पुगे। दुई हात जोड्दै शीर निहुराएर सिटौलासँग आशीर्वाद लिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भयो।
त्यतिबेला सिटौलाले विश्वप्रकाशलाई भनेका थिए, ‘बधाई छ, तिमी महामन्त्री भयौ। अब अझै अघि बढ्नु। विगतमा जे–जे भयो, ती सबै तितामिठा कुरालाई बिर्सिऔं।’ विश्वप्रकाशको भनाइ पनि उस्तै आशयको थियो– ‘अब पार्टीको आन्तरिक प्रतिस्पर्धा सकियो, त्यसैले उहाँको साथ सहयोगको अपेक्षासहित आशीर्वाद लिन गएको।’
त्यसपछि धेरैलाई लागेको थियो, ‘अब त सिटौला–शर्माको तिक्तता सकिएला।’ तर, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटमा सिटौलाले शर्माको गृहनगरमा समेत हस्तक्षेप गर्न खोजेपछि उनीहरुबीचको द्वन्द्व बल्झिएको छ।
आइतबार रातिसम्म शर्माको गृहनगर मेचीनगरमा प्रदेश समितिको निर्णयअनुसार कांग्रेस झापा जिल्ला उपसभापति केशवराज पाण्डे मेयरका उम्मेदवार थिए। तर, महामन्त्री शर्माले यसलाई प्रतिष्ठाको विषय बनाएपछि सोमबार कांग्रेस केन्द्रले प्रदेशको निर्णय नै उल्टाएर इन्द्रबहादुर बुढाथोकीलाई मेचीनगर मेयरको आधिकारिक उम्मेदवार बनाएको छ। बुढाथोकी अहिले झापा क्षेत्र नम्बर १ का कांग्रेस सभापति छन्।
केन्द्रले प्रदेशको निर्णय उल्टाएपछि उम्मेदवारी मनोनयन स्थलमै पाण्डे र बुढाथोकी पक्षबीच विवादको स्थिति सिर्जना भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति नै जारी गरेर मेचीनगरको आधिकारिक उम्मेदवार बुढाथोकी भएको प्रमाणित गरेका छन्। यसले मेचीनगरमा सिटौला पक्षलाई झन् चिढ्याइदिएको छ।
‘प्रदेशले पाण्डेको टिकट फाइनल गरेको थियो तर, केन्द्रले प्रदेशको निर्णयलाई उल्टाएर बुढाथोकीलाई टिकट दिने निर्णय गरेको छ,’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेपाल समयसँग भने, ‘उहाँ टिनको टहरामा बस्ने मान्छे हो। अहिले क्षेत्रीय सभापति हुनुहुन्छ। त्यसैले पार्टीले उहाँलाई टिकट दिने निर्णय गरेको छ।’
खासगरी कांग्रेस मेचीनगर नगर समितिको बैठकले नगर प्रमुख पदका उम्मेदवारका लागि चार जनाको नाम सिफारिस गरेको थियो। जसमा बुढाथोकी, पाण्डेसहित मणिकुमार उप्रेती र झुनादेवी बानियाँ पनि थिए। तर जिल्लासम्म नाम पुग्दा उप्रेती र बानियाँ मेयरको मैदानबाट ‘आउट’ भए।
बाँकी रहे, बुढाथोकी र पाण्डे। बुढाथोकी विश्वप्रकाशले उठाउन चाहेका उम्मेदवार थिए भने पाण्डे सिटौलाको। यतिसम्म कि पाण्डे त सिटौला खेमाबाटै जिल्ला उपसभापति बनेका थिए। पार्टीले नगर प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने जिम्मा जिल्ला समितिको सिफारिसका आधारमा प्रदेश समितिलाई गर्ने अधिकार दिएको छ। राजनीतिमा सिटौला शर्माभन्दा सिनियर त हुँदै हुन्, सँगसँगै पार्टीभित्र आफ्नो गृह जिल्लामा उनकै पकड बलियो छ। सिफारिस गर्ने जिल्ला कमिटीको झापा सभापतिमा उनकै पक्षबाट जितेका सभापति थिए, देउमान थेवेले।
‘जिल्ला कमिटीमा बहुमत पनि सिटौला पक्षकै थियो, त्यसैले थेवेले प्रदेशमा उम्मेदवार सिफारिस गर्ने क्रममा आफू पक्षका जिल्ला उपसभापति पाण्डेलाई नै सिफारिस गर्ने निर्णयमा जोड दिए। उता महामन्त्री विश्वप्रकाश शर्माको प्रेसर त थियो, तर त्यसलाई पनि इग्नोर गरियो,’ कांग्रेस झापा जल्ला कमिटिका एक नेताले बताए।
योबीचमा विश्वप्रकाशले गृहनगरमा आफ्नो उम्मेदवार उभ्याउन अनेक संघर्ष नगरेका होइनन्। तैपनि जिल्ला र प्रदेश दुवैतिर सिटौला पक्ष हावी रहेका कारण उनको गृहनगरमा उनले चाहेको उम्मेदवार फाइनल नहुने सम्भावना लगभग निश्चित जस्तै थियो।
शर्मा स्वयम् पनि यसबारे अनुमान लाउन सक्थे। कारण, उम्मेदवार निर्णय गर्ने अधिकार बोकेको प्रदेश नम्बर १ कमिटिको सभापतिमा यतिबेला उद्धव थापा छन्। थापा सिटौला पक्षका त हुँदै हुन् तर त्यतिमात्रै नभएर ०६८ सालमा कांग्रेस झापा जिल्ला सभापतिको चुनाव हुँदा शर्माका निकटतम प्रतिष्पर्धी हुन्।
‘त्यतिबेला सिटौलाले उठाएका उम्मेदवार थिए थापा र उनले शर्मालाई नराम्रोसँग हराएका थिए,’ झापा जिल्लाका ती कांग्रेस नेताले भने, ‘त्यतिबेलैदेखि उनीहरुबीच प्रतिष्ठाको लडाइँ सुरु भएको हो। त्यसमाथि आफूले जिल्लाको निर्वाचनमा हराएको मान्छे आफूलाई उछिनेर कांग्रेसको प्रवक्ता हुँदै पार्टीको महामन्त्री नै भइदिएपछि उनलाई निरीह देखाउन पनि थापाले मेचीनगरको टिकट पाण्डेको नाममा फाइनल गरे। केन्द्रले आफ्नो निर्णय उल्टाएपछि यतिखेर उनी ठूलै चोटमा छन्, यसकारण पनि कांग्रेस राजनीतिमा अब शर्मा–सिटौला टकराव झन् बढ्ने निश्चित छ।।’
यतिमात्रै होइन, थापा प्रदश सभापतिको चुनावमा उठ्दा शर्मा भोट हाल्न नै गएका थिएनन्। बुझिएअनुसार त्यसलाई पनि थापाले इखका रुपमा लिएका थिए।
भनिन्छ, एकै जिल्लावासी रहेका सिटौला र शर्माको सम्बन्ध सधैं छत्तिसकै आँकडामा रह्यो। उनीहरुको यो सम्बन्ध यो अवस्थामा पुग्नुको कारण पनि रोचक नै छ।
किनभने सुरूमा सिटौला र शर्मा दुवै कोइराला प्यानलमा थिए। गिरिजाप्रसाद कोइरालाले पार्टी केन्द्रमा सिटौलालाई विश्वास गर्दा विद्यार्थी राजनीतिमा उनले शर्मालाई पत्याएका थिए।
तर ०५७ सालमा जब शर्माले नेपाल विद्यार्थी संघको केन्द्रीय सभापतिमा आफ्नो दाबी गरे, त्यतिबेला सिटौला उनको विपक्षमा खुलेरै लागे। यद्यपि शर्मा सभापति बने। त्यही बिन्दुदेखि हो, शर्मा र सिटौलाबीच असमझदारी सुरु भएको।
आफूविरुद्ध लाग्दा शर्मालाई चित्त दुख्नु स्वाभाविक थियो। तर, त्यसपछि पनि यो क्रम रोकिएन। कांग्रेसको १२ औं महाधिवेशनमा आइपुग्दा त शर्मालाई सिटौलाले नेविसंघको चुनावमा दिएको घाउ झन् बल्झिएर गयो। कारण, शर्मा झापा सभापतिमा चुनाव लड्दा सिटौलाले उनलाई हराउन उद्धव थापालाई अघि सारिदिए। तर, यसपटक सिटौला सफल भए र शर्मालाई हराएरै छाडे।
भनिन्छ, एकै जिल्लावासी रहेका सिटौला र शर्माको सम्बन्ध सधैं छत्तिसकै आँकडामा रह्यो। उनीहरुको यो सम्बन्ध यो अवस्थामा पुग्नुको कारण पनि रोचक नै छ।
त्यसपछि उनीहरुबीचको यो तिक्तताले झन् चर्को रुप लिँदै गयो। दुई नेता एकै ठाउँ रहन सक्ने सम्भावनाका ढोकाहरु बन्दै हुँदै गए।
त्यसमाथि शर्माले पछिल्लो समय केन्द्र र जिल्ला दुवैतिर आफ्नो शक्ति बढाउँदै लगेपछि सिटौला झन् सशंकित हुन पुगे।
झापामा त यतिसम्म भनिन्छ कि, सिटौलाकै कारण शर्मालाई झापामा आफ्नो शक्ति बढाउन अझै सकस नै भइरहेको छ। उनी त्यहाँ क्षेत्र नम्बर १ भन्दा बाहिरका नेता कार्यकतासँग भिज्न नसक्नुमा पनि सिटौलाकै भूमिका रहेको चर्चा हुने गर्छ।
१२ औं महाधिवेशनमा विश्वप्रकाश सभापति उठ्दा कांग्रेसभित्रका वैचारिक र बौद्धिक नेता चक्र बास्तोला सक्रिय राजनीतिमा थिए। बीपी र गिरिजाप्रसादको सफलतासँग जोडिएका बास्तोला पछिल्ला दिनहरुमा भने उनै गिरिजाप्रसादसँग दिक्क थिए। सिटौलालाई भने ‘पञ्चायतकालको अन्त्यतिर’ कांग्रेस प्रवेश गराएर महत्वपूृर्ण भूमिका दिइएको भन्दै बास्तोला गिरिजाप्रसाद कोइरालासँगै चिढिएको उनी निकटका नेताहरु बताउँछन्।
लामो समयसम्म झापामा बास्तोला र सिटौलाको समूह अलग अलग थियो। १२औं महाधिवेशनमा पनि सिटौलाले उद्धव थापालाई अघि सारेपछि बास्तोलासहितको टिमले विश्वप्रकाशलाई साथ दिएको थियो। तर, सिटौलाले देउवा टिममा रहेका धेरैको साथ लिन सफल भएपछि शर्मा पराजित भए। त्यही उम्मेदवारीलाई सिटौलाले भने शर्मालाई कोइराला टिमबाट ‘किक आउट’ गर्ने हतियार बनाएको झापाकै एक कांग्रेस नेता बताउँछन्।
१३औं महाधिवेशनमा भने शर्माले जिल्ला नेतृत्वमा आफू निकट प्रेम सम्वाहाम्फेलाई सचिव बनाउनबाहेक अरु बार्गेनिङ गरेनन्। तर, पनि सिटौला–शर्मा टसल समाप्त भएको देखिएन। झन् बढ्दै गएको पाइयो। १४औं महाधिवेशनमा झापा जिल्ला सभापतिमा शर्माले राम कट्टेललाई अघि बढाउँदा सिटौलाले देउमान थेवेलाई उभ्याएका थिए। र, यहाँ पनि सिटौला पक्षीय थेवेकै विजय भयो।
१४औं महाधिवेशनमा सिटौला गुट देउवासँग मिल्न पुग्यो। सर्त थियो, सिटौला पक्षका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने। जबकी देउवा निकट रहेका शर्माले त्यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका थिए। अन्तिम समयमा आफूलाई छाडेर सिटौलाको दबाब मानेपछि शर्माले देउवा समूह नै छाडेका थिए। उनी प्रकाशमान सिंह नेतृत्वको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर राम्रो मतसहित विजयी बने।
तर, त्यतिबेला पनि सिटौलाले महामन्त्रीमा आफूलाई रोक्न प्रदीप पौडेललाई अघि सारेको तथ्य विश्वप्रकाशले बुझेका थिए। तैपनि चुनाव जितेपछि सिटौलाको आशीर्वाद लिन उनी घरसम्म पुगे। तर, अहिले सतहमा आएको मेचीनगर विवाद हेर्दा उनीहरुबीचको तिक्तता अझै नसकिएको छर्लङ्गै भएको छ।