काठमाडौं- नेपाल र भारत दुवै देशमा 'भारत नेपाल केन्द्र' स्थापना गरिने भएको छ। त्यसका लागि नेपाल उद्योग परिसंघकातर्फबाट अध्यक्ष हरिभक्त शर्मा र पीएचडी चेम्बर अफ कमर्शका अध्यक्ष अनिल खेतानले नेपाल र भारतमा 'भारत नेपाल केन्द्र' (इण्डीया–नेपाल सेन्टर) को स्थापना गर्ने सहमति भएको छ।
पूर्वाधार, जलस्रोत, साना तथा घरेलु उद्योग, रेल्वे, पर्यटन, कृषि लगायत दुई मुलुकबीच आर्थिक सुदृढिकरण गर्ने उद्देश्यले उक्त केन्द्र स्थापना गर्न लगिएको हो। केन्द्र स्थापनापछि योजना र कार्यदिशा तय गर्ने, आवश्यकताअनुसार उपसमिति गठन गर्ने, दुवै समितिको कार्य स्पष्ट किटान गर्ने, दुवै मुलुकमा आर्थिक सम्बन्धी कार्यक्रम गर्ने तथा कम्तिमा पनि वार्षिक एक ‘मेगा’ कार्यक्रम गर्ने योजना राखिएको छ।
केन्द्रको स्टेरिङ्ग कमिटीमा पीएचडी चेम्बरकातर्फबाट पूर्वराजदूत केभी राजन तथा नेपालकातर्फबाट परिसंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय समितिका संयोजक निर्वाण चौधरीले नेतृत्व गर्ने भएको छ ।
नेपाल उद्योग परिसंघ प्रवुद्ध परिषद (थिङ्कट्याङ्क) का संयोजक शम्भुराम सिंखडाद्वारा लिखित ‘नेपाल, भारत, चीनः २१औँ सताब्दीमा सम्बन्ध विस्तार’ विषयक अग्रेजी पुस्तकको विमोचनको अवसरमा उक्त सहमती भएको हो।
कार्यक्रममा अर्थ मन्त्री डा युवराज खतिवडाले त्रिपक्षीय आर्थिक सम्बन्ध सुदृढ एवं विस्तार गर्न सार्वजनिक गरिएको पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे।
त्यस्तै परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा धेरै पूराना ऐनहरुको संशोधन आवश्यक भएको र मुलुकमा स्थायित्व भइसकेको हुँदा आर्थिक वृद्धि हुने अपेक्षा राखेका छन्।
मुलुकमा हाल रहेको १५ प्रतिशत घरेलु बचत र ४५ प्रतिशत लगानी आवश्यकताको खाडल पूर्ति गर्न पनि हाम्रा नीति र विदेशीलाई लगानी गर्न आमुल परिवर्तनको खाँचो रहेको उनको बुझाइ छ।
कार्यक्रममा बोल्दै परिसंघ प्रवुद्ध परिषदका संयोजक सिंखडाले समृद्धिको मार्गचित्रको कार्यान्वयनमा परिसंघले तयार गरेको मार्गचित्रमा सहयोग भएमा थप प्रभावकारी हुने बताउँदै आफ्नो पुस्तक बारे धारणा राखेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४