काठमाडौं- निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध संग्रह बजारमा ल्याएका छन्।
प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन गरेको उक्त नियात्रा कृतिमा तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ। ‘डोल्पाली समाजको असाध्यै सूक्ष्म वर्णन गरिएको यो कृति कला र शिल्पको हिसाबले महत्त्वपूर्ण छ। यो कृति यात्रा मात्रै नभएर सामाजिक रूपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो,’ मल्लले भने।
समालोचक महेश पौडेलले याकजी उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनको लागि सक्षम भएको बताए। विवरणभन्दा अनुभूतिले भरिभराउ यो कृति यात्रा लेखनको एक मानक ग्रन्थ बन्न पुगेको उनको भनाइ छ।
‘नयाँघरेशैली यहाँ पनि हामी मज्जाले भेट्न सक्छौं,’ उनले भने। नियात्रा समाज नेपालका अध्यक्ष तथा नियात्राकार प्रतीक ढकालले याकजी नेपाली यात्रा साहित्यमा एक अमूल्य कृतिका रूपमा आएको बताए।
समालोचक तथा प्रा. डा. सिर्जना शर्मा उप्रेतीले नयाँघरेको लेखनबाट आफू प्रभावित भएको र यात्रा साहित्यमार्फत समाजलाई बुझ्न एवं अनुभव गर्न ठूलो सहयोग पुग्ने धारणा राखिन्।
लेखक नयाँघरेले आफ्ना लेखकीय अनुभव बताउँदै कर्णालीको विकट क्षेत्रको यात्राबाट आफूले जीवनकै गहिरो दर्शन प्राप्त गरेको बताएका थिए। ‘डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्ब हो। विकटताभित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरू घुम्नु पर्छ,' उनले भने।
नियात्राकार नयाँघरेका यो १८औं कृति हो। रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृतिलगायत उनका आठौं नियात्राका कृति प्रकाशित छन्।
मदन पुरस्कारलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित एवं पुरस्कृत नयाँघरे नेपाली निबन्ध र नियात्रा साहित्यका प्रतिनिधि लेखक मानिन्छन्।