काठमाडौं- प्रसिद्ध लेखक कुमार नगरकोटीले आफ्नो लेखनको २५औं वर्षलाई 'रजत उत्सव'को रूपमा मनाउने भएका छन्। सोही अवसरमा उनी देशभरका पाठकमाझ 'नगरकोटी मन्त्र' नामक कार्यक्रम लिएर आउँदै छन्।
सपना र कल्पनालाई यथार्थ जीवनसँग जोड्दै आएका उनले सो एकल वाचन कार्यक्रममा आफ्ना विभिन्न भाषाका कविता, कथा, संस्मरणजस्ता रचनाका साथै जीवन र जगतसँग जोडिएका भोगाइ सुनाउनेछन्।
देशका करिब एक दर्जन सहरमा हुने सो उत्सवबारे उनी भन्छन्, 'बदलिंदो समयसँगै आफ्ना पाठक र शुभेच्छुकसँग म मेरा कुरा साट्न चाहन्छु। त्यसैले यो उत्सवको परिकल्पना भएको हो।'
'नेपालमा यसरी लेखकको ब्राण्ड भ्यालु बुझाउन जरुरी पनि छ र नगरकोटीको लेखकीय छवीलाई पाठकमाझ प्रस्तुत गर्न पनि आवश्यक भएकाले यो कार्यक्रम गर्न लागेका हौं,' उत्सवबारे आयोजक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले भने।
टिकटमा हेर्न र सुन्न पाइने कार्यक्रममा नगरकोटीको नयाँ किताब 'मन्त्र' पनि दर्शकले हस्ताक्षरसहित प्राप्त गर्नेछन्।
बुकहिल पब्लिकेसनको आयोजना र आइएनजी ग्रुपको प्रायोजनमा हुने सो उत्सव आगामी जेठ अन्तिम साताबाट पोखराबाट शुरु भई देशका विभिन्न शहर हुँदै काठमाडौंमा समाप्त हुनेछ।