शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

विपतपुरमा आगोसँगै जले ७‍१ परिवारका सपना

वैशाख ११ गते विपतपुर बस्तीमा विपत् आइलाग्यो। एक जना किसानले गहुँ काटेर सुकेको नलमा आगो लगाएका थिए। एकैछिनमा आँधीहुरी आयो। आगोको झिल्का विपतपुर बस्तीमा सर्‍यो। हेर्दाहेर्दै केही घण्टामै बस्ती खरानी बन्यो।
 |  सोमबार, वैशाख १२, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- सोनुराम चौधरी कैलालीको कैलारी गाउँपालिका-७ स्थित मुक्त कमैया शिविरमा बस्न थालेको २० वर्ष भयो। ५० वर्षीय सोनुरामले जीवनको उर्वर समय त्यही बस्तीमा बिताए। परिवार गरिब थियो। खान-लाउन नै धौधौ हुन्थ्यो। सरकारले कमैयाहरूलाई मुक्त गर्दै प्रतिपरिवार पाँच कठ्ठाका दरले जमिन उपलब्ध गराएर विपतपुरमा बस्ती बसायो।

triton college

त्यसपछि सोनुरामले काठ र माटोले सानो घर बनाए। त्यही घरमा दुई सन्तान जन्मिए। आफ्नो जीवन अभाव र गरिबीमा बिते पनि छोराहरूको जीवन आफ्नो जस्तो नहोस् चाहन्थे उनी। त्यसैले ज्याला मजदुरी गरेर सोनुरामले छोराहरूको भविष्य खोज्न थाले। पसिनाका थोपालाई सोनुरामले सन्तानको भविष्य निर्माण गर्ने मोतिका रूपमा लिन्थे। त्यसैले उनी कहिले थाकेनन्। 

सोनुरामले जेठो छोरालाई एसएलसी गराए। त्यसपछि उनले चाहेर पनि छोरालाई पढाउन सकेनन्। जेठो छोरा मुगलान भासिए। अब जेठो छोरा र आफू मिलेर कान्छो छोरालाई पढाउने सोच बनाए। बुवा-छोरा नै कमाउन थालेपछि घरव्यवहार चलाउन सहज हुन थालेको थियो। उनका कान्छा छोरा पनि एसईई दिन थालेका थिए। एसईई परीक्षा अहिले जारी छ। ५० वर्षपछि लयमा फर्किंदै गरेको जीवनले बुढेसकालमा सन्तोषको श्वास फेर्छ लागेको थियो सोनुरामलाई।

तर, वैशाख ११ गते विपतपुर बस्तीमा विपत् आइलाग्यो। एक जना किसानले गहुँ काटेर सुकेको नलमा आगो लगाएका थिए। एकै छिनमा आँधीहुरी आयो। आगोको झिल्का विपतपुर वस्तिमा सर्‍यो। हेर्दाहेर्दै केही घण्टामै बस्ती खरानी बन्यो।

'बाहिर गर्मी थियो। हामी खाना खाएर घरभित्र आराम गरिरहेका थियौं। बस्तीमा आगलागी भएको हल्लाले हामी झस्कियौं। बाहिर हेर्दा आधा बस्ती दन्किसकेको थियो। आगो हाम्रो घरतिर लम्किँदै थियो,' उनले सुनाए, 'केही सामान जोगाउन सकिन्छ कि भन्नेतिर लाग्यौं। तर, के सकिनु। बेगको हावाले वस्तिमा आगोलाई तीव्र गतिमा फैलाइरहेको थियो। केही जोगाउन सकेनौं।' 

Metro Mart
vianet

आगो निभाउन खोज्दा लडेर सोनुरामको खुट्टा भाँचिएको छ। अहिलेसम्म उनी अस्पताल जान पाएका छैनन्। तर, स्थानीय जनप्रतिनिधिले उनलाई एम्बुलेन्स बोलाएर अस्पताल लैजाने आश्वासन दिएका छन्। 'अब केही बचेन। म त कसरी अस्पताल जान सक्नु। जनप्रतिनिधिले नि:शुल्क उपचार गर्छौं, धनगढीबाट एम्बुलेन्स बोलाएका छौं भन्नुभएको छ। त्यसैको प्रतीक्षामा छु,' गह भरिएको स्वरमा उनले भने।

कैलारी-७ का वडाध्यक्ष कमलप्रसाद चौधरी अहिले पनि घटनास्थलमै छन्। उनी निरन्तर उद्धार र राहतको काममा सक्रिय छन्। उनका अनुसार विपतपुरमा ७२ घर छन्। जसमध्ये एक घरमा मानिस बस्दैनन्। अन्य ७१ घरमा मानिसको बसोबास छ।

'७३ घरमध्ये ४४ घर जलेर पूर्ण नष्ट भएका छन्। २७ घरमा आंशिक क्षति पुगेको छ। मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति भएको छ,' वडाध्यक्ष चौधरीले भने। उनले ठूला सात बंगुर, २५ वटा बंगुरका बच्चा, दुई गोरु, आठ वटा पावर टिलर ट्याक्टर, ४३ थान सोलार पावरलगायत अन्य थुप्रै भौतिक सम्पत्ति जलेर नष्ट भएको बताए।

डिलबहादुर चौधरीको घरमा रहेको आठ तोला सुन र अर्का स्थानीयको घरमा रहेको अढाइ लाख पनि जलेर नष्ट भएको चौधरीले बताए। 'मुक्त कमैया बस्ती भएकाले धेरै पैसा हुँदैन। काम गरेर जम्मा भएको थोरै पैसा उहाँहरूले घरमै राख्नु भएको थियो। त्यो पनि झिक्न पाउनु भएन। खाद्यान्न, लत्ताकपडा, धनमाल सबै जलेर खरानी भयो,' उनले भने।

उनले स्थानीय एउटा स्कुलमा टेन्ट गाडेर आगलागी पीडितका लागि मेसको व्यवस्था गरेर खाना खुवाउने काम भइरहेको बताए। जिल्ला प्रशासन कार्यालयले टेन्ट र रेडक्रसले भाँडाकुँडी दिएको बताउँदै त्यो पनि स्थानीयलाई उपलब्ध गराइने उनले सुनाए। बेगले चलेको हावासँगै खरले छाएका र काठका घर भएकाले ठूलो क्षति भएको उनले बताए। धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र गौरीगङ्गा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको उनको भनाइ छ।

उक्त गाउँका भलमन्सा हुन्, हिगुराम चौधरी। उनी चार वर्षदेखि गाउँको भलमन्सा छन्। उनको घर पनि जलेर पूर्ण रुपमा नष्ट भएको छ। ४३ वर्षीय हिगुरामले पावर टिलर ट्याक्टर खरिदका लागि घरमा जम्मा गरेको एक लाख ६० हजार नगदसमेत जलेको बताए। 'छोरो भारतमा छ उसले ५० हजार भारु पठाएको थियो। दुःख गरेर हामीले यता जम्मा गरेका थियौं। यही वर्ष पावर टिलर किन्ने सपना थियो। अब त्यो अधुरै रह्यो,' उनले दुखेसो पोखे।

त्यससँगै चार थान पंखा, पम्पसेटको इन्जिन, १२ वटा बंगुरलगायत ठूलो धनमालको क्षति भएको हिगुराम बताउँछन्। गाउँपालिकामा दमकल भएको भए वा समयमै दमकल पुगेको भए ठूलो क्षति हुनबाट जोगिने उनी बताउँछन्।

'यो गर्मी मौसम हो। सर्पको डर छ। समयमै झुलको व्यवस्था गरिदिनुपर्‍यो। खाद्यान्नको व्यवस्था गरिदिनुपर्‍यो,' उनले भने। गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले आफूहरू राहत संकलनमा जुटिरहेको बताए। 'हामीले हिजो सबै परिवारलाई एक छाक पुग्ने खाद्यान्न उपलब्ध गरायौं। रेडक्रससँगको समन्वयमा भाँडाकुँडा उपलब्ध गरायौं। झुल र लत्ता कपडा उपलब्ध गराएका छौं,' उनले भने।

अध्यक्ष चौधरीले प्रदेश सरकारलाई विपद् व्यवस्थापन कोषबाट पीडितलाई सहयोग गर्न आग्रह गरिएको बताए। यसका साथै उनले सबै दातृ निकायलाई एउटा बस्ती नै अप्ठ्यारोमा परेकाले सहयोगका लागि अपिल गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले अझै क्षतिको विवरण संकलन भइनसकेको बताएका छन्। ठूलो बस्तीमा आगलागी भएकाले क्षतिको विवरण संकलन भइरहेको उनले बताए। 'हिजो हाम्रो ध्यान आगलागी नियन्त्रण र पीडितको व्यवस्थापनमा नै केन्द्रित थियो। आज पनि हामीले पीडितहरूको व्यवस्थापनमा ध्यान केन्द्रित गरेका छौं। कुन घरमा कतिजना बस्थे भन्ने कुरा संकलन भएको छ। अन्य विवरण संकलनकै क्रममा छ,' उनले भने।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका सभापति उत्तम जोशीले आफूहरूले आगलागी पीडितका लागि आइतबार नै सामग्री पठाइसकेको र थप सामग्री पठाउने तयारी भइरहेको बताएका छन्। उनले आफूहरूले अन्य निकायसँग पनि सहयोगका लागि पहल गरिरहेको बताए। टेन्ट, भाँडालगायत सामग्री आफूहरूले सहयोग गरेको जोशी बताउँछन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले पनि आफूहरू राहत कार्यमा सक्रिय रहेको बताएका छन्। सिंगो एउटा गाउँ नै आगलानीमा परेर ठूलो संख्यामा मानिसहरू विस्थापित हुन पुग्दा राहत कार्यमा कठिनाइ भए पनि आफूहरूले व्यवस्थित रुपमा विभिन्न निकायको सहयोगमा राहत प्रदान गरिरहेको उनले बताए।

यस्तै, आज क्षतिको स्थलगत अवस्था बुझ्न सुदूरपश्चिम प्रदेश सरकारका कानुनमन्त्री रणबहादुर रावल घटनास्थल पुगेका छन्। उनले आइतबार नै प्रदेश सरकारले अत्यावश्यक सामग्री प्रदान गरेको र त्यहाँको वस्तुस्थिति बुझ्न आफू घटनास्थल पुगेको बताएका छन्।

‘अकल्पनीय क्षति भएको छ। हामी तुरुन्तै जिल्ला विपद् कोषबाट प्रतिपरिवार २० हजारका दरले राहत उपलब्ध गराउने तयारी गरिरहेका छौं। अन्य राहतका सामग्री पनि प्रदान गर्नेछौं,’ मन्त्री रावलले भने, ‘यस्तो अवस्थामा राहत उपलब्ध गराएर मात्र हुँदैन। आत्तिएका जनतालाई भेटेर सान्त्वयना दिन आवश्यक छ। उनीहरूलाई राज्य भएको प्रत्याभूति गराउनुपर्छ। सोही अनुरुप हामीले पीडितलाई भेटेर त्यहाँको वस्तुस्थिति बुझेका छौं।


प्रकाशित: Apr 25, 2022| 14:21 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।