काठमाडौं- झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा सवार एक जना लागूऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-५ का ३० वर्षीय रामकृष्ण भण्डारी छन्।
भण्डारीको साथबाट खैरे हेरोइनजस्तो देखिने खैरो धुलो, नाइट्राभेट लेखिएको चार ट्याबलेटलगायतका सामग्री फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। प्र १–०२–००१ ख ९५२६ नम्बरको बसमा यात्रा गरिरहेका बेला खानतलासी गर्दा भण्डारी नागढुंगामा पक्राउ परेका हुन्।
उनीमाथि लागूऔषध नियन्त्रण ऐन–२०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।